coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दुई वर्षभित्र २० लाख पर्यटक

काठमाडौं– सरकारले दुई वर्षभित्र २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरे। 

सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७५÷०७६ मा ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमा ‘पहिला देश अनिमात्रै विदेश’ को नारा राखिएको छ। सरकारले मुलुकभर सयवटा पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य राखेको छ।

पर्यटन क्षेत्रमा ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन ।
नेपाल पर्यटन भ्रमण वर्ष २०२० घोषणा ।
पहिला देश, अनि मात्रै विदेश ।
गुणस्तरीय पर्यटक भित्र्याउन विविधिकरण ।
मुलुकभर एक सय वटा पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवर्द्धन ।
पर्यटन सूचना, जानकारी र वित्तीय पक्षलाई स्याटलाइट लेखा प्रणालीमा लैजाने ।

बजेट वक्तव्यअनुसार साहसिक पर्यटन पूर्वाधार निर्माण गरिने छ । बजार प्रवद्र्धन र सेवा सुविधामा थप सेवा विस्तार गरिने छ। पर्यटनबाट रोजगारी आयआर्जन बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धन गरिने छ।  

प्रदेश र स्थानीय तहसँगको साझेदारीमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभरका कम्तिमा सयवटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी विकास तथा प्रवर्द्धन गरिने छ। 

गुणस्तरीय पर्यटक भित्र्याउन पर्यटन सेवाको विविधिकरण गरिने छ। केही मौसममा मात्र सीमित हालको पर्यटनलाई बाह्रैमास चलायमान बनाइने छ। नेपाल पर्यटन बोर्डबाट भारत र चीन लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रमलाई विशेष रुपमा अघि बढाइने बजेटमा उल्लेख छ। 

सरकारले आगामी आर्थिक वर्ष स्तरीय होटल तथा रिसोर्टलगायत पर्यटकीय सेवाका लागि आवश्यक पूर्वाधार निर्माणमा सहजीकरण गर्ने छ। नेपालमा माइस टुरिज्म केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने छ। 

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गरिने छ। पर्यटन सूचना, जानकारी र वित्तीय पक्षलाई स्याटेलाइट लेखा प्रणालीमा आबद्ध गरिने छ । हिमाल आरोही र पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको व्यवस्था मिलाइने छ। अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रचारप्रसार र बजारीकरण गर्न विदेशस्थित नियोगलाई परिचालन गरिने छ। 

सरकारले पर्यटकीय सम्भाव्यस्थल आसपास निर्माण हुने राजमार्गका पुल कलात्मक बनाउने छ। यसका लागि रणनीतिक सडक–पुल निर्माण सम्पन्न गरी सडक यातायात सुचारु गर्ने लक्ष्य छ। 

हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड 

सरकारले हवाई उड्डयन क्षेत्र सुरक्षित र प्रविधिमैत्री बनाउन १९ अर्ब ३५ करोड विनियोजन गरेको छ। आन्तरिक तथा वाह्य उडान नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन सरकारले हवाई क्षेत्रलाई उच्चतम प्रविधि प्रयोग र प्राविधिक जनशक्ति विकास गरिने छ।  

आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सुरु गर्ने लक्ष्य छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइने छ। गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी सञ्चालन गरिने छ। 

बजेट वक्तव्यअनुसार नयाँ आर्थिक वर्षमा विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरिने छ। ती विमानस्थलबाट छिमेकी मुलुकहरुसम्म उडान सुरु गरिने लक्ष्य छ। आन्तरिक विमानस्थल निर्माणलाई तीव्रता दिइने छ। हवाई क्षेत्रलाई व्यवस्थित बनाउन दाङमा वैकल्पिक विमानस्थल निर्माण कार्य अगाडि बढाइने छ। 

यस्तै त्रिभुवन विमानस्थलको हवाई चाप व्यवस्थित गर्न काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने छ। आन्तरिक विमानस्थल विस्तार सम्बन्धमा गुरुयोजना तयार पारिने छ। 

विपद् प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपतकालीन उद्धार गर्न सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने छ। यसका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा हेलिप्याड निर्माण गरिने छ। 

दुई वर्षपछि २० लाख पर्यटक कसरीः पर्यटन व्यवसायीको शंका  

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिकपछि होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहले दुई वर्षमा २० लाख पर्यटक ल्याउने घोषणा स्वागतयोग्य रहेको बताए। अहिले करिब १० लाख पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । लगत्तै दुई वर्षपछि २० लाख पर्यटक भिœयाउने विषय भने सामान्य नभएको उनको टिप्पणी छ।  

‘हामी २५ लाख पर्यटक व्यवस्थापन गर्न सक्छौं । होटलको तर्फबाट कुनै समस्या छैन । दुई वर्षभित्र ६ हजार कोठा थपिँदै छ। सरकारको सन् २०२० लाई नेपाल भ्रमण वर्ष  मनाउने घोषणाले  होटल व्यवसायी उत्साही छौं,’ शाहले  भने, ‘२० लाख पर्यटक भिœयाउन सरकारले पूर्वाधार विकासमा जोड दिनुपर्छ। यदि हवाई क्षेत्रको सुविधा र सेवा विस्तार गर्न सकिएन भने घोषणाले सार्थकता नपाउन सक्छ।’ 

टे«ेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा सुन्दा लोकप्रिय लागे पनि व्यवहारमा कठिन रहेको बताए। 

नयाँ बजेटमा पर्यटन क्षेत्रका लागि ल्याइएका योजना प्रभावकारी भए पनि दुई वर्षमा २० लाख पर्यटक ल्याउन पूवार्धार समस्या हुने दाहालको भनाइ छ। ‘पर्यटन क्षेत्रमा यही अस्तव्यस्तता रहने हो भने सम्भव छैन तर, सरकारले देखावटी सम्बोधनमात्रै नभएर कार्यन्वयनमा लाग्यो भने सम्भव छ,’ दाहालले भने, ‘यसका लागि पर्यटन व्यवसायी र निजी क्षेत्रको सुझाव आत्मसात गर्दै हातेमालो गर्नुपर्छ। यसमा हामी सहकार्य गर्न तयार छौं। यो हाम्रो पनि चाहना हो।’ 

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले सरकारको बजेटभित्र पर्यटन विषयमा आकर्षक बजेट विनियोजन गरिएको बताए। ‘दुई वर्षपछि २० लाख पर्यटक ल्याउने  घोषणा भने सम्भव छैन। १५ लाख पर्यटक हम्मेहम्मे गरेर ल्याउन सक्छौं। पर्यटक भनेको प्रतिशतमा वृद्धि हुने हो,’ उनले भने, ‘चाहियो भनेर घोषणा गर्दैमा सम्भव छैन। यसका लागि आधारभूत भौतिक पूर्वाधार विकास पहिलो प्राथमिकता हो। अहिले सम्भावना न्यून छ।’ 

पर्यटन व्यवसायी तथा टानका पुर्व महासचिव कर्ण लामाले २० लाख पर्यटक भित्र्याउने योजना र संकल्प सफल पार्न सरकारले तत्काल्नै निजी क्षेत्र र सबै सरोकारवालासंग रणनीतिक योजना तर्जुमा गर्नु पर्नेमा बताए। ‘गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन युद्ध स्तरमा गर्नुपर्छ। यसका लागि निजी क्षेत्र पूर्णरुपमा सहभागी र सहयोग गर्न तयार छ,’ लामाले भने,‘संरचनागत विकासका लागि उद्यमशील व्यवसायीहरुलाई लगानी मैत्री वातावरण बनाउनु पर्छ।’

प्रकाशित: १६ जेष्ठ २०७५ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App