coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गौरिकालाई भेट्दा राष्ट्रपति खुसी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीबाट रियो ओलम्पिककी कान्छी खेलाडी रहेकी नेपाली पौडीवाज गौरिका सिंह बिहीबार सम्मानित भएकी छन्। एक साताअघि मात्र ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न रियो ओलम्पिकमा २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीमध्ये १३ वर्षीया गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन्। अगस्ट ७ का दिन १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दा गौरिका  १३ वर्ष २ सय ५५ दिनकी थिइन्।

बेलायतमा परिवारसाथ बस्दै आएकी गौरिका त्यहींबाट रियो ओलम्पिक पुगेकी थिइन्। त्यस कारण नेपाली रियो टोलीलाई राष्ट्रपतिबाट बिदाइ हुँदा उनको उपस्थिति थिएन।

बिहीबार शीतल निवासमा राष्ट्रपति भण्डारीले गौरिकालाई भेट्न आफू व्यग्रसाथ पर्खिरहेको र उनलाई भेटेर खुसी लागेको बताइन्। उनले भनिन्, 'मैले तिम्रो समाचारहरू हेरिरहेकी थिएँ। ओलम्पिकमा खेल भएको दिन पनि मैले आफ्ना सहयोगीहरूसँग कुरा गरेको थिएँ।'

नेपाल ओलम्पिक कमिटीद्वारा आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन्, 'राष्ट्रपति भवनमा तिमीलाई पाउँदा खुसी लागेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम राख्न सफल भएकोमा तिमीलाई धन्यवाद छ।'

राष्ट्रपतिले चार वर्षपछि जापानको टोकियोमा हुने ओलम्पिकमा राम्रो प्रदर्शनका लागि अहिलेबाट मिहिनेत गर्न गौरिकालाई प्रेरित गरिन्। 'जित र हार खेलको हिस्सा हो तर हामीले अन्तर्राष्ट्रिय खेलअघि राम्रो तयारी गर्नुपर्छ। उत्कृष्ट तयारीबिना राम्रो नतिजाको आशा गर्नु निरर्थक हुनेछ।'

फागुनमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा गौरिकाले १ र ३ कांस्य पदक जितेकी थिइन्। नेपाली पौडी इतिहासमा सागमा व्यक्तिगततर्फ पदक जित्ने गौरिका पहिलो खेलाडी हुन्। राष्ट्रपतिको भेटमा उत्साही हुँदै गौरिकाले भनिन्, 'म राष्ट्रपतिलाई भेट्न पाउँदा अत्यन्तै खुसी छु। अझ त्यसमाथि उहाँबाट सम्मानित हुन पाउँदा थप गौरवको अनुभूति भएको छ।'

पौडीको तीनवर्षे खेलजीवनमा ३० राष्ट्रिय कीर्तिमान भंग गरेकी गौरिकाको नाममा अहिले पनि १० कीर्तिमान छ। त्यसध्ये ७ वटा व्यक्तिगत र ३ वटा टिम इभेन्टमा कीर्तिमान छ।

गौरिकाकी आमा गरिमा सिंह राणाले देशको राष्ट्रपतिसँग भेट्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको बताइन्।

२०५१ सालकी एलएलसी बोर्ड टपर गरिमाले भनिन्, 'यो भेटले गौरिकालाई अझै राम्रो गर्न प्रेरणा मिलेको छ। गौरिकालाई अर्कोपटक ओलम्पिकमा छनोट चरण पार गरेर सहभागी गराउन हामी प्रयास गर्नेछौं।' रियो ओलम्पिकमा गौरिका युनिभर्सियालिटी प्लेसेसका आधारमा  सहभागी भएकी थिइन्।

प्रकाशित: १७ भाद्र २०७३ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App