coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इराकबाट फर्किएकी महिला भन्छिन्- ‘कालको मुखबाट फर्किए’

इराकबाट ११ महिनापछि घर फर्किएकी सीता खड्का तामाङ सामना नेपालको कार्यालयमा । तस्बिर : नागरिक

धरान– परिवारलाई खुशी दिने सपना बोकेर गत बर्ष कुवेत हिडेकी धरान १७ की ४० बर्षीय सीता खड्का तामाङ मानव तस्करको चंगुलमा फसेर युद्धग्रस्त मुलुक इराक पुगिन्। राम्रो कमाई गरेर घरमा खर्च पठाउने उनको सपना त चकनाचुर बन्यो नै, उनले पटक पटक मृत्युको मुखमा पुगेको अनुभूति गर्नुपर्यो।

इराकमा बिताएको ११ महिना उनको लागि कहालीलाग्दो सपना झै छ। इराकबाट दिल्ली, काठमाडौं हुदै बुधबार साँझ मात्र घरमा पाइला टेकेकी सीताले बल्ल राहतको सास फेरिन्। भन्छिन्,‘कालको मुखबाट फर्किए, अब चै बाचिन्छ जस्तो लागेको छ। यहाँ त मरिंदैन होला, ऋणपान गरेर भएपनि उपचार गर्नुपर्छ।’

घर फर्काउने दिन केही पनि नभनी इराकको दलालले गाडीमा राखेर लैजादा अब मार्ने रहेछ भन्ने उनलाई लागेको थियो। ‘नेपाल फर्काउन रहेछ, म त मार्न लगेछ भन्ने ठानेको थिए’, उनले भनिन्। 

इराकमा पुगेको केही समयमा विरामी परेकी उनले उपचार पाइनन्। हातखुट्टा चलाउनै नसक्दा पनि जर्बजस्ती काम गर्नुपर्यो। जीउ पनि कटकट दुख्ने। एउटा घरमा काम गर्न नसकेपछि दलालले २, ३ वटा घर फेर्दै काममा पठाउने। ‘कही रातभरि सुत्नै नपाउने। काममा खटिएको खटियै। विरामी पर्दा पनि अफिसको मान्छे(दलाल)ले जर्बजस्ती काम गर्न पठायो’, बिहीबार सामना नेपालको धरान १५ स्थित कार्यालयमा इराकको पीडा पोख्दै उनले भनिन्, ‘११ महिनामा मात्र १७ हजार एक चोटी पठाए। कमाउन गएको उल्टै ऋणमा डुबेर आए।’

सब्जी व्यापार छोडेपछि ऋणको भार बढेर उनी विदेश जाने अठोट गरिन्। छिमेकी शर्मिला राईसँग उनको कुरा र घर व्यवहार मिल्थ्यो। शर्मिलामार्फत कुवेत जान हिडेकी उनी मानव तस्करको चंगुलमा फसेर इराकमा बेचिइन्। जुन कुरा उनले इराकमा पुगेर मात्र आफू बेचिएको चाल पाइन्। उनले कतिसम्म पीडा र यातना खप्नु पर्यो भने विरामी भएको थाह पाउँदा काम गर्ने घरबाट फिर्ता भइन्। उनलाई खरीद गरेको दलालले जिम्मा लिनै मानेन। शुरुको दलाललाई फोन गरेपछि लिएर गयो। त्यसपछि पछिल्लो दलालले कि नयाँ मान्छे दे कि साढे ७ हजार डलर फिर्ता गर भनेर बार्गेनिङ गरेपछि मात्र उनी आफु बिक्री भएको थाह पाइन्। ‘म त बेचिएको रहेछुँ, इराकमा पुगेपछि एउटाले अर्को अफिस(दलाल)लाई बेच्दो रहेछ’, उनले भनिन्, ‘म अलिअलि निको भएपछि यातना दिन थाल्यो। अब काममा जा नत्र मारेर फाली दिन्छु भन्ने। छुरा देखाउने, पाइप ल्याएर मारिदिन्छु भन्ने।’ 

हिडडुल गर्न नसकेर थला पर्दा पनि राम्रोसँग सुत्न, खान पाइनन् । सानो सोफामा सुतेर समय कटाउथिन्। उनलाई लाग्थ्यो, अब मेरो दिन सकिएछ। उनी जर्बजस्ती एउटा डक्टरको घरमा काम गर्न पुगिन्। त्यहाँ एक दिन पनि टिक्न नसकेर फर्किइन्। दलालले फेरि अर्को घर पठायो। असह्य भएपछि उनले घर मालिकलाई आफ्नो स्वास्थ्यबारे बताइन्। मनकारी घर मालिकले उपचारमा लग्यो। घाटीको पछाडि हड्डी चर्किएको रहेछ। त्यतिबेलासम्म यता परिवारले उनको खोजी शुरु गरिसकेको थियो। उनको छोरा सागरले सामना नेपालमा आमा सकुशल घर फर्काउन माग गर्दै निवेदन दिएका थिए। सामनाका अभियन्ताहरुले इमोमार्फत उनीसँग निरन्तर सम्पर्क गर्दै उनलाई इराक पठाउने दलाल र मानव तस्करसम्म पुग्न सफल भए। ‘शुरुमा शर्मिला राईलाई निक्कै केरकार गर्नुपर्यो, सीतालाई फर्काउनुस, नत्र मानव बेचविखनमा मुद्दा हाल्छौ भन्यौं। उनले पेम्पालाई देखाइन्, पेम्वा भेट्न श्रीमानलाई काठमाडौं पठायौं’, सामना नेपालकी अध्यक्ष चेतना श्रेङले भनिन्, ‘पैसा खोज्न लगाएर श्रीमान्, देवर निर्मललाई र पेम्वालाई दिल्लीमा एजेन्ट भेट्न पठायौं। निरन्तर दबाब दिएपछि सीता घर आइपुगिन्।’ घर फर्काउने दिन केही पनि नभनी इराकको दलालले गाडीमा राखेर लैजादा अब मार्ने रहेछ भन्ने उनलाई लागेको थियो। ‘नेपाल फर्काउन रहेछ, म त मार्न लगेछ भन्ने ठानेको थिए’, उनले भनिन्। 

यसरी परिन मानव तस्करको चंगुलमा

सीता सब्जी व्यापार गर्थिन्। विरामी भएपछि छोडिन्। उनको एक बर्ष त्यतिकै बित्यो। घरमा ऋण बढ्यो। ऋणले चिन्तामा परेकी उनले मनमिल्ने छिमेकी शर्मिला राईसँग विदेश जाने कुरा गरिन्। शर्मिलाले काठमाडौंमा आफ्नो सोल्टिनी पेमा शेर्पाले मान्छे विदेश पठाउने भनेर सम्पर्क गराइदिए। पासपोर्ट बनाउन भन्दै उनीहरुले नै २० हजार पनि हात लगाइदिए। यसरी गत बर्षको साउन २८ गते श्रीमान् रामबहादुरलाई पनि केही पत्तो नदिई कुवेत जाने भनेर सीता घरबाट हिडिन्।
काठमाडौंकी पेमाले विर्तामोडका कृष्ण तामाङसँग सम्पर्क गराइन्। सीता धरानबाट विर्तमोड पुगिन्। कृष्णले रिसिभ गरेर त्यस रात त्यही राख्यो। उनीसँगै ५ जना महिलाहरु थिए। भोलिपल्ट १६, १७ बर्षको गणेश जोगी नाम गरेका किशोरले उनीहरुलाई काकडभिट्टा नाका पार गराएर बागडुग्रा पुर्यायो। त्यसवापत उनले एक जना बराबर १० हजार पाउने बताएको उनले खुलाइन्। नाकामा माइती नेपाल, नेपाल प्रहरी, सशस्त्रको कडा निगरानी हुन्छ। तर, उनीहरु सजिलै पार गरे। ‘कसैले सोधिहाल्यो भने पारी आफ्नो मान्छे छ, त्यहाँ गएको भन्नु भनेर पारीपटिको ड्राइभरको नम्बर दिएको थियो। नाकामा पुलिसले सम्पर्क नम्बर मागेर बुझ्न खोज्दा त्यही नम्बरमा फोन गर्छ, उताबाट मेरो मान्छे हो भनिदिदो रैछ’, उनले भनिन्, ‘कसैलाई किनमेल गर्न गएको, आइहाल्छु भनेर भन्न लगाउँछ। एक एक जना हुँदै पार गर्नुपर्ने। म नाका पार गर्दा भने कसैले पनि सोधेनन्, सुरुसुरु पार भए।’

बागडुग्रामा एक रात राखेर भोलीपल्ट उनीहरुलाई दिल्लीमा पुर्यायो। दिल्लीमा दिल कार्कीले उनीहरुलाई रिसिभ गर्यो। त्यहाँ ४० जना जति महिलाहरु थिए। उनीहरु झण्डै एक महिना जति दिल्लीमा बस्नु पर्यो। सेटिङ मिलेपछि महिना दिनपछि मानव तस्करले उनलाई दुबई हुँदै ट्राभल भिसामा इराक पुर्यायो। 

प्रकाशित: १७ जेष्ठ २०७५ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App