८ वैशाख २०८१ शनिबार
खेल

अष्ट्रेलिया विजयी

दम्बुला- जोन ह्यास्टिङको ६ विकेट तथाआरोन फिन्च र जर्ज बेलीको आक्रामक अर्धशतकप्रेरित अस्ट्रेलियाले बुधबार श्रीलंकाविरुद्धको चौथो एकदिवसीय खेल ६ विकेटले जितेको छ। फिन्चको १९ बलमा ५५ र बेलीको अविजित ९० रन मद्दतमा २ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ३१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। जितसँगै भ्रमणकारी टोलीले ५ खेलको शृंखला जितेकोछ। अस्ट्रेलिया ३–१ ले अगाडिछ।

त्यसअघि ह्यास्टिङले जीवनकै उत्कृष्ट प्रदर्शन गर्दा ४५ रन दिएर ६ विकेट लिए। टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनाएको थियो।

श्रीलंकाका धनन्जय डी सिल्भाले ७६ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ४० रन बनाएका कप्तान एन्जेलो म्याथ्युजले चौथो विकेटमा डी सिल्भासँग ८४ रनको साझेदारी गरे पनि श्रीलंकालाई जित्न पर्याप्त भएन। डी सिल्भा र म्याथ्युज दुवै ह्यास्टिङको बलमा आउट भए।

सचिथ पथिरानाले २४, दिलरुवान परेराले १८ र थिसरा परेराले १३ रन बटुल्नु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

भ्रमणकारी टोलीबाट ह्यास्टिङबाहेक मिचेल स्टार्क, स्कोट बोल्यान्ड, एडम जाम्पा र ट्रेभिस हेडले १–१ विकेट लिए।

‘शृंखला जित्दा धेरै खुसी लागेकोछ। यहाँको कन्डिसन निकै चुनौतीपूर्ण थियो,’ अस्ट्रेलियाका कप्तान डेविड वार्नरले भने। नियमित कप्तान स्टिभ स्मिथलाई दोस्रो टेस्टपछि आराम दिएका कारण वार्नरलाई कप्तानको जिम्मेवारी दिइएको थियो।

२ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गरेको हो। ओपनर बार्नरले १९ रन बनाउँदा आरोन फिन्चले ५५ रन बनाए। १८ बलमा अर्धशतक पूरा गरेका फिन्चले १९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

उस्मान ख्वाजा शून्य रनमा पवेलियन फर्किए। फिन्च र ख्वाजा एलबिडब्लु आउट गरेका स्पिनर पथिरानाले बार्नरलाई बोल्ड गरेका थिए।

त्यसपछि बेलीले अस्ट्रेलियाको इनिङ सम्हालेका थिए। ८५ बल खेलेका बेलीले ११ चौका र १ छक्का प्रहार गर्दै ९० रन बनाए। एकदिवसीयमा बेलीको यो २१औं अर्धशतक हो।

‘बेलीले जे पनि गर्न सक्छन्, उनी हाम्रो टोलीका ब्याकबोन हुन्। मध्यक्रममा उनको प्रदर्शन उत्कृष्ट हुनेगर्छ,’ वार्नरले थपे। बेलीले ट्रेभिस हेडसँग चौथो विकेटमा १ सय रनको साझेदारी गरे। हेड ४४ रन बनाएर आउट भए। म्याथ्यु वेड ८ रनमा अविजित रहे।

‘हाम्रो प्रदर्शनबाट खुसी हुन सकिँदैन। शृंखलाभर नै हाम्रो ब्याटिङ चल्न सकेकोछैन,’ अस्ट्रेलियाको इनिङमा म्याथ्युजको स्थान लिएका दिनेश चन्डिमलले भने। पाँचौं खेल आइतबार पालकेलेमा हुनेछ।

प्रकाशित: १७ भाद्र २०७३ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App