८ वैशाख २०८१ शनिबार
समाज

नवीकरणबिनै स्वास्थ्य सेवा, प्रशासन रमिते

नवीकरण नगरी स्वतः खारेजीमा परिसकेका स्वास्थ्य संस्था ।तस्विर : मिथिलेश/नागरिक

लहान - लहान नगरपालिकामा सञ्चालित कामना नर्सिङ होम प्रालि कानुनअनुसार नवीकरण भएको छैन । दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत उसले गुजारेको छ । नवीकरणबिना नर्सिङ होम सञ्चालन गैरकानुनी ठहरिन्छ । तर, यसले कानुनको खिल्ली उडाउँदै सेवा दिइरहेको छ।

यो नर्सिङ होमले गाडीमा माइक बाँधेर गाउँगाउँमा आफ्नो प्रचार गरिरहेको छ । यसले आफ्नो गैरकानुनी कामको प्रचारप्रसार गरिरहँदा पनि नियमनकारी निकाय रमिते बनेका छन् । नवीकरण नभएको यो नर्सिङ होमले सहरदेखि गाउँगाउँसम्म पर्चा÷पम्पलेट बाँड्ने÷टाँस्ने, माइकिङ गर्नेलगायत काम उसले गरिरहेको छ । कामना नर्सिङ होम सञ्चालक पिताम्बर साहले भने, ‘हामी अहिलेसम्म नर्सिङ होम नवीकरण गराएका छैनौं, प्रक्रियामा छौं ।’ दोब्बर नविकण दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत गुज्रिसकेको छ नि भन्ने जिज्ञासामा साहले भने, ‘ए, हो र ! मँ जिल्ला स्वास्थ्य कार्यालयमा सोधेर अब के गर्ने भनौला ।’

जिल्ला स्वास्थ्य कार्यालय प्रशासन शाखा प्रमुख उमेशलाल कर्णका अनुसार दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत गुजारिसकेको यो नर्सिङ होम स्वतः खारेजीको अवस्थामा छ । ‘कानुनी रुपमा स्वतः खारेजीमा परिसकेको यो नर्सिङ होमले सेवा सञ्चालन गरिरहनु गैरकानुनी हो । गैरकानुनी रुपमा सञ्चालित नर्सिङ होमले नियमले नमिल्नेगरी प्रचारप्रसार गर्नु झन् गैरकानुनी कार्य हो,’ उनले भने,‘सञ्चालक साहलाई गरैकानुनी काम नगर्न सचेत गराएका छौं । थप कारबाहीका लागि म एक्लैबाट सम्भव छैन ।’

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मनकामना नर्सिङ होमसहित जिल्लामा गैरकानुनी रुपमा सञ्चालित अन्य स्वास्थ्य संस्थाबारे जानकार भएको बताए । उनले भने, ‘कानुनी रुपमा स्वतः खारेजीमा परिसकेका स्वास्थ्य संस्था सञ्चालन गर्न मिल्दै मिल्दैन । तर, व्यवहारिक रुपमा यी स्वास्थ्य संस्था सञ्चालकसँग एकपटक छलफल गरेर हामीले केही सहुलियत दिनेतर्फ सोच बनाएका छौं ।’ कानुनी रुपमा नमिल्ने काम प्रजिअले गर्न मिल्छ र भन्ने नागरिकको जिज्ञासमा उनले भने, ‘मिल्न त नमिल्ने नै हो तर, परिस्थिति त्यस्तै छ ।’कामना नर्सिङ होम २०७३ साउन २३ गत्ते एक वर्षका लागि नवीकरण भएको थियो । सो अवधि २०७४ साउन २३ मा सकियो । त्यसपछि नवीकरण नभएको यो नर्सिङ होम स्वतः खारेजीमा परिसकेको छ ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७० को दफा १२ (१) अनुसार स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति लिएको संस्थाले अवधि समाप्त भएको मितिले तीन महिनाभित्र अनुमति दिने निकायसमक्ष नवीकरणका लागि निवेदन दिनुपर्छ । यसबाहेक तीन महिनाभित्र नवीकरणका लागि निवेदन दिन नसकेको कारण खुलाएर छ महिनाभित्र त्यस्तो निवेदन पेस गर्नुपर्छ ।

यस्तो अवस्थामा दोब्बर दस्तुर लिई सम्बन्धित निकायले सेवा सञ्चालन अनुमति नवीकरण गरिदिने व्यवस्था छ । तर, मनासिब कारण खुलाई ६ महिनाभित्र नवीकरण निवेदन पेस नगरे दफा १२ को उपदफा ४ बमोजिम स्वास्थ्य सेवा सञ्चालन अनुमतिपत्र स्वतः खारेज हुने व्यवस्था छ ।यस्तै लिला मदन पोलिक्लिनिक एन्ड प्रसूति गृह पनि नवीकरणबिनै सञ्चालनमा छ । उसलाई २०७३ जेठ १० मा एक वर्षका लागि सञ्चालन अनुमति दिइएको जिल्ला स्वास्थ्य कार्यालयको अभिलेख छ ।

यो पोलिक्लिनिकको एक वर्षे अवधि २०७४ जेठ १० मा सकियो । अवधि सकिएको एक वर्ष हुन लाग्दा पनि यसले नवीकरणका लागि निवेदन दिएको छैन । यो पोलिकिलनिकले नवीकरणका लागि तीन महिने र छ महिने अवधि दुवै गुजारेको छ । यसले नवीकरणका लागि निवेदन नदिएको जिल्ला स्वास्थ्य कार्यालय प्रशासन शाखा प्रमुख कर्णले बताए । ०७३ मा एक वर्षका लागि नवीकरण भएका सम्पूर्ण स्वास्थ्य संस्था स्वतः खारेजीमा परिसकेको उनको भनाइ छ ।

उनका अनुसार यसरी स्वतः खारेजीमा पर्नेमा मनकामना नर्सिङ होम, लिला मदन पोलिक्लिनिक एन्ड प्रसूति गृह, मेडिकेयर सेन्टरलगायत छन् । स्वतः खारेजीमा परिरसकेका स्वास्थ्य संस्थाले सेवा सञ्चालन तत्काल बन्द गर्नुपर्ने उनले बताए । सिरहामा ५४ वटा पोलिक्लिनिक, मेडिकेयर सेन्टर, डेन्टल केयर सेन्टर र १५ वटा १५ बेडका नर्सिङ होम र अस्पताल रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको अभिलेख छ ।


 

प्रकाशित: १७ जेष्ठ २०७५ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App