६ वैशाख २०८१ बिहीबार
समाज

पाठेघर खस्ने समस्या भयावह

खोटाङ – खोटाङको दिक्तेलमा आयोजना गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा उपचारका लागि आएका अधिकतर महिला पाठेघरको समस्याबाट पीडित पाइएको छ। मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालसँगको सहकार्यमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले शुक्रबार र शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा महिलामा पाठेघर खस्ने समस्या भयावह पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

शिविरमा आएका ४ सय ८५ महिलामध्ये १३० महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए।

सेतो पानी बग्ने, चिलाउने, कम्मर दुख्ने, हिँड्डुल गर्न गाह्रो हुने लगायतका समस्या लिएर शिविरमा आएका महिलामा पाठेघरको डरलाग्दो समस्या पाइएको उनले बताए। चिकित्सकका अनुसार पाठेघर समस्याले पहिलो र दोस्रो चरण पार गरेपछि शल्यक्रिया गर्नुपर्ने हुन्छ। ‘नेपालका ३० प्रतिशत महिलामा पाठेघरको समस्या छ,’ डा. केसीले भने, ‘४ सय ८५ मा १ सय ३० महिलाको शल्यक्रिया गर्नुपर्ने अवस्था भनेको पनि करिब २६ प्रतिशत हो।’ स्वास्थ्यकर्मीका अनुसार पाठेघर खस्ने समस्याबाट जुनसुकै उमेर समूहका महिला पीडित छन्। परम्परागत सोच र मान्यतामा हुर्केका कारण रोगलाई लुकाएकाले वृद्धावस्थामा पुगेका महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको उनीहरूको भनाइ छ।

पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलालाई जाने–आउने खर्चसहित काठमाडौं पठाउने व्यवस्था मिलाइने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

पीडा सहँदै रोग लुकाएर बसेका महिला स्वास्थ्य सचेतनाका कारण पछिल्लो समय विस्तारै खुल्न थालेका छन्। पाठेघर खसेका महिलाको तत्कालै मृत्यु नभए पनि संक्रमण भएर घाउ हुँदा जीवन कष्टमय र पीडादायी हुने गर्छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेका जिल्लाका २५ देखि ६० वर्ष उमेर समूहका महिलामा गरिएको नमुना परीक्षणमा २५ देखि ३० प्रतिशत महिलामा पाठेघरको समस्या पाइएको डा. केसीले जानकारी दिए। ‘धेरैजसो महिलामा पाठेघरको कुनै न कुनै समस्या छन्,’ उनले भने, ‘स्याम्पलिङका क्रममा १० देखि १५ प्रतिशत महिलाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ।’

शिविरमा विभिन्न रोग भएका १ हजार ३८४ सर्वसाधारणले निःशुल्क उपचार सेवा पाएको आयोजकले जनाएको छ। स्वास्थ्य शिविरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका भित्रका दिक्तेल, बाम्राङ, सोल्मा, लफ्याङ, नेर्पा, दोर्पाचिउरीडाँडा, बुइपा, नुनथलालगायत छिमेकी गाउँका बासिन्दा उपचारका लागि आएका थिए।

प्रकाशित: १४ जेष्ठ २०७५ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App