६ वैशाख २०८१ बिहीबार
विचार

स्वास्थ्य मन्त्रीका चुनौती

कला साहित्यमा औधी रुचि राख्ने एकजना मेधावी युवतीसँग कुरैकुरामा सोधेको थिएँ – 'अहिलेको सरकारमा को को मन्त्री छन् हँ, थाहा छ तिमीलाई?' उनले 'खै?' भनिन्। अनि केही सम्झेझैँ गरी झिलिक्क बलेझैं गरी भनिन्– 'स्वास्थ्य मन्त्री त गगन थापा हैन?

मलाई रमाइलो लाग्यो। एउटा रुढीवादी, पुरानो, सपना हराएको, क्लबमा रूपान्तरित पार्टीको नेता वा कार्यकर्ता वा नेताका रूपमा मात्रै गगन चिनिँदैनन्। कुनै बेला पार्टीभित्रबाट सर्वशक्तिमान् बूढा नेताहरुले 'खबरदार! राजतन्त्रका बारेमा बोलौला' भनेर थर्काइरहँदा र पार्टी बाहिरबाट राजतन्त्रको सुरक्षा संयन्त्रले 'ज्यानको माया गरेस्' भनेर थर्काइरहँदा पनि गणतन्त्रको आवाज उठाउने विभिन्न पार्टीका साहसी योद्धामध्येका एक थिए गगन। बेलाबेलामा आफ्नै पार्टीभित्रको पुरातन सोच र तौरतरिकालाई चुनौती दिँंदै देशको बृहत्तर स्वार्थबारे बोल्ने र निर्णय गरेका कारण पनि जनमानसमा कोरिएको यिनको छवि फरक छ। 'सेलिबे्रटी' नेताहरुमध्येमा पर्छन् यी। त्यसैले अनौठो परिस्थितिमा बनेको यो सरकारका अन्य मन्त्रीबारे केही थाहा नपाउने मानिसलाई पनि यिनको नाम थाहा हुनु र यिनीबाट केही राम्रै होला भन्ने अपेक्षा राख्नु एकदमै स्वाभाविक हो।

संविधानमा उल्लेख कुरा पत्याउने हो भने जनताको स्वास्थ्यको मूल जिम्मा राज्यकै हो। त्यसो हो भने राज्येतर अन्य तीन क्षेत्रको भूमिका पनि स्पष्ट हुनुपर्‍यो– निजी क्षेत्र, सहकारी र गैरनाफामुखी गैरसरकारी संस्थाहरुले के गर्नुपर्ने हो?

तर 'भ्याम्पायर' हरुको दुनियाँमा पसेको मानिस सग्लो मानिसकै रूपमा निस्कन सक्छ कि सक्दैन भन्ने प्रश्न जत्तिकै स्वाभाविक प्रश्न हो– सत्ताको ब्यूहचक्रमा पसेका उनी आफ्नो त्यो छवि कायमै राखेर फर्किन सक्लान् कि नसक्लान्? सुधारिन धेरै बाँकी रहेको मन्त्रालयभित्रको कर्मचारीतन्त्र, पार्टीभित्रका कार्यकर्ताको अचम्मको 'जन्ती' र घेराउ, मन्त्रीहरुका निम्ति स्वाभाविक कर्मकाण्ड बन्ने गरेका उद्घाटन, विदेश भ्रमण, विदेशीहरुसितको अनावश्यक भेटघाट आदिको अन्तहीन शृंखलाबाट मुक्त भएर आफ्नो स्वधर्मलाई प्राथमिकतामा राख्न सक्लान् कि नसक्लान्? यी प्रश्न स्वाभाविक हुन् र गगनलाई माया गर्ने मानिसले मात्रै सोध्ने प्रश्न पनि हुन्। कर्मचारीतन्त्र, मन्त्रालयभित्रका 'परम्परा' र (कु)संस्कार, काम/कर्तव्यको प्राथमिकीकरण आदिसँग सम्बन्धित निर्णय र काम कसरी गर्छन्, त्यो उनको नितान्त व्यक्तिगत सिप र नियतमा भर पर्ने कुरा हो तर जनताले केही अपेक्षा राखेका अलि कम उमेरका मन्त्रीले यसो गरिदिए हुन्थ्यो, उसो गरिदिए हुन्थ्यो भन्ने कुरा नागरिकका मनमा आउँदा, तिनलाई भनिदिनु नै राम्रो हुन्छ। यी पंक्तिहरुको उद्देश्य पनि त्यत्ति हो।

स्कट पेक नामका एकजना अमेरिकी मनोचिकित्सक थिए। आफ्ना किताबहरुमा उनले एउटा अङ्ग्रेजी शब्दको प्रयोग गरेका छन्– 'सिम्प्लिज्म।' अङ्ग्रेजीमै पनि त्यति प्रयोग नहुने यो शब्द नेपालीमा कसरी अनुवाद गर्ने थाहा छैन। कुनै पनि कुराको गहिराइमा पुग्न अनिच्छा हुनु र जे कुरालाई पनि सतहीरूपमा मात्र बु‰ने र व्यवहार गर्ने प्रवृत्तिलाई उनले 'सिम्प्लिज्म' भनेका छन्। यो मनोरोगबाट हाम्रो समाज र राज्यका सम्पूर्ण संयन्त्र नराम्ररी ग्रस्त छन्। त्यसैले अलि बेसै ठानिएका मन्त्रीहरु पनि विद्यमान अवाञ्छित परिस्थितिको मूल कारणसम्म नपुगी आफ्नो कार्यकालमा गर्न सकिने सतही काम गरिसक्न हतारिन्छन्। अझ संस्कारविहीन भ्रष्ट मन्त्रीहरुको त कुरै नगरे भयो।

उदाहरणकै रूपमा हेरौं, नेपाल जस्तो देशमा जनताको स्वास्थ्य सेवाको अधिकारलाई मौलिक अधिकार भन्ने गरिएको धेरै भइसक्यो। संविधानमा जतिसुकै संशोधन वा पुनर्लेखन नै भएछ भने पनि यो कुरामा भने अब परिवर्तन नहोला तर यसको अर्थचाहिँ के हो? जनताको जीवनमा यो कसरी अनुदित हुने हो? जनताको मौलिक अधिकार मानिएको कुरा किनबेचको वस्तु हुन सक्छ कि सक्दैन? हुनसक्छ भने जनताले कसरी त्यो सहजै प्राप्त गर्न सक्छन्? राज्यले यो सहज पर्याप्तताको निश्चितता कसरी दिन सक्छ? यस्ता प्रश्न गर्दा सम्बन्धित मानिसले 'यी सैद्धान्तिक प्रश्न गर्दै गरौंला, अहिले यति काम थुप्रेको छ हेर्नोस्, कहाँ छ फुर्सद!' भन्ने उत्तर धेरैचोटि सुनेको छु। यही हो स्कट पेकले भनेको 'सिम्प्लिज्म।' मेरो आग्रह छ– गगन यो सिम्प्लिज्म नामको बालरोगबाट मुक्त होऊन्।

त्यसको अर्थ हुन्छ, दीर्घकालीन प्रभाव पार्ने केही कामको सुरुआत् यिनले गर्नैपर्ने हुन्छ। साँच्चै नै स्वास्थ्य सेवा प्राप्तिको हक जनताको मौलिक अधिकार हुने हो भने देशभित्र स्वास्थ्य सेवाको जिम्मा मूलतः राज्यको हुन्छ। र, त्योसंँगै विभिन्न प्रश्न आउँछन्– राज्येतर कर्ता (नन् स्टेट् एक्टर्स)को स्वास्थ्य सेवामा के र कस्तो भूमिका हुनुपर्छ? स्वास्थ्यमा राज्यको लगानी कति बढाउने, कसरी बढाउने? यी यस्ता बग्रेल्ती प्रश्नसँग आत्तिएर गगन पनि 'पोपुलिज्म' खाल्डोमा फाल हानेर सुरक्षित बन्न खोजे भने उनीमाथि जनताको अपेक्षाको अनादर हुनेछ। गणतन्त्र प्राप्तिपछिको पहिलो सरकारका स्वास्थ्य मन्त्रीले केही हदसम्म जनताको स्वास्थ्य अधिकारको मुद्दा नउठाएका हैनन्। पछि अरु सरकारका केही मन्त्रीले पनि केही गर्न खोजे तर यान्त्रिक, कर्मकाण्डीय, छिपछिपे किसिमले केही निर्णय गरेरमात्र पुग्दैन। गम्भीर चिन्तनको अभावका कारण र 'पोपुलिज्म'को आकर्षणका कारण धेरै कुरा ओझेलमा परेका छन् र उल्टै विकृति मौलाइरहेका छन्।

हो, एकजना व्यक्तिले असामान्य परिस्थितिमा असामान्य तरिकाले गठन भएको छोटो आयुको सरकारको मन्त्री हुनेबित्तिकै सानो समयमा समाधान गर्न सक्ने समस्या धेरै हुँदैन तर यो एउटा समस्याको तत्काल समाधानको कुरै हैन। अब पनि असल मन्त्रीहरुले नयाँ नेपाललाई सुहाउने विधिको जग बसाल्न सकेनन् भने कहिले बन्छ नयाँ नेपाल? दैनिकरूपमा झेल्नैपर्ने कामहरुलाई प्राथमिकताका आधारमा फर्स्याैट गर्दै दीर्घकालीन महत्वका विषयहरुमा उनीहरु पस्नैपर्ने हुन्छ। जुनसुकै पार्टीको सरकार भए पनि राम्रो जग खन्ने कामको सुरुआत भए अरुले निरन्तरता नदिई सुखै छैन।

संविधानमा उल्लेख कुरालाई पत्याउने हो भने जनताको स्वास्थ्यको मूल जिम्मा राज्यकै हो। यसबाट पछि हट्न पाइँदैन। त्यसो हो भने राज्येतर अन्य तीन क्षेत्रको भूमिका पनि स्पष्ट हुनुपर्‍यो– निजी क्षेत्र, सहकारी र गैरनाफामुखी गैरसरकारी संस्थाहरुले के गर्नुपर्ने हो? यी हरेक क्षेत्रको आआफ्नै विशिष्टता छन्। अहिलेको 'समाजवादउन्मुख' भनिएको नयाँ गणतन्त्रमा यिनका विशिष्टतालाई कसरी सदुपयोग गर्ने हो? बजार अर्थतन्त्रलाई 'लिबरलिज्म' का नाममा छाडा छाड्ने कि समन्वित बनाउने हो? यसको स्वास्थ्य सेवामा कस्तो प्रभाव अपेक्षा गर्ने हो? त्यस्तै, सहकारी भनेको धेरै मानिसले थोथोरै लगानी गरेको निजी संस्था मात्रै हो कि त्यसको त्योभन्दा गहिरो अर्थ हुन्छ? गैससहरुको छरितो रूप, तरलता र लचकताको उपयोग गर्ने कि तिनलाई परनिर्भरताको साधन बनाइराख्ने हो? निजी क्षेत्रलाई स्वास्थ्य, पर्यटन जस्ता काममा लगाएर विदेशी पैसा भित्र्याउने र भित्रको पैसा बाहिर जान नदिने काममा लगाउन सकिन्छ। ससाना 'प्राइभेट क्लिनिक' हरुलाई बृहत् सञ्जालको अंग बनाएर उचित नियमन गर्न सकिन्छ, सहकारी वा अन्य सञ्जालमा रूपान्तरित गर्ने दिशामा उन्मुख हुन सकिन्छ। सहकारीहरुलाई साँच्चिकै सहकारीको धर्म पालन हुने गरी, संकटका बेलासमेत सुरक्षा कवचका रूपमा काम गर्ने सक्ने गरी, जनताको बीचको स्रोत संसाधनको स्वेच्छिक 'सेयरिङ' र उचित प्रयोग हुने समाजवादको इँटा, ढुङ्गा बनाउन सक्नुपर्छ। गैससहरुलाई विभिन्न नमुना तयार गर्ने प्रयोगशालाका रूपमा प्रयोग गर्नु राम्रो हुनसक्छ। हैन, यी सबै बकम्फुसे कुरा लाग्छन् भने पनि अहिले जस्तो निरुद्देश्य, अनियन्त्रित, अनावश्यक र हानिकारक प्रतिस्पर्धा र त्यसबाट सि्रजित हुने भ्रष्टाचारलाई मलजल गर्न छोड्नुपर्छ। यति गहिराइमा त सोच्नैपर्‍यो।

चिकित्सा अध्ययनबारे हुनुपर्ने परिपक्वता अझै हामीकहाँ आइसकेको छैन। कुन उद्देश्यका निम्ति कति समयसम्ममा कति चिकित्सक स्वास्थ्यकर्मी कुन विधिले तयार गर्ने भनेर गम्भीर छलफल र बहसको आवश्यकता छ। भ्रष्टाचार र परनिर्भरता– यी दुई अत्यन्त खतरनाक जुम्ल्याहा दानवको पञ्जामा झन्झन् कस्सिँंदैछ देश। स्वास्थ्य सेवा पनि यिनकै शिकार बनेको छ। यसबाट छुट्कारा सम्भव छ कि छैन भनेर प्रश्न गर्ने हैन, कसरी अब छुट्कारा लिने भनेर प्रश्न गर्ने हो। मानव स्वास्थ्य भनेको बहुआयामिक, बहुतात्विक कुरा हो र मानव गतिविधिका सबै पक्षको परिणामको योग अन्ततः प्रकट हुने ठाउँ पनि हो। जनताकै मन्त्री बन्न चाहने मानिसका निम्ति, खोतल्नुपर्ने, घोत्लिनुपर्ने धेरै कुरा छन्। र, जनताका बीचबाट निस्कने हुन् त्यस्ता कुरा। धेरैले माया गरेको नयाँ स्वास्थ्य मन्त्रीको उत्तरदायित्व ठूलो छ। नागरिकको कुरा सुन्ने कला र सामर्थ्य भएका थोरै नेताहरुमा गनिन सकून् गगन। शुभकामना छ।

प्रकाशित: १७ भाद्र २०७३ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App