१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किसानलाई सास्ती, चिया निर्यात गर्न जोगवनी

इलामको जस्बिरेस्थित उद्योगमा प्याकिङ गर्नुअघि नाङ्लामा राखिएको अर्गानिक अर्थाेडक्स तयारी चिया । तस्बिर : भीम/नागरिक

इलाम - नेपाली तयारी चिया निर्यातमा भइरहेको अवरोध लामो समयसम्म सहज हुन नसक्दा उद्योगी र किसानले सास्ती खेप्नुपरेको छ । पूर्वको पानीट्यांकी नाकाबाट चिया निकासी जटिल भएपछि उद्योगीहरू महँगो ढुवानी खर्च तिरेर वैकल्पिक नाका धाउन बाध्य भएका छन् ।

पानीट्यांकीस्थित भारतीय कस्टमले भारत र तेस्रो मुलुकसम्म पुग्ने तयारी चिया निर्यातमा झन्झटिलो प्रक्रिया लागू गरेपछि व्यवसायीले टाढाको जोगवनीसम्म पुगेर चिया निर्यात गर्नुपरेको हो । तर, जोगवनी नाकाबाट पनि सधैं चिया निर्यात सहज हुने निश्चित नभएको उनीहरूको भनाइ छ । वैशाख तेस्रो सातायता देखिएको निकासी समस्या समाधान हुनुको साटो अझ बढेर गएकाले नाका नै परिवर्तन गर्न बाध्य हुनुपरेको चिया व्यवसायी कमल मैनालीले बताए । जिल्लाका चिया उद्योगी करिब सय किलोमिटरको पानीट्यांकी नाका छाडेर झन्डै अढाई सय किलोमिटरको जोगवनीसम्म पुग्न थालेका हुन्।

‘एक गाडी चिया निकासी गर्न पानीट्यांकीमा चाहिँ कम्तीमा सात–दश दिन पर्खिनुपर्छ,’ साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका सञ्चालक मैनालीले भने, ‘एकपछि अर्काे कागज मागेर उद्योगीलाई नै हतोत्साही बनाइएपछि जोगवनी नाकाबाट चिया निकासी गर्नुपर्ने अवस्था आएको छ ।’ उनले पानीट्यांकी पुगेका गाडीले बोकेको चियाको नमुना कति दिनपछि पठाउने र कति दिनमा त्यसको रिपोर्ट आउने भन्ने कुनै ठेगान नभएको बताए । ‘भन्सारका कर्मचारीलाई कतिबेला कुन गाडीको नमुना पठाउन मन लाग्छ, त्यतिबेला पठाउँछन्,’ उनले भने, ‘कहिलेकाहीं त पालो पर्खिंदा पर्खिंदै १० दिन बितिसक्छ ।’

इलाम, झापा, पाँचथर र धनकुटालगायत जिल्लाबाट निर्यात गरिने तयारी चिया बोकेर पानीट्यांकी पुगेका ट्रक अहिले पनि त्यहीं रोकेर राख्न बाध्य भएको उद्योगीले बताए । इलामको सूर्याेदय नगरपालिकास्थित आइतबारेमा रहेको इलाम टी प्रोड्युसर्स प्रालि, कन्याम चिया सहकारी र मंगल (ग्रिन) टी चिया उद्योगका चार ट्रक सोमबार साँझसम्म नाकामा रिपोर्ट पर्खेर बसिरहेका छन्।

भारतीय कस्टमले कोलकातास्थित सेन्ट्रल फुड ल्याब (सिएफएल) परीक्षण गराएको रिपोर्ट खोज्ने गरेकामा केही दिनयता भारतीय कोट (अदालत)को बन्ड पेपर (ग्यारेन्टीपत्र) समेत माग्न थालेपछि व्यवसायी सशंकित भएका छन् । कस्टमले भारतको बाटो भएर तेस्रो मुलुक पठाइने चियाका लागि यस्तो ग्यारेन्टीपत्र खोज्ने गरेको हो । ग्यारेन्टीपत्रमा ‘नेपालबाट निकासी गर्न लागिएको चिया भारतमा बिक्री नगर्ने’ सर्त उल्लेख गरिएको चिया व्यवसायी उदय चापागाईंले बताए ।

निर्यातमा देखिएको समस्या समाधान गर्न व्यवसायीले नेपाल चिया तथा कफी विकास बोर्ड र वाणिज्य मन्त्रालयसमेतमा आग्रह गरेका छन् । तर, अहिलेसम्म समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ । ‘हामीले वाणिज्य मन्त्रालयमा पनि आफ्नो समस्या राख्यौं,’ उद्योगी चापागाईंले भने, ‘तर, अहिलेसम्म निकासीको झन्झट कम नभएकाले सरकारी निकायबाट पनि कुनै कूटनीतिक पहल भएजस्तो लागेन।’

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले पानीट्यांकी नाकामा चिया निकासीमा भइरहेको अवरोधबारे उद्योगीहरूले आफूलाई सूचना दिएपनि ‘आधिकारिक’ जानकारी भने नआएको बताए ।‘चिया निकासीमा समस्या आएको कुरा उद्योगीहरूले राख्नुभएको छ,’ उनले भने, ‘तर, चिया निकासी किन कसिलो बनाइयो भन्नेबारे भारत सरकारले यसबारे जानकारी नदिएकाले भारत सरकारले नै कडाइ गरेको हो या होइन भन्ने थाहा हुन सकेको छैन ।’

उनले उद्योगीको गुनासोअनुसार आफूहरूले वाणिज्य मन्त्रालयमा यो समस्या राखिसकेको बताए । ‘तयारी चिया निकासीको असहजताबारे मन्त्रालय तहमै छलफल भइरहेको भन्ने जानकारी पाएका छौं,’ उनले भने, ‘केही समयपछि कृषिमन्त्रीले भारत भ्रमण गर्दै हुनुहुन्छ, हामीले चियालगायत कृषिजन्य उत्पादनको निकासी समस्यालाई पनि छलफलको विषय बनाउन सिफारिस गरेका छौं ।’ कृषिमन्त्रीको भ्रमणले चिया निकासीमा अहिले देखिएको समस्याको दीर्घकालीन समाधान खोज्न सक्ने उनले बताए।

चिया उद्योगीले प्रमाणित अर्गानिक चियामा अरू कुनै प्रमाण आवश्यक नपर्ने व्यवस्था गर्न पनि आग्रह गरेका छन् । ‘संसारभर मान्यताप्राप्त संस्थाले अर्गानिक प्रमाणित गरेको चियामा भारतको कस्टमले पुनः ल्याब परीक्षण गराउनु कत्तिको आवश्यक होला,’ उद्योगी चापागाईंले भने, ‘नेपालको चिया निर्यात निरुत्साहित गर्ने प्रयास मात्रै हो कि जस्तो लाग्छ ।’ उनले कृषिमन्त्रीको भ्रमणमा पनि यो विषय समेट्नु उचित हुने बताए । ‘भारतीय भन्सारले चियामा पुनःल्याब परीक्षण गर्नुपरे प्रयोगशाला चाहिँ भन्सारनजिकै राख्नेसम्मको व्यवस्था गर्न मन्त्रीज्यूले भारत सरकारलाई आग्रह गरिदिनुहुनेछ भन्ने आशा छ,’ उनले भने, ‘कि त जुन प्रयोगशालाको परीक्षण रिपोर्ट छ, त्यसलाई भारतीय कस्टमले मान्यता देखोस् ।’

उद्योगीहरूका अनुसार पानीट्यांकी नाकामा मात्रै नेपाली तयारी चियालाई अवरोध गरिएको हो । जोगवनीलगायतका नाकामा भने यस्तो अवरोध छैन । भारतले यसअघि पनि पटक–पटक नेपाली अदुवा र अलैंची निर्यातमा अवरोध गरेको थियो । अहिले नेपालबाट भारतसहित तेस्रो मुलुकसम्म निर्यात हुने तयारी चियामा कडाई गरिएको हो । कस्टमले प्रत्येक गाडी चियाको नमुना आफैं लिएर कोलकातास्थित सिएफएलमा परीक्षण गराउने गरेको छ । परीक्षणको रिपोर्ट आएपछि पनि अदालती ग्यारेन्टीपत्र हेरेर मात्रै चिया बोकेका ट्रक छिर्न दिने गरेको छ । यसअघिसम्म एकपटक नमुना परीक्षणको रिपोर्ट आएपछि ६ महिनासम्म चिया पठाउन पाइने सुविधा थियो ।
 

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App