७ वैशाख २०८१ शुक्रबार
अर्थ

उपभोक्ताको टेलिफोन खर्च बढ्ने

काठमाडौं - सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) बढाएपछि आम उपभोक्ताको टेलिफोन खर्च बढ्ने भएको छ । सरकारले मंगलबार आर्थिक वर्ष ०७५- ७६ को बजेटमार्फत दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत पु¥याएपछि प्रत्येक कलको शुल्क बढ्ने भएको हो।

यसअघि ११ प्रतिशत रहेको दूरसञ्चार सेवा दस्तुर दुई प्रतिशत बिन्दुले बढाइएको आर्थिक विधेयक २०७५ मा उल्लेख छ । ‘टेलिफोन, मोबाइल, इन्टरनेट जस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुल उपर गर्नुपर्नेछ,’ आर्थिक विधेयकमा भनिएको छ ।

दूरसञ्चार सेवा दस्तुरलाई दुई प्रतिशत बिन्दुले बढाउँदा ग्राहकको कलमा पनि केही वृद्धि हुन सक्ने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘अहिलेसम्म प्रत्येक कलमा दूरसञ्चार सेवा दस्तुर अन्र्तगत ११ प्रतिशत कर थपिन्थ्यो,’ अर्यालले भने, ‘अब उक्त कर १३ प्रतिशत पुगेपछि ग्राहकको कल शुल्क पनि बढ्नेछ ।’
यसको अर्थ अब ग्राहकले प्रतिभ्वाइस कल जति शुल्क तिरेका छन् त्यसमा दुई प्रतिशत थप हुनेछ ।

मंगलबार प्रस्तुत गरिएको विधेयकमा अग्रिम भुक्तानी हुने प्रत्येक सिमकार्ड र रिचार्ज कार्डको मूल्यमा दुई प्रतिशतका दरले टेलिफोन स्वामित्व शुल्क लाग्ने उल्लेख छ ।सरकारले टेलिफोन स्वामित्व शुल्क बढाएको छ । टेलिफोन जडान गर्ने ग्राहकबाट टेलिफोन स्वामित्व शुल्कबापत एक हजार रुपैयाँ असुल गर्नुपर्ने आर्थिक विधेयकमा उल्लेख छ । टेलिफोनको स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त गर्ने व्यक्तिबाट समेत त्यस्तो शुल्क असुल गर्नुगर्ने विधेयकमा उल्लेख छ ।

यो दस्तुरलाई दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेभित्र मूल्य अभिवृद्धि कर सहित राजस्व खातामा दाखिल गर्नुपर्ने छ । दाखिल गर्नुपर्ने दस्तुर म्यादभित्र नबुझाएमा त्यस्तो बाँकी रकममा मासिक पाँच प्रतिशतका दरले थप दस्तुर लाग्ने पनि विधेयकमा उल्लेख छ।

२०७२ को शक्तिशाली भूकम्पअघि यस्तो शुल्क १० प्रतिशत थियो । भूकम्पपछि मुलुकभर क्षगिग्रस्त सम्पदाको पुनर्निर्माणलाई रकम जम्मा गर्ने भन्दै सरकारले दूरसञ्चार सेवा प्रदायकलाई एक प्रतिशत दूरसञ्चार सेवा दस्तुर थप गरी सम्पदा कोषमा जम्मा गर्ने निर्देशन दिएको थियो ।आर्थिक वर्ष ०७२- ७३ को बजेटमार्फत सम्पदा कोषमा दूरसञ्चार सेवा दस्तुर जम्मा गर्ने घोषणापछि हालसम्म उक्त कोषमा दूरसञ्चार सेवा दस्तुरबाट एक अर्ब ५९ करोड २६ लाख रुपैयाँ जम्मा भएको छ ।

पछिल्ला तीन आर्थिक वर्षमा दूरसञ्चार सेवा दस्तुरबाट झन्डै १७ अर्ब ५२ करोड रुपैयाँ संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।सरकारले दूरसञ्चार सेवा दस्तुरको एक प्रतिशत सम्पदा कोषका लागि संकलन गर्ने भएपछि उक्त दस्तुरलाई १० प्रतिशतबाट बढाएर ११ पुर्याइएको थियो । दस्तुर वृद्धि भएपछि सम्पदा कोषमा दूरसञ्चार सेवा प्रदायकको ‘भ्वाइस’ कल सेवामार्फत एक अर्ब ५९ करोड उठेको हो ।विभागका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा दूरसञ्चार सेवा दस्तुरबाट ६ अर्ब २७ करोड रुपैयाँ उठेको थियो । यसबाट सम्पदा कोषमा ५७ करोड संकलन भएको देखिन्छ ।

त्यसैगरी, आव ०७३- ७४ मा दूरसञ्चार सेवा दस्तुर ६ अर्ब ५५ करोड जम्मा भएको र झन्डै ५९ करोड ५४ लाख रुपैयाँ सम्पदा कोषमा संकलन भएको छ । चालु आवको चैतसम्ममा कुल दूरसञ्चार सेवा दस्तुर चार अर्ब ७० करोड उठेको छ । जसबाट ४२ करोड ७२ लाख रुपैयाँ सम्पदा कोषमा गएको छ।सम्पदा कोषमा आम नेपालीको अपनत्व र योगदान बढाउन दूरसञ्चार सेवा दस्तुरमा एक प्रतिशत थप गरी उक्त रकम जम्मा गर्ने बजेटमार्फत घोषणा गरिएको थियो ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App