८ वैशाख २०८१ शनिबार
अर्थ

घरजग्गा मेलामा सरप्राइज मूल्य

काठमाडौं – नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्न लागेको घरजगा मेलामा सरप्राइज मूल्य राखिएको संघले जनाएको छ । मेलामा उपभोक्ताले कति मूल्यमा अपार्टमेन्ट तथा घर खरिद गर्न सक्छन् भन्ने प्रश्नमा संघका अध्यक्ष इच्छाराज तामाङले सरप्राइज मूल्य रहेको बताए।

‘मेलामा घर तथा अपार्टमेन्टको मूल्य कतिभन्दा पनि सरप्राइज मूल्य राखेका छौं । स्टक क्लियरेन्स मात्रै नभएर उपभोक्तालाई सुविधायुक्त घरको सरप्राइज मूल्य दिँदैछौं । प्रविधिमैत्री, आधुनिक सुविधासम्पन्न घर सातौं घर–जग्गा मेलाको उपहार जस्तै हो,’ अध्यक्ष तामाङले भने, ‘आवश्यक परामर्श सहित विगतमा भन्दा फरक ढंगले मेला आयोजना गरेका छौं ।’ मेलामा विश्वकै रियलस्टेट कम्पनीहरुको छाता संगठन फिएफसीका अध्यक्ष फारुम महमद पनि उनले जानकारी दिए । ‘उहाँ एक दिनका लागि नेपाल आउने भएकाले यसपटकको मेला विशेष हुन्छ,’ अध्यक्ष तामाङले भने। 

उनका अनुसार मेलाको अवसरमा आयोजना हुने सेमिनारमा फिएफसीका अध्यक्ष महमदले विश्वमा ‘हाई राइज बिल्डिङ’को विषयमा प्रस्तुति दिनेछन् । सहरलाई व्यवस्थित र आकर्षक बनाउने भनेको योजना सहितको हाउजिङ तथा अपार्टमेन्ट रहेको तामाङको भनाइ छ । नयाँ नेपाल निर्माणको क्रममा वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा घरजग्गा मेलाले महत्वपूर्ण योगदान गर्ने उनले बताए।

 मेलामा कारोबार तत्काल नदेखिए पनि एक महिनाबाट सुरु हुने उनको भनाइ छ । उनका अनुसार घर–जग्गा क्षेत्रमा  एक सय २० कम्पनी क्रियाशील छन् । ‘डेप्लपरहरुले नेपाल सरकारको नीति तथा मापदण्ड अनुसार  अपार्टमेन्ट निर्माण गरिरहेका छन् । तर, सरकारले विभिन्न नाममा जग्गाको कित्ताकाँट रोकेको छ । यसका लागि सरकारले आवश्यक नीति तथा कानुन निर्माण गर्नुपर्छ,’ अध्यक्ष तामाङले भने ।संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा असार १ देखि ५ गतेसम्म घर जग्गा मेला आयोजना गर्दैछ । यसपटकको मेलाले सर्वसाधारणलाई घर–जग्गा व्यवसायको वर्तमान अवस्था, यसका समस्या र समाधानका उपाय सहित भावी अवसरका विषयमा जानकारी दिने मेला संयोजक विपिन चित्रकारले जानकारी दिए । उनका अनुसार मेलामा एक सय ५० स्टल हुनेछन्।

यस मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरीवेयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजावटका सामान, बिमा र परामर्श सेवा उपलब्ध गराउने संघले जनाएको छ ।संघका महासचिव मीनमान श्रेष्ठले मेला लाइसेन्स प्राप्त कम्पनीहरुले निर्माण गरेका घर तथा अपार्टमेन्ट बिक्री गर्ने पहिलो प्लेटफर्म भएको बताए । ‘बिजुली, पानी, ढल, पार्किङ, कम्पाउन्ड सहितको आधुनिक भवनमा बसाउने हाम्रो प्रतिबद्धता हो । यसका लागि आफ्नो रोजाइ अनुसार अपार्टमेन्ट खरिद गर्न सकिन्छ,’ उनले भने, ‘सुरक्षित एवं व्यवस्थित बसोबास र मूल्य प्रतिस्पर्धामार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेन्ट बिक्री र एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सकिने छ।’

उनका अनुसार मेलामा उपभोक्तालाई विशेषज्ञद्वारा सोसम्बन्धी कानुनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइनेछ ।सातौंपटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आ–आफ्ना सेवा तथा उत्पादन प्रदर्शन गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी हुनेछन्।

मेलामा हाउजिङ सम्मेलन समेत हुनेछ । दुई दिन हुने हाउजिङ सम्मेलनमा हाउजिङ सम्बन्धी कार्यपत्रहरु समेत प्रस्तुत हुनेछ । यस्तै विभिन्न वक्ताबीच छलफल हुने संघले जनाएको छ ।मेला नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजनामा हुन लागेको हो । यसपटकको मेला एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रकाशित: १५ जेष्ठ २०७५ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App