८ वैशाख २०८१ शनिबार
समाज

खड्काले न्यायाधीशसँगको नाता पुष्टी गर्न सकेनन्

काठमाण्डौं–नागरिक दैनिकका संचालक तथा पत्रकारसंग नाता सम्बन्ध देखाएर बेञ्च छल्ने प्रयास गरेका नेपाल आयल निगमका तत्कालिन प्रबन्ध निर्देशक गोपाल खड्काले दावी गरेको नाता पुष्टी गर्न असफल भएका छन् ।

खड्काको तर्फबाट नाता पुष्टी गर्न नसक्ने निवेदन पेश भएपछि अदालतले जेठ २२ मा सो मुद्दाको अन्तिम सुनुवाईको मिति तय गरेको छ ।

न्यायाधीशसंग नाता पर्ने हो भने कुन कस्तो प्रकृतिको नाता हो पुष्टी गर्नु भनी खड्कालाई दिएको आदेशमा पटक पटक समय मागेपनि अन्ततः उनले नाता पुष्टी गर्न असफल भएको निवेदन अदालतमा दर्ता गराएका छन् ।

खड्काका वारेश मोतीलाल तामाङले हालै पेश गरेको निवेदनमा उल्लेख छः ‘यसमा मेरो सहि साँचो ब्यहोरा के छ भने सम्मानित अदालत समक्ष मिति २०७५ जेठ ७ गते पेश गरेको निवेदनमा मा.न्या.संग विपक्षीको नाता पर्ने भनी उल्लेख गरेकोमा सम्मानित इजलासबाट भएको आदेशमा विपक्षीको मा.न्या.संग के कुन प्रकारको, प्रकृतिको र के कति पुस्ता भित्रको नाता बारेमा खुलाउन आदेश भएको सन्दर्भमा नाता खुलाउन नसक्ने ब्यहोरा सादर निवेदन गर्दछु भनी भएको सहिसाँचो ब्यहोरा लेखी लेखाई श्री काठमाण्डौं जिल्ला अदालतमा चढाएँ ।’

यसअघि खड्काले न्यायाधीश कैलाशप्रसाद सुवेदी र पत्रिका संचालक तथा पत्रकारबीचमा नाता पर्ने भएकाले सुवेदीको इजलासबाट मुद्दा हेर्दा निष्पक्षताको अभाव हुने भएकाले न्यायाधीश सुवेदी रहितको इजलासबाट सुनुवाई गरीपाऊँ भन्ने माग गरेका थिए ।  न्यायाधीश र पत्रिका संचालक तथा पत्रकारबीच नाता पर्ने निवेदन पेश गरी अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरी खड्काले मुद्दा हटाउने र रोेजेको इजलासमा पार्ने दुष्प्रयास जेठ ७ को पेशीमा गरेका थिए । तर उनलाई अदालतले जेठ १४ सम्म नाता पुष्टी गर्न अन्तिम मौका दिएको थियो ।

खड्काको तर्फबाट नाता पुष्टी गर्न नसक्ने निवेदन पेश भएपछि अदालतले जेठ २२ मा सो मुद्दाको अन्तिम सुनुवाईको मिति तय गरेको छ ।

आफ्नो कुनै नाता सम्बन्ध नभएको न्यायाधीश सुवेदीले प्रष्ट्याउदा समेत खड्काका कानुन व्यवसायी अरुण ज्ञवालीले मुलुकी ऐन, अदालती बन्दोबस्तको ३० नं. भित्रको नाता नभएपनि टाढाको नाता पर्ने र आफ्नो पक्ष सो इजलासमा मुद्दाको सुनुवाई गर्न तयार नभएकोले उक्त निवेदन पेश गर्नुपरेको बताएका थिए ।  

अधिवक्ता ज्ञवालीले इजलासमा आफूहरु बसमा भाग नलिने बताएपछि खड्कालाई आफू र नागरिक दैनिककबीचको नाता सम्बन्ध पुष्टी गर्न पनि इजलासले खड्कालाई आदेश दिएको थियो ।

असी करोडको क्षतिपूर्तिको मागदावी सहित खड्काले नागरिक दैनिक विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् भने सो गलत मुद्दा दायर गरी आफूलाई क्षति पु¥याएकाले  एकअर्ब पचास करोड बराबरको क्षति खड्काबाट भराउन पनि नागरिकले प्रतिदावी गरेको छ । नेपाल रिपब्लिक मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले खड्का विरुद्ध पचास करोडको मागदावी सहित दायर गरेको अर्काे गालीबेइज्जती मुद्दा समेत सोही इजलासमा विचाराधिन छ ।
नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँँटेल र संवाददाता दिलीप पौडेलबाट खड्काले जनही बीस करोडको क्षतिपूर्ति दावी गरेका छन् । संसदीय समितिको प्रतिवेदनका आधारमा आयल निगमको भ्रष्टाचारको विषयमा नागरिकले समाचार प्रकाशित गरेको थियो । हालै प्रकाशित महालेखापरीक्षकको बार्षिक प्रतिवेदनमा खड्काको भ्रष्टाचार औल्याइएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७५ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App