४ वैशाख २०८१ मंगलबार
राजनीति

तरुण दलको महाधिवेशन फेरि सर्ने

काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन फेरि सर्ने भएको छ । आन्तरिक विवादका कारण २० भन्दा बढि जिल्ला अधिवेशन बाँकी भएपछि भदौ २४ गते देखिका लागि तोकिएको महाधिवेशन सर्ने भएको हो ।

भदौ २०भित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरेपनि विवादका कारण प्रदेश नम्बर २ का सबै साथै सुनसरी, चितवन, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रुपन्देहीसहित २० भन्दा बढि जिल्ला अधिवेशन हुन सकेको छैन ।

पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाँण नेतृत्वको निर्देशक समितिले विवादित जिल्लामा समाधान प्रयास जारी राखेपनि सामाधानमा पुग्न नसकेपछि महाधिवेशन नै केहीदिन सर्ने भएको हो । ‘२०गतेभित्र सबै जिल्ला अधिवेशन नसकिने भएपछि महाधिवेशन केहीदिन सर्ने भएको छ,’ निर्देशक समितिका एक सदस्यले भने, ‘कति सार्ने भन्ने टुंगो लाग्न बाँकी छ ।’

तरुण दलले भदौ २४ देखि २६गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको छ ।

तरुण दल केन्द्रीय सदस्य टेकराज पौडेलले केही जिल्ला अधिवेशन अझै बाँकी रहेको जनाउँदै प्रतिनिधिको टुंगो लगाएर मात्र महाधिवेशनमा जानुपर्ने बताए ।

तरुण दलमा महानगरपालिकाबाट तीन, उपमहानगरबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ । साथै, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधान छ ।
 
जिल्ला अधिवेशन नसकिंदा महाधिवेशन अझै निश्चित नभएपनि संगठनको नेतृत्व आफ्नो पक्षमा पार्न पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलका साथै १३औं महाधिवेशनपछि उदाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सक्रिय छ । तरुण दलको महाधिवेशन पक्ष आफ्नो पक्षमा पार्ने त्यसको जोडघटाउमा तीनै पक्ष पछिल्ला दिनमा गुटगत भेला र बैठकमा सक्रिय छन् । दलको २०६१ कात्तिकयता महाधिवेशन हुन सकेको छैन ।

त्यस्तै, पार्टीको भगीनी संगठन नेपाल महिला संघको भने महाधिवेशन तोकिएकै समयमा हुने भएको छ । तराई पाँच जिल्लाको अधिवेशन हुन बाँकी रहेपनि महिला संघले भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा चौथो महाधिवेशन हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयबाट महाधिवेशन तयारीका लागि २० लाख रुपैयाँ बुझिसकेको संघमा प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित झन्डै २ हजार ३ सय प्रतिनिधि सहभागी हुनेछन् । संघको नेतृत्व लिन पार्टीभित्र रहेको गुटगत आधारमा एक दर्जनभन्दा बढी नेत्री सक्रिय छन्।

प्रकाशित: १६ भाद्र २०७३ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App