coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा : मुख्यमन्त्री

जनकपुरधाम – प्रदेश २ मा सरकार गठन भएको सोमबार सय दिन पुगेको छ। उक्त अवसरमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सदनमा सरकारको सयदिने प्रगति विवरण सार्वजनिक गर्दै दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा पुरा गरेको दाबी गरेका छन्।

सरकार गठन भएको सय दिनमा दसौं वर्षदेखि हुन नसकेको उपलब्धि प्राप्त भएको मुख्यमन्त्री राउतले दाबी गरे। खासगरी छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई मुख्यमन्त्रीले ठूलो उपलब्धि भएको बताएका छन्। मोदीको भ्रमणसँगै जनकपुरमा पर्यटकको संख्यामा ह्वात्तै वृद्धि भएको दाबी गर्दै राउतले भने, ‘मोदीजीको भ्रमणले यो प्रदेशलाई ठूलो लाभ दिने संकेत गरेको छ। यो प्रदेश सरकारको लागि एउटा ठूलो उपलब्धि हो।’

जलविद्युत्को सम्भावना नै नरहेको प्रदेशमा वैकल्पिक रूपमा सौर्य ऊर्जा जडानका लागि नीतिगत काम पूरा भएको मुख्यमन्त्री राउतले बताए। करिब तीन सय मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि डिपिआरको काम सुरु भइसकेको छ। त्यस्तै, प्रदेश स्तरीय नीति आयोग गठन गरिसकेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘प्रदेशको समग्र विकासका लागि नीतिगत तयारी अघि बढिसकेको छ। केही वर्षभित्रै प्रदेशको समुन्नति देखिनेगरी काम अघि बढ्नेछ।’

उनले प्रदेश प्रहरी तालिम केन्द्र स्थापनाको लागि धनुषा, मिथिला नगरपालिकास्थित चमिनियाँमा जग्गा बन्दोबस्तीको लागि सर्वदलीय निर्णय भइसकेको बताए। मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई उच्च नश्लको दुधालु भैंसी वा गाई उपलब्ध गराउने तथा गोठ निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउने कार्यविधि तयार भई वितरणको प्रक्रियामा पुगेको जनाए।

प्रदेश सरकार सय दिनको २४ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले संविधानको अनुसूची ६ मा समावेश भएका २१ वटा अधिकारमध्ये अधिकांश विधेयक तयार हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरे। ‘प्रदेशलाई शक्तिशाली बनाउने प्रदेश प्रहरी ऐन अन्तिम चरणमा पुगेको छ। यसका लागि विज्ञहरूसँग विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया गरी अन्तिम चरणमा पुगेको छ,’ सदनलाई सम्बोधन गर्दै राउतले भने, ‘त्यस्तै, प्रदेश लोकसेवा आयोग र प्रदेश निजामती कर्मचारी ऐन जस्ता शक्तिशाली विधेयकसमेत तयार भइसकेको छ।’ अहिलेसम्म आर्थिक कार्यविधि ऐन र विनियोजन ऐन प्रदेशसभाबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित भइसकेको उनले बताए।

छ वटा विधेयक प्रदेशसभामा दर्ता भइसकेको र नौ वटा विधेयक बनाउन मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति गरिसकेको उनले बताए। यी बाहेक प्रदेश विश्वविद्यालय, प्रदेश गुठी व्यवस्थापन, प्रदेश एफएम रेडियो र टेलिभिजन सञ्चालन, वैदेशिक रोजगारमा रहेका युवाहरूको परिवारलाई उपलब्ध गराउने सामाजिक सुरक्षासम्बन्धी महत्वपूर्ण विधेयक तयार भइसकेको जानकारी दिए।

त्यस्तै, बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत बारा, पर्सा र धनुषालगायत पाँच हजारभन्दा बढी बालिकालाई विद्यालय भर्ना गराएर केही बालिकाको प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीले अभिभावकत्व ग्रहण गरेको उल्लेख गरे। गरिबीको रेखामुनि रहेका परिवारमा जन्मिने छोरीहरूको शिक्षा बिमा गर्ने तथा साइकल उपलब्ध गराउने कार्य सुरु गरिसकेको उनले बताए। स्वच्छता अभियान कार्यविधि, मधेस सहिद प्रतिष्ठान कार्यविधि, निर्वाचन क्षेत्र विकास कार्यविधि, सामाजिक विकास कार्यविधि, भौतिक निर्माण कार्यविधिलगायत सम्पूर्ण मन्त्रालयका कार्यविधि तयार गरी कार्य प्रारम्भ गरिसकेको उनले बताए।

प्रकाशित: १६ जेष्ठ २०७५ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App