७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाल युरो–३ गाडीको ‘डम्पिङसाइट’


काठमाडौं - भारतले तीव्र गतिमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न १ अप्रिल २०१७ बाट युरो–३ मापदण्डका सवारीसाधन निषेध गरेपछि यस्ता सवारी साधन नेपाल भित्रिने क्रम बढेको छ ।

भारतको सुप्रिम कोर्टले युरो–३ मापदण्डका गाडी बिक्री तथा दर्तामा समेत रोक लगाएपछि त्यहाँ हाल यस्ता गाडीको उत्पादन पनि बन्द भएको छ । भारतले सन् २०२० देखि युरो–६ मापदण्ड लागू गर्ने तयारी गरेको छ ।

अदालतको आदेश आएपछि भारतीय सञ्चारमाध्यमले भारतमा युरो–३ मापदण्डका आठ लाख सवारी साधन स्टक रहेको उल्लेख गरेका थिए । पछिल्लो समय ती गाडीको बिक्री स्थल नेपाल बनेको छ । युरो–३ गाडीलाई वायु प्रदूषणको प्रमुख कारक मानिएको छ ।

नेपालमा पनि युरो–३ विस्थापित गरेर युरो–४ मापदण्डका गाडीमात्र भिœयाउन मिल्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ तर निर्णय हुन सकेको छैन । विज्ञले युरो–४ मापदण्ड लागू गर्न ढिलाइ भइसकेको बताउँदै आएका छन् । युरो–४ मापदण्ड समयमै लागू नगर्दा भारतमा फेज आउट भएका युरो–३ मापदण्डका सवारीसाधन थन्क्याउने ठाउँका रुपमा नेपाल प्रयोग भइरहेको छ । यसमा नेपालका नियामक निकायको भारतीय व्यापारीसँगको मिलेमतोले काम गरेको स्रोत बताउँछ । ‘नेपालमा सवारीसाधन आयात हुने मुख्य मुलुक भारत हो । भारतमा युरो–३ मापदण्डका सवारी साधनमा बन्देज लागेपछि नेपाल सरकारले पनि तत्कालै निर्णय गरेर युरो–४ लागु गर्नुपथ्र्याे । उच्चपदस्थ केही व्यक्तिको स्वार्थका कारण आर्थिक लेनदेन गरी नेपालमा युरो–४ लागू गर्न ढिलो गरियो । अहिले मुलुकलाई स्टकमा राखिएका भारतीय गाडी थन्क्याउने डम्पिङ साइड बनाउने काम भइरहेको छ,’ स्रोतले भन्यो।

भारतले युरो–३ मा बन्देज लगाएपछि २०१७ को सुरुका केही महिना भारतमा स्टक रहेका साना तथा ठूला सवारी साधन नेपालमा भित्रिएका थिए । अहिले युरो–३ मापदण्डका साना सवारी साधनको स्टक सकिएकाले यस्ता गाडी युरो–४ मापदण्डकै भित्रिन थालेको वातावरण विभागले जनाएको छ । विभाग सम्बद्ध स्रोतका अनुसार ठूला सवारी साधन भने अहिले पनि युरो–३ मापदण्डकै भित्रिइरहेका छन् । ‘अहिले पनि ठूला बस तथा ट्रक युरो–३ मापदण्डकै भित्रिइरहेका छन्,’ विभाग स्रोतले भन्यो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २६ सिटे वा त्यसभन्दा माथिका नौ सय ६४ बस भारतबाट आयात भएका छन् । जसको लागत एक अर्ब ५५ करोड रुपैयाँ छ । त्यस्तै तीन अर्ब ७४ करोड मूल्यका २० टनभन्दा माथिका एक हजार आठ सय ५६ सवारीसाधान भित्रिएका छन् । एक अर्ब ६ करोड लागतका ६ देखि २० टनसम्मका आठ सय ४२ ट्रक नेपाल भित्रिएका छन् । यीमध्ये प्रायः सबै सवारी साधन युरो–३ मापदण्डका रहेको वातावरण विभागले जनाएको छ।

सवारी साधन आयातका लागि यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्याल भारतबाट निरन्तर युरो–३ मापदण्डका सवारीसाधन आयात भइरहेको बताउँछन् । अर्याल युरो–४ मापदण्ड लागू गर्न सम्पूर्ण तयारी पूरा भए पनि मन्त्रिपरिषद्बाट निर्णय नभएकाले रोकिएको बताउँछन् । युरो–४ मापदण्ड लागू भएपछि युरो–३ मापदण्डका सवारीसाधन प्रयोगमा रोक लाग्ने भएकाले समस्या आउन सक्ने उनको भनाइ छ । ‘जतिसक्दो छिटो युरो–४ मापदण्ड लागू गरेर युरो–३ मापदण्डका सवारी साधनको डम्पिङ साइट हुनबाट रोक्न आवश्यक छ’, अर्यालले भने।

वातावरण विभागले युरो–३ मापदण्डका सवारी साधनको आयात रोक्न वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको ध्यानाकर्षण गरिसकेको छ तर यस विषयमा काम अघि नबढेको स्रोतले बतायो ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App