coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्री छान्ने सकसमा यादव

काठमाडौं - सरकारमा सहभागी हुन लागेको संघीय समाजबादी फोरम नेपालमा मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई सकस परेको छ । मन्त्रीको टुंगो लगाउन यादवले बुधबार दिनभर आन्तरिक बैठक र छलफल गरे पनि अझै टुंगो लगाउन सकेनन्।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बिहीबारसम्म पार्टीले मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताए । विहीबार बिहान फोरमका पदाधिकरी र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठकपछि नाम नाम सिफारिस गर्ने तयारी भएको पनि श्रेष्ठले बताए।

पार्टी सरकारमा जानेबारे छलफल गर्न बुधबार फोरम संसदीय दलको बैठक बसेको थियो । बैठकमा पार्टीबाट सरकरमा प्रतिनिधित्व गर्ने नेताहरूको नाम टुंगो लाग्न नसकेपछि यसको जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरिएको थियो । स्रोतका अनुसार सरकारमा जान फोरमका करिब आधा दर्जन सांसदले लबिङ सुरु गरेका छन् । बुधबारको बैठकमा बोल्ने प्राय ः सबै सांसदले पूर्वदेखि पश्चिम, पहाडदेखि तराईसम्म मिलाएर जानुपर्ने सुझाव दिएका थिए । पार्टीले तराई पहाड मिलाउँदा पहाडको प्रतिनिधित्व गर्दे मन्त्रीको सूचीमा राजेनद्र श्रेष्ठको नाम पर्छ । यसैगरी पूर्वपश्चिम मिलाउँदा बाँकेका सांसद इस्तियाक राईको नाम पर्छ ।

समावेशी गराएमा महिला सांसद रेणु यादवको नाम पर्छ । मन्त्रीको दौडमा पार्टीका स्वयं पार्टीका महासचिव रामसाह यादव पनि लागेका छन् । यसैगरी प्रदीप यादव, हरिनारायण रौनियार,उमाशंकर अरगरिया पनि मन्त्रीको आकांक्षी छन् ।पार्टी अध्यक्ष उपेन्द्र यादवको भने कसैबाट विरोध भएको छैन । यादवले पार्टीबाट सरकारको नेतृत्व गर्ने सम्भावना लगभग निश्चित रहेको स्रोतको भनाइ छ ।

फोरमले सहरी विकास र स्वास्थ्य मन्त्रालय पाएको छ । यादवले सहरी रोज्ने सम्भावना रहेको छ । स्वास्थ्यमन्त्री र एक राज्यमन्त्रीमा फोरममा लडाइँ सुरू भएको हो । प्रदीप यादव सरकारमा गए भने उनको सम्भावना राज्यमन्त्रीमा छ । बुधबारको बैठकमा पर्साका सांसद विमल श्रीवास्तव सरकारमा आफू सरकारमा जान इच्छुक नभएको बताएका थिए । सरिता गिरीले भने पार्टीले मधेसबाट भोट आएकाले मधेसलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिएकी थिइन् । त्यस्तो हुने हो भने श्रेष्ठको नाम काटिने छ । रेणु यादव पनि दौडमा लागेकी छन् । उनको गृहजिल्ला र उपेन्द्र यादवको गृहजिल्ला एउटै हो ।

सप्तरीको प्रतिनिधित्व गर्दै उपेन्द्र यादव सरकारमा जाने हो भने एउटै जिल्लाबाट दुईजनाको नाम पठाउनु हँुदैन भन्ने सुझाव पार्टीबाट आएको छ । पार्टीका महासचिव राम साह यादवले मन्त्रीको टुंगो लगाउनेबारे पार्टीमा छलफल भइरहेको बताए । ‘कसैको नाम टुंगो लागेको छैन । सभ्भवत बिहीबारम्म नाम टुंगो लाग्छ,’ उनले भने ।
प्रदेश २ मा राजपासँग सहयात्रा नतोड्ने

बुधवार बसेको फोरमको संसदीय दलको बैठकमा प्रदेश २ मा राष्ट्रिय जनता पार्टीसँगको सहयात्रा नतोड्ने निर्णय गरिएको छ । केन्द्रमा फोरम सरकारमा जाने भएपछि राजपा फोरमसँग सशंकित भएको छ । यही कारण प्रदेश २ मा फोरम र राजपाबीच सहयात्रा तोडिने हो कि भन्ने आशंका राजपा नेताको छ । केन्द्रमा फोरम सरकारमा गए पनि प्रदेश २ मा सहयात्रा नतोड्ने निर्णय गरिएको फोरमको नेताहरूले बताएका छन् ।

प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टीले फोरम नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपाले सर्मथन फिर्ता लिदा वर्तमान मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार ढालेनर नेकपा र संघीय फोरम सम्मिलित नयाँ सरकार बन्ने हो कि भन्ने आशंका राजपाका नेताले गर्दै आएका छन् । तर बुधवार बसेको फोरमका संसदीय दलको बैठकमा सहयात्रा नतोड्ने निर्णय गरिएको थियो ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App