coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सेनाको निष्कर्ष : आन्तरिक सुरक्षामा विप्लव र सिके राउत चुनौति

काठमाडौ- जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म चलेको बैठकले नेपालको आन्तरिक सुरक्षामा विप्लव र सिके राउत मुख्य सुरक्षा चुनौति रहेको निष्कर्ष निकालेको सैनिक स्रोतले जानकारी दिएको छ। सेनाको आन्तरिक अध्ययनले तत्कालका लागि यी दुई समूह आन्तरिक सुरक्षाका लागि चुनौतिपूर्ण रहेको देखिएपछि त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा सेनाको पृतनामा छलफल भएको स्रोतले जनायो।

समन्वयात्मक बैठकमा पृतनापतिले हाल सानो समूहमा रहेका यी दुई समूह भविष्यका लागि चुनौतिपूर्ण रहेको भन्दै  भविष्यमा आईपर्न सक्ने चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सुझाव दिएका थिए।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले पृतना बैठकमा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतिका विषयमा छलफल हुनु स्वभाविक भएको बताए। ‘आन्तरिक तथा बाह्य रुपमा के कस्ता सुरक्षा चुनौति छन् भनेर सेनाले अध्ययन गरिरहेको हुन्छ। यदी कुनै समूहबाट चुनौति रहेको देखिएमा त्यससँग कसरी जुध्ने भन्ने विषयमा छलफल गर्नु नियमित र सामान्य प्रक्रिया हो,’ भण्डारीले भने।

बैठकमा कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीका विषयमा सुझाव दिएका थिए।

सोमबार सम्पन्न भएको ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मुल्याँकन गरी आउन सक्ने जस्तो सुकै चुनौतीको सामना गर्न पृतनापतिलाई निर्देशन दिएका छन्।

उनले भविष्यमा आइपर्ने चुनौतिलाई सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा तयारी रहन निर्देशन दिएका थिए। क्षत्रीले विभागीय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलावा अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न समेत निर्देशन दिएका थिए।

समन्वयात्मक बैठकबाट आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावले  सेनाको नीति निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्ने सेनाले विश्वास लिएको छ।

बैठकको आइतबार रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए। बैठकको उद्घाटन गर्दै पोखरेलले सेनाले राजनैतिक नेतृत्वलाई सदैव स्वीकार गरेको बताए। उनले देशको आवश्यकता आर्थिक समृद्धि भएकोले नेपाली सेनाको योजना र क्रियाकलाप सोहि अनुरुप हुनु पर्ने बताएका थिए।

पोखरेलले वर्षायाम सुरु भएसँगै हुन सक्ने प्राकृतिक जोखिम र क्षति न्युनिकरणको लागि नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । नेपाली सेनाले आफ्नो स्वाभिमानलाई सदा उच्च राख्न सफल भएकाले आगामी दिनमा समेत स्वाभिमान उच्च राख्नेमा विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित: १४ जेष्ठ २०७५ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App