काठमाडाैं- उज्जन श्रेष्ठकी बहिनी साबित्री श्रेष्ठले आजको दिनलाई ‘कालो दिन’को संज्ञा दिएकी छन् । उनले आफ्नो परिवारको लागि आज कालो दिन भएको बताइन् ।
सरकारले माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाह गर्ने निर्णयले आश्चर्यचकित पारेको उनले बताइन् । उनले गणतन्त्र दिवसकै दिन सरकारले गरेको यो नर्णिय बिलकुल गलत भएको बताइन् ।
‘यसअघि सरकारले विशेष समारोहमा कैद सजाय मिनाह गर्थ्याे, अहिलेको सरकार त्यही पथमा अग्रसर भएको देखिन्छ,’ उनले नागरिकन्युजसँग भनिन् ।
उनले सरकारले पीडित परिवारको पीडा कहिल्यै बुझ्न नसकेको आरोप लगाइन् । ढुंगेलको रिहाइपछि आफूहरुको सुरक्षामा झनै खतरा बढेको उनले बताइन् ।
‘बालकृष्ण ढुंगेल पहिलोपटक स्वतन्त्ररुपमा हिँड्दा म धेरै नै डराएको थिएँ, त्यो डर अहिले झनै बढेर गएको छ,’ उनले भनिन् । ६ महिनाअघि माओवादी कार्यकर्ताबाट धम्कीसमेत आएको उनले बताइन् ।
उनले न्यायको लागि अन्तर्राष्ट्रिय फाैजदारी अदालत जाने बताएपनि त्यहाँ गएर न्याय पाउने विश्वास नरहेको बताइन् । ‘विदेशी भूमिमा मैले न्याय पाउँछु भन्ने के आशा गर्नु जब आफ्नै देशमा न्याय खोसिन्छ,’ उनको प्रश्न छ । उनले यसअघि पनि अन्तर्राष्ट्रिय अदालतले गरेको फैसला लागू नभएको बताइन् ।
प्रकाशित: १५ जेष्ठ २०७५ ०७:२९ मंगलबार