coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तरुण दल महाधिवेशन सर्ने

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन केही समय सर्ने भएको छ। आन्तरिक विवादका कारण २० भन्दा बढी जिल्ला अधिवेशन बाँकी भएपछि भदौ २४ गतेदेखिका लागि तोकिएको महाधिवेशन सर्ने भएको हो। भदौ २० भित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरे पनि विवादका कारण प्रदेश नम्बर २ का सबै साथै सुनसरी, चितवन, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रुपन्देहीसहित जिल्ला अधिवेशन हुन सकेको छैन।

पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाँण नेतृत्वको निर्देशक समितिले विवादित जिल्लामा समाधान प्रयास जारी राखे पनि समाधानमा पुग्न नसकेपछि महाधिवेशन नै केही दिन सर्ने भएको हो। '२० गतेभित्र सबै जिल्ला अधिवेशन नसकिने भएपछि महाधिवेशन केही दिन सर्ने भएको छ,' निर्देशक समितिका एक सदस्यले भने, 'कहिलेसम्म सार्ने भन्ने टुंगो लाग्न बाँकी छ।'

तरुण दलले भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको छ। तरुण दल केन्द्रीय सदस्य टेकराज पौडेलले केही जिल्ला अधिवेशन अझै बाँकी रहेको जनाउँदै प्रतिनिधि टुंगो लगाएर मात्र महाधिवेशनमा जानुपर्ने बताए।

तरुण दलमा महानगरपालिकाबाट तीन, उपमहानगरबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठ प्रतिनिधि सहभागी हुने व्यवस्था छ। साथै, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधान छ।

जिल्ला अधिवेशन नसकिँदा महाधिवेशन अझै निश्चित नभए पनि संगठन नेतृत्व आफ्नो पक्षमा पार्न पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलका साथै १३ औं महाधिवेशनपछि उदाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सक्रिय छ। तरुण दलको महाधिवेशन आफ्नो पक्षमा पार्न त्यसको जोडघटाउमा तीनै पक्ष पछिल्ला दिनमा गुटगत भेला र बैठकमा सक्रिय छन्। २०६१ कात्तिकयता दलको महाधिवेशन हुन सकेको छैन।

त्यस्तै, नेपाल महिला संघको महाधिवेशन भने तोकिएकै समयमा हुने भएको छ। तराई पाँच जिल्लाको अधिवेशन हुन बाँकी रहे पनि महिला संघले भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा चौथो महाधिवेशन हुने भएको छ।

पार्टी केन्द्रीय कार्यालयबाट महाधिवेशन तयारीका लागि २० लाख रुपैयाँ बुझिसकेको संघमा प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित झन्डै २ हजार ३ सय प्रतिनिधि सहभागी हुनेछन्। संघको नेतृत्व लिन पार्टीभित्र रहेको गुटगत आधारमा एक दर्जनभन्दा बढी नेत्री सक्रिय छन्।

प्रकाशित: १७ भाद्र २०७३ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App