coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण हुँदै

रौतहटको देवाही गोनाही नगरपालिकाको देवाही गाउँ स्थित लाल बकैया नदीले भत्काएको बाँध मर्मतको निरीक्षण गर्दै । तस्बिर : नागरिक

रौतहट– गत बर्ष लाल बकैया नदीमा आएको विनाशकारी बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण भइरहेको छ। बाढीले नदीको दुवै तिरका संरचनाहरु भत्काएको करिब १० महिनापछि निर्माण कार्य सुरु भएको छ।

आर्थिक वर्ष सम्पन्न हुन लाग्दा र फेरि बाढी आउने समय आउन लाग्दा धमाधम संरचनाको निर्माण हुन थालेपछि जनप्रतिनिधिहरुको पनि ध्यान तानिएको छ। निर्माण हुन लागेको भौतिक संरचनाप्रति स्थानीय प्रशासनको पनि ध्यानाकृष्ट भएको छ। निर्माणाधीन संरचनाको गुणस्तरको विषयमा प्रशासनका पदाधिकारी सहित साँसद र प्राविधिक टोलीले निरीक्षण गरेका छन्।

रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत देवाही मौलापुर जोड्ने बाटोलाई बकैया नदीमा गत साउन महिनामा आएको भिषण बाढीले बाँधको संरचनालाई भत्काएको थियो। उक्त बाँध मर्मत गर्न स्थानीय प्रशासनले पटक पटक जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन नम्बर ३ को कार्यालय परवानीपुरलाई ताकेता गरेपछि गत सातादेखि मर्मत कार्य प्रारम्भ भएको हो।

निर्माणाधिन बाँधको संरचनाको गुणस्तरिय होस् भन्ने चाहना राखेर पूर्वमन्त्री एवं साँसद प्रभु साह, प्रदेश साँसद कुन्दन कुशवाहा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन प्रमुख राजकुमार गुप्ता, सडक डिभिजन कार्यालय चन्द्रपुरका इन्जिनियर श्यामनारायण मिश्र, सहितका पदाधिकारीहरु स्थलगत रुपमा निरीक्षण गर्दै निर्माणमा संलग्न पक्षलाई गुणस्तरीय कामको लागि थप निर्देशन दिएका छन्।

निरीक्षणकै क्रममा देवाही बजारमा स्थानीय बासिन्दाहरुको उस्थितिमा स्थानीय सरकारका पदाधिकारीहरु, साँसद, प्रजिअ, प्रदेश साँसद, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पर्साका इन्जिनियर, जिल्ला वन कार्यालयका प्रमुख, रेड क्रसका प्रतिनिधि लगायत विभिन्न लाइन एजेन्सीका पदाधिकारीहरु विच छलफल गरी स्थानीय स्तरमा रहेका विभिन्न समस्याहरुलाई चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

छलफलमा क्षेत्र साँसद प्रभु साहले गत साउन महिनामा आएको भिषण बाढीबाट रौतहटमा सबै भन्दा बढी जनधनको क्षति भए पनि राज्यबाट युद्धस्तरमा हुनुपर्ने कार्यहरु हुन नसकेको आरोप लगाए। बाढी पीडितहरुलाई अहिलेसम्म ठोस रुपमा राहत नदिएको, उनीहरुलाई पुनर्वासको समुचित व्यवस्थापन नगरिएको तथा जेठ महिनामा आएर भत्किएका बाँधहरुको मर्मत कार्य भईरहदा राज्यबाट रौतहटका जनताहरुलाई उपेक्षा गरिएको आरोप लगाएका छन्।

प्रमुख जिल्ला अधिकारी रिजालले बाढी आउनु अगावै भत्किएका संरचनाहरुलाई मर्मत गर्न नदि नियन्त्रणका प्रमुखलाई निर्देशन दिदै बाढीले बगाएको बाटोहरु पनि अविलम्ब बनाएर यातायात सुचारु गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन्। यदि जनतासंग जोडिएका विषयमा गम्भीर नभएमा सम्बन्धित कार्यालयका प्रमुखहरुलाई हामी निगरानीमा राखेका छौं बताउदै प्रजिअ रिजालले यदी बजेट छैन भने तुरुन्त माग गर्नुपर्ने बताएका छन्।

निरीक्षणकै क्रममा मौलापुरमा कछुवाको गतिमा निर्माण भईरहेको विद्युतको सव स्टेशनलाई निर्धारित समयमा निर्माण कार्य पुरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई प्रजिअ रिजालले निर्देशन दिएका छन्। ठेक्का सकार गरेर काम नगर्ने निर्माण कम्पनीलाई कालो सुचीमा राखेर ठेक्का खारेज गरी अर्को ठेक्का लगाउन सक्ने अवस्था आउन सकिने बताउँदै प्रजिअ रिजालले स्थानीय बासिन्दाहरु गम्भीर भएर विकास निर्माणका कार्यहरु निर्धारित समयमा सम्पन्न गराउनेतर्फ अग्रसर भएर काम गराउनमा सहयोग गर्नुपर्ने पनि सुझाव दिएका छन्।

लाल बकैया नदीको पुर्वी र पश्चिमी गरेर २२ स्थानमा बाँधको संरचना भत्किएको छ सो कार्यलाई चाँडै मर्मत गरी यसपाली बाढीबाट कसैलाई पनि क्षति नहुने बताउदै जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयका प्रमुख श्रीवास्तवले गत साउन महिना भन्दा बढी बाढी आएमा त्यसको कुनै विकल्प नरहने स्पष्ट पारेका छन्। हाम्रा प्राविधिकहरु दिनरात मर्मत गर्ने कार्यमा खटिरहेका छन्, बजेट पनि कम रहेकोमा स्थानीय तहबाट पनि सहयोग भएमा राम्रो हुने बताएका छन्। 

बकैया नदीको दुवै किनारमा भत्किएको संरचनाको पुनर्निर्माण भइरहेको छ तर बागमती नदीले भत्काएको संरचनाको पुन निर्माण अझै सुरु हुन सकेको छैन्। यस विषयमा प्रमुख श्रीवास्तवलाई सोध्दा वागमती नदीले भत्किाएको बाँधको संरचनाको मर्मत पनि यथाशीघ्र सुरु गरिनेतर्फ विभाग सक्रिय र केही दिनमे ठोस निर्णय हुने बताएका छन्।

प्रकाशित: १४ जेष्ठ २०७५ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App