८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

६२ रोहिन्जा शरणार्थी म्यानमारमा

बंगलादेशको कोक्सबजारमा रहेको रोहिन्जा शरणार्थी शिविर। तस्बिर : बिबिसी

यांगुन – म्यानमारले बंगलादेशमा शरणार्थीका रूपमा पुगेका ६२ रोहिन्जा शरणार्थीलाई रखाइन राज्यस्थित ङखुया स्वागत शिविरमा स्वागत गरेको छ।

म्यानमारको राष्ट्रिय महावाणिज्य दूतावासले आइतबार जनाएअनुसार स्वदेश फिर्ता भएका रोहिन्जा शरणार्थीमध्ये ५८ जना म्यानमारका राष्ट्रपतिद्वारा कैदी जीवन मिनाहामा परेका व्यक्ति रहेका छन् भने चार जना जेलबाट रिहा भएका व्यक्ति रहेका छन्। उनीहरू केही समय पहिले सरकारी प्रक्रियालाई वेवास्ता गर्दै आफ्नै तहबाट स्वदेश फर्केका थिए। बंगलादेशस्थित कोक्स बजार शरणार्थी शिविरबाट आफ्नै तरिकाले म्यान्मार पुगेपछि पक्राउ परेका उनीहरूलाई जेलमा राखिएको थियो। तर राष्ट्रपतिले उनीहरुलाई क्षमादान दिएपछि ती रोहिन्जालाई शनिबार रखाइन राज्यमा रहेको स्वागत शिविरमा पु-याइएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

‘म्यानमार–बंगलादेश सहमतिअनुसार फिर्ता भएका रोहिन्जा समुदायका केही व्यक्तिलाई आवश्यक प्रमाणीकरण प्रक्रियापछि ह्लाफो खाउङ शरणार्थी शिविरमा लगिने छ,’ म्यानमाली महावाणिज्य दूतावासको कार्यालयले जारी विज्ञप्ति उल्लेख गर्दै सिन्ह्वाले जनाएको छ।

म्यानमार र बंगलादेशबीच रखाइन राज्यबाट विस्थापित भई शरणार्थीका रूपमा बंगलादेशको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका रोहिन्जा मुसलमान समुदायका मानिसलाई फिर्ता गराउन गत वर्षको नोभेम्बर २३ मा सम्झौता भएको थियो।

म्यानमारले प्रमाणीकरण प्रक्रिया पुरा गरी फिर्ता हुने रोहिन्जा शरणार्थीलाई दुई छुट्टै शिविरमार्फत् स्वदेशमा राख्ने व्यवस्था गरेको बताइएको छ। अराकन रोहिन्जा मुक्ति सेनाले गत वर्षको अगष्ट २५ मा एकै पटक रखाइन राज्यस्थित २० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि सरकारी पक्षबाट भएको कारबाही छल्दै ठूलो संख्यामा रोहिन्जा समुदायका मानिस छिमेकी बंगलादेश पुगेका थिए। सञ्चारमाध्यमले जनाएअनुसार म्यान्मारबाट करिब सात लाख नागरिक विस्थापित भई हाल बंगलादेशी शरणार्थी शिविरमा बसिरहेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७५ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App