coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियाली नेताको चाहना स्थिर’

दुई कोरियाबीचको सीमावर्ती गैरसैनिक इलाकामा शनिबार भएको अप्रत्याशित बैठकमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन (बायाँ) र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन। तस्बिर : एएफपी

प्योङयाङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुन १२ मा सिंगापुरमा वार्ता हुनुपर्ने उत्तर कोरियाली नेता किम जोङ–उनको ‘स्थिर चाहना’ रहेको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ।

एक महिनाभित्र शनिबार दोस्रो पटक उत्तर र दक्षिण कोरियाको सीमामा रहेको गैरसैनिक इलाकामा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँग भएको शिखर बैठकपछि उत्तर कोरियाको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको बिबिसीले उल्लेख गरेको छ। शनिबार सीमावर्ती गाउँ पान्मुनजोममा अप्रत्याशित रूपमा भएको दुई नेताबीचको भेटमा उत्तर कोरियाले निःशस्त्रीकरणका लागि आफू प्रतिबद्ध रहेको दोहो-याएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

उत्तर कोरियासँग पुनः वार्ता गर्ने ट्रम्पले बताए पनि सिंगापुरमै निर्धारित समयमै बैठक हुनेमा आशंका रहेको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटमार्फत् रिस पोखेका छन्।

यसअघि अमेरिका–उत्तर कोरियाबीच जुन १२ मा सिंगापुरमा हुने भनिएको बैठकलाई उत्तर कोरियाको शत्रुतापूर्ण व्यवहार भएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले रद्द गरेका थिए। बिहीबार उत्तर कोरियाली नेतासँगको बैठक रद्द भएको घोषणा गरे पनि शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले बैठकको मिति परिवर्तन नभएको र वार्ताको तयारी सही ढंगले भइरहेको बताएका थिए। गत वर्ष ट्रम्प र किमबीच चलेको वाक्युद्धले आणविक हतियार सम्पन्न अमेरिका तथा उसको गठबन्धन राष्ट्र दक्षिण कोरिया र उत्तर कोरियाबी सैनिक सामनाको चेतावनी सम्म पुगेको थियो। तर यस वर्षको सुरुवातदेखि नै भइरहेको कूटनीतिक प्रयासको समापनका रूपमा अमेरिका–उत्तर कोरिया शिखर बैठकलाई लिइएको छ।

शनिबारको आश्चर्यजनक बैठकबाट के भयो?
आश्चर्यजनक रूपमा शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन र उत्तर कोरियाली नेता किमबीच भएको बैठकबारे उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले विस्तृत विज्ञप्ति निकालेको छ भने दक्षिण कोरियाली राष्ट्रपति मुनले पनि बैठकबारे प्रतिक्रिया दिएका छन्।

जुन १२ का लागि तय भएको अमेरिका–उत्तर कोरिया बैठक सफलतापूर्वक सञ्चालन गर्नुपर्नेमा किम सहमत भएको र उनले कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने विषयमा पुनः प्रतिबद्धता व्यक्त गरेको दक्षिण कोरियाली राष्ट्रपति मुनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बैठकमा वासिङ्टनले आफ्नो शासनको स्थायीत्वको ग्यारेन्टी गर्छ वा गर्दैन भन्ने विषयमाा भने किम निश्चित नभएको मुनले बताएका छन्।

‘शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्नेबारे अमेरिकाले गरेको प्रतिबद्धता पूरा गर्छ वा गर्दैन भन्ने विषयमा आफ्नो देशले विश्वास गर्न नसकेको किमले बताए,’ राष्ट्रपति मुनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

उत्तर कोरियाले समाचार एजेन्सी केसिएनएले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच स्पष्ट वार्ता भएको र नेता किमले अमेरिकासँग हुन लागेको ऐतिहासिक शिखर बैठकका लागि आफ्नो स्थिर चाहना व्यक्त गरेको जनाइएको छ । मुनसँगको बैठकमा किमले स्थायी र टिकाउ शान्ति स्थापनाका लागि संयन्त्र स्थापना गर्न सहयोगका लागि आग्रह गरेको र पुनर्मेल तथा एकताको नयाँ युगको सुरुवातका लागि आह्वान गरेको केसिएनएको विज्ञप्तिलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। केसिएनएको विज्ञप्तिअनुसार दुई नेताबीच आउँदो शुक्रबार पुनः बैठक हुनेछ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App