coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सदरमुकाम भन्दा गाउँ उज्यालिँदै

खोटाङको सदरमुकाम दिक्तेल बजार।   तस्बिरः नागरिक

खोटाङ – स्थानीय तह कार्यान्वयनमा आएपछि खोटाङ सदरमुकाम दिक्तेलको चहल–पहल घटेको छ। 

सदरमुकाम दिक्तेलका अधिकांश सरकारी कार्यालयबाट दिइने सेवासुबिधा स्थानीय तहको कार्यान्वयनसँगै विभिन्न गाउँ/नगरपालिकाबाट प्रवाह हुन थालेपछि सदरमुकामको चहल–पहल घटेको हो। 

विशेषगरी जिल्ला समन्वय समिति, जिल्ला शिक्षा कार्यालय लगायतका भीडभाड हुने सरकारी कार्यालयको कामकाज सम्बन्धित गाउँपालिका/नगरपालिकाबाटै हुन थालेपछि दिक्तेलको भीडभाड घटेको हो। हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रकारुपमा रहेको सदरमुकाम दिक्तेलमा देखिने भीडभाडमा कमी आउँदा विभिन्न गाउँ÷नगरपालिकाको केन्द्रमा व्यस्तता बढ्न भने थालेको छ। 

संघीयताको मर्म अनुसार राज्यको पुर्नसंरचनाले अधिकार गाउँ केन्द्रित गर्नेक्रममा दिक्तेलको चहल–पहल कम भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। 

खोटाङका २ नगरपालिका र ८ गाउँपालिका कार्यान्वयनमा आएपछि दिक्तेलको व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको छ। हाल नागरिकता, राहदानी, जग्गा सम्बन्धी कारोबार, मुद्धा मामिला लगायतका कामका लागि प्रशासन, मालपोत, अदालत, प्रहरी कार्यालय आउने सेवाग्राहीले मात्र दिक्तेलबजार धानिरहेको छ। दिक्तेलको चहल–पहल घटिरहँदा अन्य नगर/गाउँपालिकाको केन्द्रले शहरीकरणको रुप लिन थालेको छ।

स्थानीय तहको कार्यान्वयनले हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम, ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्क, केपीलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला, साकेला गाउँपालिकाको केन्द्र मात्तिम मानेभञ्ज्याङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको केन्द्र छोरम्बु, खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङबजार, जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी, बराहपोखरी गाउँपालिकाको केन्द्र साउनेचौंर र रावाबेँसी गाउँपालिकाको केन्द्र हरम्टार क्षेत्रमा चहल पहल बढ्न थालेको छ।

कार्यान्वयनमा आएको गाउँ/नगरपालिकाको केन्द्रमा सुबिधा सम्पन्न होटल तथा पसल खुल्नेक्रमले तीब्रता पाएको छ। जग्गाको कारोबार पनि बढ्दो छ। स्थानीय तहको कार्यान्वयनका कारण सरकारी कामकाज गाउँ–गाउँमा पुगेकाले सदरमुकाम दिक्तेलको चहल–पहल पातलिएको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए। 

स्थानीय तहको कार्यान्वयन अघि सयौं योजनाको सम्झौता, फरफारक, बैंकमा रकम निकासा लगायतका कामका लागि उपभोक्ता समितिको समुह दिक्तेल आउनु पथ्र्यो । हरेक असारभरी कागजात मिलाउने र फरफराक गर्ने समुहले दिक्तेलका होटल भरिएका हुन्थे।

जिल्ला समन्वय समितिका हरेक फाँटमा भीड देखिन्थ्यो। तर, भीडभाड भइरहने जिल्ला समन्वय समिति स्थानीय तह कार्यान्वयनमा आएपछि सुनसान बनेको छ। हरेक नगर÷गाउँपालिकामा बैंक तथा रेमीट्यान्स सेवा खुल्दै गएका कारण पनि सदरमुकाम सुनसान बन्न थालेको हो। कतिपय गाउँपालिकामा अझै बैंक खुल्न बाँकी छन्। सबै ठाउँमा बैंक पुगेपछि सदरमुकाममा अझ जमघट घट्ने लयालुले बताए। हिजोआज फुटबल, सितोरियो कराते, भलिबल लगायतका खेलकुद प्रतियोगीताकाबेला मात्र दिक्तेलमा बाक्लो जमघट देखिने गरेको छ।

गाउँबाट आएर ब्यापार–व्यवसाय गर्दै आएका कतिपय व्यवसायी व्यापार ब्यवसायमा आएको मन्दीका कारण आ–आफ्नै पालिकामा फर्कनेक्रम पनि बढ्दो छ। वर्ष दिनअघि र अहिलेको तुलनामा व्यपारिक कारोबार घटेको दिक्तेलका व्यवसायीको भनाई छ। सदरमुकामको ब्यापार–व्यवसाय घट्दा ठूलाभन्दा साना व्यवसायी बढि मारमा परेका छन्। सडकको पहुँच वृद्धिका कारण गाडीबाट दिक्तेल आएर पुन बेलुका घर फर्कने वाताबरण बनेका कारण पनि सदरमुकाममा चहल–पहल घटेको अध्यक्ष लयालुले बताए। 

प्रकाशित: १५ जेष्ठ २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App