coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अब मोबाइलमै सांकेतिक भाषा शब्दकोश

काठमाडौं - झन्डै पचास वर्षअघि वीर अस्पताल हातामा बिरामी बहिरालाई उपचार गर्न सजिलो होस् भनेर सांकेतिक भाषा सिकाउन थालियो। सांकेतिक भाषामार्फत सिकाइको सुरुवात बिन्दु थियो, त्यो प्रयाश। त्यो बेला सांकेतिक भाषाको आधार पनि थिएन न त अभ्यास नै । समय क्रममा बहिरा विद्यालय खुले। शब्दकोश पनि बने। औपचारिक अध्यापनको थालिएको पचास वर्षमा सांकेतिक भाषा ‘स्मार्ट’ बन्ने मार्गतर्फ लम्केको छ।

सांकेतिक भाषाको अहिलेसम्मकै बहत् र वैज्ञानिक शब्दकोश तथा त्यसको एप राजधानीमा सोमबार सार्वजनिक भएसँगै सांकेतिक भाषाले नयाँ फड्को मारेको हो। ४ हजार ७ सय शब्द रहेको ‘नेपाली सांकेतिक भाषा शब्दकोश’को राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, नेपालका लागि अस्टे«लियाका राजदूत पिटर बोडे, राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले संयुक्त रुपमा विमोचन गरे।

नेपाल बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले नागरिकसँगको कुराकानीमा शब्दकोश अहिलेसम्मकै बृहत् भएको र वैज्ञानिक आधारमा तयार गरिएको बताए। ‘सांकेतिक भाषा सिक्न चाहनेहरुलाई पनि यो एप उत्तिकै उपयोगी हुनेछ,’ उनले भने, ‘यो एप आफैंमा एउटा शिक्षक सरह छ।’

शब्दकोशमा भएका ४ हजार ४ सय शब्दमध्ये ४ हजार ३ सय शब्दको अर्थ, संकेत भाषा, उदाहरणसहितको भिडियो एपमा दर्ता भइसकेको छ। ‘डिफ नेपाल एनएसएल लर्निङ’ एन्डरोयड भर्सनको एप अब जो सुकैले सजिलै डाउनलोड गर्न सक्छ। ‘एन्डरोयड भर्सनको यस एपमा शब्दको अर्थ, संकेत भाषा, उदाहरण अफलाइनमा पनि हेर्न सकिन्छ भने भिडियोको लागि अनलाइन हुनुपर्दछ,’ एप निर्माणमा संलग्न शंकर चौसिरले बताए।

माध्यमिक तहका बहिरा विद्यार्थीहरूको सिकाइ विधिमाथि अनुसन्धान गरिरहेका हरिप्रसाद शिवाकोटी यो शब्दकोशले बहिरा शिक्षक तथा शिक्षार्थी दुवैलाई फाइदा पुग्ने अपेक्षा गर्छन्। बहिराहरूको सिकाइमा साधारण विद्यार्थीको जस्तो पूर्णता नरहेको बताउँदै उनले भने, ‘प्रभावकारी भावसहित पढाउने हुँदा बहिरा विद्यार्थीहरूको लगाव बहिरा शिक्षकहरूसँग हुने गर्दछ तर सूचना र जानकारी गैरबहिरा शिक्षकहरूसँग बढी हुने स्वयम् विद्यार्थीहरू नै स्वीकार्छन्।’ उनका अनुसार सिकाइमा हुने यस्ता खाडल सञ्चार हुन नसक्दाको अवस्थामा बहिरासँगको प्रभावकारी सञ्चारमा शब्दकोश, एपजस्ता माध्यम महत्वपूर्ण हुन्छ।

शब्दकोशमा शब्दको अर्थ र शब्दवर्ग (नाम, विशेषण, क्रिया) पनि छुट्याउनुका साथै शब्दहरूलाई बहिरा समुदायले कसरी बुझछन् भन्ने अर्थ दिइएको छ भने शब्दलाई वाक्यमा प्रयोगको उदाहरणसहित दिइएको छ। शब्दकोशमा प्रस्तुत मानक नेपाली वाक्यहरूका उदाहरणले बहिराहरूको लेखाइमा हुने भाषिक त्रुटीलाई कम गर्नेछ।

नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागसँगको सहकार्यमा नेपाल बहिरा महासंघ नेपालद्वारा प्रकाशित १२ सय पृष्ठको शब्दकोशको सम्पादन विकास घिमिरे र किरण आचार्यले गरेका हुन् भने भाषा लेखनको काममा शिलु शर्माले गरेकी हुन्। शब्दकोशमा चित्र प्रतिज्ञ शाक्यले र हस्ताकार वर्गीकरण सन्तोष पौडेलले गरेका छन्। शब्दकोश निर्माणमा केपी अधिकारी, रामकुशल पन्त, सूर्यबहादुर बुढाथोकी, सुमन अधिकारी, सानु खिम्बाजालगायतको टोलीले झन्डै दुई वर्ष अथक मिहेनत गरेको थियो।

शब्दकोशलाई स्तर अभ्यासको आधारमा तयार गरिएको यसको निर्माणमा संलग्न शिलु शर्माले बताइन्। ‘सामान्य शब्दकोशमा वर्णमालालाई आधार मानिएजस्तै सांकेतिक शब्दकोशमा हस्तआकारलाई आधार मानेर शब्दलाई क्रमैसँग राखिएको छ,’ शर्माले भनिन्, ‘सांकेतिक भाषाको अन्तर्राष्ट्रिय सिद्धान्तमा रहेर तयार गरिएको र सुन्न सक्ने तथा नसक्ने दुवै वर्ग यस शब्दकोशबाट लाभान्वित हुन सक्छन्।’

२०४५ सालमा पहिलोपटक नेपाली सांकेतिक भाषाको शब्दकोश प्रकाशित भएको थियो। त्यसपछि २०५१ तीन भागको शब्दकोश प्रकाशित भयो जसमा पाठन पाठनमा प्रयोग हुने गणित, विज्ञान, नेपाली, व्याकरण र विविध शब्दसंकेत समावेश थियो। २०६० सालमा अनुमोदित सबै शब्द तथा तिनको पर्यायवाची सांकेतिक भाषा पनि थप गरी २ हजार २ सय दुई शब्द रहेको शब्दकोश प्रकाशित भएको थियो । सो प्रकाशित भएको झन्डै १५ वर्षपछि यो नयाँ शब्दकोश प्रकाशित भएको हो।

प्रकाशित: १५ जेष्ठ २०७५ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App