७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपति मुन सहभागी हुनसक्ने

सोल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हुने सम्भावित शिखर बैठकमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन पनि सहभागी हुनसक्ने दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्।

ट्रम्प–किम बैठकअघि अमेरिकी तथा उत्तर कोरियाली नेताहरुबीच चलिरहेको प्रारम्भिक छलफलमा हुने प्रगतिका आधारमा मुनको सहभागिताबारे निर्णय लिइने दक्षिण कोरियाली अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसका अधिकारीका अनुसार ट्रम्प–किम बैठकमा मुनको सम्भावित सहभागिता प्राथमिक अवस्थामा नै रहेको छ ।

‘अमेरिका र उत्तर कोरिया कसरी आउँछन् भनेर हामी अझै हेरिरहेका छौं । उनीहरुबीचको नतिजालाई लिएर सिंगापुरमा हुने बैठकमा राष्ट्रपति मुन सहभागी हुन सक्नुहुन्छ,’ दक्षिण कोरियाली समाचार एजेन्सीले कोरियाली अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच हुने ऐतिहासिक बैठक यही जुन १२ मा एसियाली मुलुक सिंगापुरमा हुने तय भएको छ र त्यसको तयारी तीव्र गतिमा भइरहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफू किमसँगको बैठकमा नबस्ने बताएपछि प्रस्तावित जुन १२ को बैठक अनिश्चितातर्फ धकेलिएको थियो ।

त्यसपछि दुवै देशका अधिकारीहरुले वार्तालाई पुनः सही गतिमा ल्याउने प्रयास गरिरहेका छन् । निर्धारित समयमै ट्रम्प–किम बैठक भयो भने उक्त बैठक ऐतिहासिक बैठक हुनेछ किनभने यसअघि बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच कहिल्यै बैठक भएको छैन । जुन १२ मै निर्धारित ठाउँमै बैठक हुने अझै निश्चय नभए पनि बैठक भइहाल्यो भने कोरियाली प्रायद्वीपलाई पूर्ण रूपमा निःशस्त्रीकरण गर्ने र तनाब विषयमा केन्द्रीत हुने अपेक्षा गरिएको छ ।

यद्यपी निःशस्त्रीकरणबारे अमेरिका र उत्तर कोरियाबीच आ–आफ्नै बुझाइ रहेको बताइएको छ । उत्तर कोरियाको शत्रुतापूर्ण व्यवहारलाई आरोप लगाउँदै गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताबाट फिर्ता हुने घोषणा गरेका थिए । उत्तर कोरियाका उच्च नेताले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले वाहियात प्रतिक्रिया दिएको भन्दै आलोचना गरेपछि ट्रम्पको घोषणा बाहिरिएको थियो । त्यसअघि पेन्सले उत्तर कोरियामा लिबियाली मोडल उपयुक्त हुने चेतावनी दिएका थिए । तरपछि ट्रम्पले पुनः उत्तर कोरियासँग निर्धारित समयमै बैठक गर्नका लागि काम भइरहेको बताएका थिए ।

अमेरिका र उत्तर कोरियाबीचको बैठक लगभग नहुने अवस्था पुगेपछि गत शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच दुई देशबीच रहेको गैरसैनिक सीमा क्षेत्रमा आश्चर्यजनक रूपमा भेटवार्ता भएको थियो । शनिबारको बैठकमा मुन र किमले अन्तरंग कुराकानी गरेको विषय बाहिरिएको थियो ।

उत्तर कोरियाले मुनसँग आफू अमेरिकासँगको बैठकका लागि स्थिर रहेको बताएको थियो भने दक्षिण कोरियाले भने कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्नेबारे छलफल गरेको थियो । ‘दुई नेताबीच अमेरिका–उत्तर कोरिया वार्तालाई सफल बनाउनेबारे छलफल भएको थियो,’ दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसले आइतबार जारी गरेको विज्ञप्ति उल्लेख गर्दै बिबिसीले जनाएको छ ।
 

प्रकाशित: १५ जेष्ठ २०७५ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App