१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान

काठमाडौँ- एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ।

आरोहणमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई रु एक लाख राशिको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरियो । जनही रु ५० हजारसहितको ‘तेञ्जिङ हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, सगरमाथाको नौ पटक आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा र उचाइ (हेलिकप्टर उडान) भर्ने क्याप्टेन (सिम्रिक एयर प्रालि) का सिद्धार्थ गुरुङलाई कदरपत्रका साथ प्रदान गरियो।

यस्तै एकै परिवारका सात आरोही र एकै परिवारका चार जना एउटै समयमा सगरमाथाको चुचुरामा पुगेर कीर्तिमान बनाउनेलाई गिनिज बुक अफ वल्र्ड रिकर्डसको प्रमाणपत्र प्रदान गरियो।

सगरमाथा आरोहण गर्ने एकै परिवारका सात दाजुभाइमा मिङ्माछिरि शेर्पा(१९ पटक), निमागोम्बु(१८), पासाङतेञ्जिङ (११), ठूडु(१०), आङ्छिरिङ (१), निमातेम्बा(१) र पेमाथिलि(१) रहेका छन्।

त्यसैगरी एकै समयमा सगरमाथा आरोहण चार दाजुभाइमा फुर्वातेञ्जिङ शेर्पा, फुर्वाथिलि, पेम्बादोर्जे र दावादिकी छन्। ती सबै पुरस्कार र प्रमाणपत्र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रदान गरिन्।

सो अवसरमा मन्त्री मगरले सगरमाथालगायत हिमाल आरोहण गरी नेपाललाई विश्वमा चिनाउने साहसी आरोहीलाई राज्यले विशेष सम्मान र सुविधा उपलब्ध गराउनुपर्ने बताइन्।

सगरमाथा आरोहीसमेत रहेकी मन्त्री मगरले सगरमाथा चढाउने शेर्पाको जिम्मेवारीलाई महत्वपूर्ण रुपमा लिई तिनलाई आवश्यक सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं मूल समारोह समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले देशको गौरव, मान र शान सगरमाथाको संरक्षण र प्रवद्र्धनका लागि सरकारले कुनै कसूर बाँकी नराख्ने बताए। उनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथाको पहिचानलाई विश्व बजारमा प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिए।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित गर्न सरकार र निजी क्षेत्रको साझेदारिता चाहिने उल्लेख गरे। विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने मिङ्मा शेर्पाले हिमाल आरोहणमा योगदान गर्ने शेर्पा आरोही तथा पथप्रदर्शकको जीवनोपयोगी सुविधाका लागि राज्यले ध्यान दिनुपर्ने माग गरे।

सगरमाथाको २२ पटक आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पाले जीवनको जोखिम मोलेर स्वदेशी तथा विदेशीलाई सगरमाथाको चुचुरामा पुर्‍याउने शेर्पा आरोही ओझेलमा परेकाले तिनको भूमिकालाई राज्यले कदर गर्नुपर्नेमा जोड दिए।

नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरामा पहिलो पटक पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए।

सगरमाथामा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ। सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष मे २९ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ। आरोही हिलारीको विसं २०६४ पुस २७ गते निधन भएको थियो। सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ। हिलारीको निधनपछि सो दिवस मनाउन थालिएको हो। रासस

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App