coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवामा आधुनिक किसिमको हेलिप्याड निर्माण

रसुवाको सदरमुकाम धुन्चेस्थित नेपाली सेनाको कालिजंग गणमा हेलिप्याड निर्माणमा खटिएका नेपाली सेना । तस्बिर :नागरिक

रसुवा – रसुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले सदरमुकाम धुन्चेस्थित गणभित्र करिब १५ लाख रुपैयाँको लागतमा हेलिप्याड निर्माण सुरु गरेको हो । गणमा रहेको हेलिप्याडमा यसअघि दिउँसोको समयमा मात्र हेलिकप्टर अवतरण गर्न सकिन्थ्यो ।

रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नुपर्ने भएकाले आधुनिक किसिमको हेलिप्याड निर्माण गर्न लागिएको हो । भौगोलिक विकटताका कारण बिरामीलाई समयमा नै अस्पताल पुर्याउन नसक्दा अकालमै ज्यान जाने समस्यालाई मध्यनजर गर्दै हेलिप्याड निर्माण सुरु गरिएको गणले जानकारी दिएको छ ।अहिले निर्माण भइरहेको हेलिप्याडमा वाइन्ड डिरेक्सन इन्डिकेटर, लाइटिङ, हेलिकप्टरको इन्ट्री र एक्जिट प्वाइन्ट राखिने गणले जनाएको छ । हेलिप्याडमा रडको प्रयोग गरिएको छ । ५० फिट डायमिटरको हेलिप्याड निर्माण हुने सेनाले जनाएको छ । एमआई सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सकिने बताइएको छ ।

हेलिप्याड निर्माणका लागि जिल्लाका गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपाालिका, निर्माणाधीन जलविद्युत् आयोजना र मैलुङ स्याफ्रुबेंसी निर्माण कार्यदलले निर्माण सामग्री उपलब्ध गराएका छन् । गोसाइँकुण्डले ७०, कालिका र आमाछोदिङ्मोले ५०–५० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ ।जिल्लामा निर्माण भइरहेका रसुवागढी, सान्जेन, माथिल्लो त्रिशुली एक लगायत जलविद्युत्ले सहयोग गरेका छन् । निर्माणका लागि कालिजंग गणले जनशक्ति बाहेक तीन लाख रुपैयाँ बजेट छुट्याएको छ ।

आपतकालीन अवस्थामा सर्वसाधारणले पनि हेलिप्याडको प्रयोग गर्न पाउने नेपाली सेनाले जनाएको छ । सुत्केरी र दुर्घटनामा परेका व्यक्तिलाई तत्काल उपचारका लागि हेलिकप्टर अवतरण गर्नु परेमा मन्त्रालयसँग स्वीकृति लिन नपर्ने बताइएको छ ।भौगोलिक विकटता, जीर्ण सडक र एम्बुलेन्सको अभावका कारण जटिल खालका बिरामीलाई समयमा अस्पताल पुर्याउन समस्या हुँदै आएको छ । विपद्को समयमा सवारी साधनबाट लैजानका लागि सम्भव नभएकाले हेलिप्याड निर्माणपछि सहज हुने विश्वास गरिएको छ ।

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App