coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपथ्यकोे ‘कुरुप अनुहार’

काठमाडौं–नेपथ्यले आफ्नो दसौं एल्बममा समावेश छैठौं गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्यान्डले ‘कुरुप अनुहार हो’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

उक्त एल्बमबाट यसअघि ‘कोशीको पानी’, ‘शिरफूल’, ‘रामारामा’, ‘हामी नेपाली’ र ‘सम्झिराख’बोलका गीतको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।‘कुरुप अनुहार हो’ मा सरुभक्तको शब्द र विक्रम गुरुङको संगीत रहेको छ । 

यि दुवै परिचित श्रष्टा असीको दशक प्रारम्भमा पोखराबाट काठमाडौं आइ त्रिभुवन विश्वविद्यालयमा पढ्न थालेका थिए । त्यतिबेलैको सत्संगमा यो गीत तयार भएको थियो । यसको शब्दमा एक्लो र परित्यक्त महसुस गर्ने तन्नेरी भाव अटाएको कवि एवं गीतकार सरुभक्त बताउँछन् ।
‘यो गीतको पुनर्जागरण गराएकोमा म नेपथ्यलाई धन्यवाद दिन्छु,’ एक वर्षअघि यसै गीतको पहिलो प्रस्तुती टुँडिखेलमा भइरहँदा उपस्थित सरुभक्तले भनेका थिए, ‘यस गीतमा कोरसको जुन प्रकारले प्रयोग गरिएको छ, त्यसले मलाई सबैभन्दा धेरै छोयो।’

पोहोर साल नै नेपथ्यले हङकङमा यो गीत गाउँदा संगीतकार विक्रम गुरुङले यसको नौलो स्वरुपलाई अनुभूत गरेका थिए । अरुण थापालगायत थुप्रै चर्चित गायकका लागि संगीत दिएका संगीतकार गुरुङ  लामो समयदेखि हङकङको स्थायी वासिन्दाका रुपमा उतै बसोबास गर्छन् ।

सो गीत सुनिरहँदाआफ्नो मन पुराना दिनतिर पुगेको गुरुङले बताएका थिए ।‘कीर्तिपुरमा विश्वविद्यालय पढ्दा सरु र मसँगै बसेर यसलाई तयार पारेका थियौं,’ उनले भने, ‘नेपथ्यले यसलाई उसकै शैलीमा प्रस्तुत गरेता पनि म यसमा आफ्नो धडकन महसुस गरिरहेको छु ।’नेपथ्यले यो गीत तयार पारेयता आफ्नो स्थापनाको रजत जयन्ती मनाउने क्रममा वर्षभरि ‘कुरुप अनुहार हो’लाई कन्सर्टकै पहिलो गीतका रुपमा प्रस्तुत गर्दै आएको छ । यस म्युजिक भिडियोमा प्रयोग गरिएका दृश्यहरू गतवर्ष आफ्नो अष्ट्रेलिया र न्युजिल्यान्ड कन्सर्टका दौरान खिचिएको हो ।

प्रकाशित: १५ जेष्ठ २०७५ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App