७ वैशाख २०८१ शुक्रबार
अर्थ

काठ प्रशोधनका लागि स्थायी पोखरी निर्माण

रसुवाको सरमथलीमा काठ प्रशोधन गरिँदै । तस्बिर : नागरिक

रसुवा - काठ प्रशोधनका लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।

करिब २० लाखको लागतमा जिल्लाको जिबजिबे, कटुञ्जे, डाँडागाउँ, कर्मिडाँडा, पाटीखर्क र कैदलीटारमा पोखरी निर्माण गरिएको जनजागृती महिला समूह रसुवाले जनाएको छ । प्राक्टिकल एक्सन नेपालको आर्थिक र एएसएफ नेपालको प्राविधिक सहयोगमा संस्थाले पोखरी निर्माण गरेको हो ।

संस्थाले पोखरी निर्माणका लागि प्रतिपोखरी एक लाख सहयोग गरेको छ । एउटा पोखरी निर्माणका लागि तीन लाख ३० हजार खर्च हुन्छ । काठलाई रासायनिक मिश्रणमा ढुबाउनका लागि स्थायी आरसिसी पोखरी निर्माण गरिएको कार्यक्रम संयोजक केशवराज अर्यालले जानकारी दिए।

‘भवन आचारसंहिताले ग्रामीण भवनहरुको निर्माणमा काठको प्रयोगलाई जोड दिएको छ,’ कार्यक्रम संयोजक अर्यालले भने, घरमा प्रयोग गरिने काठलाई दिगो बनाउनका लागि हामीले डिओटी प्रविधि सुरु गरेका छौं ।’ काठ प्रशोधनको विभिन्न प्रक्रियामध्ये डिओटी प्रविधि सस्तो, वातावरणमैत्री, कम बिषालु, आगो प्रतिरोधात्मक र सरल हुने उनले बताए । यो प्रविधि प्रयोग गर्दा एक क्युब फिट काठमा ८० रुपयाँ खर्च बढ्ने बताइएको छ ।

संस्थाले जिल्लाको तल्लो क्षेत्रमा पर्ने कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा यो प्रविधि प्रयोग गरिरहेको छ । माथिल्लो क्षेत्रमा चिसो बढी हुने भएकाले तल्लो क्षेत्रमा यसको प्रयोग बढाइएको हो । काठभित्र रसायन पसेको वा नपसेको पनि जाँच गर्न सकिने भएकाले यसको प्रभावकारिता बढी हुने संस्थाले जनाएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App