coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बर्ड फ्लु भित्रन नदिन काभ्रेमा उच्च सतर्कता

बनेपा - चितवनका केही फार्मका कुखुरा र काठमाडौंका हाँसमा बर्ड फ्लुको संक्रमण देखा पारेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ । जिल्लास्तरिय बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को आइतबारको बैठकले यस्तो निर्णय गरेको हो।

काभ्रे हुँदै कुखुरा र अण्डाको ओसारपसार भइरहेकाले रोग भित्रन नदिनका लागि यस्तो निर्णय गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नारायण श्रेष्ठले जानकारी दिए । ‘काभ्रेको बाटो हुँदै पूर्वी तराईका कुखुरा र अण्डा काठमाडौं उपत्यकासम्म ओसारपसार हुने गरेको छ । त्यस्तै, चितवनबाट काठमाडौं हुँदै अण्डा र कुखुरा काभ्रेसम्म आउने गरेकाले रोग सहजै नभित्रियोस भनेर सतर्कता अपनाउन सरोकारवालालाई अनुरोध गरेका छौं,’ उनले थपे ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको अध्यक्षतामा जिल्लाका चारैवटा सुरक्षा निकायसहित कुखुरा, दाना, चल्ला, अण्डा र मासु व्यवसायी सम्मिलित डाइटेकको बैठकले केही समयका लागि अन्यत्रका कुखुरा, चल्ला, अण्डा र पक्षीजन्य पदार्थ जिल्ला नभिœयाउने निर्णय गरेको छ ।‘समस्याग्रस्त क्षेत्रबाट केही समयका लागि कुखुरा, चल्ला, अण्डा र पंछीजन्य पदार्थ जिल्ला नभिœयाउने भनि व्यवसायीहरुबाट प्रतिबद्धता आएको छ । किसानलाई जैविक सुरक्षामा ध्यान दिनका लागि आग्रह गर्ने र जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ,’ राउतले भने ।

हाल काभ्रेमा साँगा, मंगलटार, नाला, कुशादेवी र पाँचखालसहितका नाकाबाट कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रने गरेको छ । ती नाकामा रहेका प्रहरी चेकपोस्टले पशु ढुवानी मापदण्ड अनुसारको भेटरीनरी प्रमाणपत्र भएको यकिन गरेरमात्रै कुखुरा, चल्ला, अण्डा र कुखुराजन्य पदार्थ भित्रन दिनू भनि मातहतका चौकीलाई आदेश दिइएको काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए।

डाइटेकका सदस्य–सचिवसमेत रहेका डा. श्रेष्ठका अनुसार यतिखेर काभ्रेमा बर्ड फ्लु रोग देखा नपेरको भए पनि व्यावसायिक बन्दै रहेको कुखुरापालनलाई जोगाउन सतर्कता अपनाउन लागिएको हो । ‘कार्यालय अन्तर्गतका खोपासी, पनौती, बनेपा, नाला, भकुण्डेवेंशी, महादेवस्थान र दोलालघाटस्थित पशु सेवा केन्द्रका प्राविधिकलाई आफ्नो क्षेत्रका कुखुरा फार्मको अनुगमन गर्न र एकैपटक धेरै संख्यामा कुखुरा तथा हाँस मरेमा तत्काल खबर गर्न निर्देशन दिएका छौं,’ उनले थपे ।

पशु सेवा विभागले काभ्रे जिल्लालाई बर्ड फ्लुको मध्यम जोखिम जिल्लाको रुपमा राखेको छ । तर, काभ्रेको सिमाना सिन्धुलीसँग जोडिएको र बनेपा–सिन्धुली–बर्दिवास राजमार्ग हुँदै तराईबाट कुखुरा र कुखुराजन्य पदार्थ ओसारपसार हुने भएकाले जोखिम बढेको श्रेष्ठको भनाइ छ । ‘निर्वाहमुखीबाट कुखुरापालन व्यवसायमुखी बन्दै गएको सन्दर्भमा जिल्लाका कुखुरा व्यवसायीलाई जोगाउनका निम्ति कुखुरा व्यवसायी र प्रहरी प्रशासन सबैलाई सक्रिय बनाइएको छ । काभ्रेमै नेपालको एकमात्रै ग्रान्ड प्यारेन्ट फार्म भएकाले बढी संवेदनशील हुनुपर्ने अवस्था छ,’ उनले थपे ।आव ०७१- ७२ मा तथ्यांक विभागले गरेको पोल्ट्री गणनाले काभ्रे जिल्लालाई लेयर्स र ब्रोइलर कुखुरापालनमा चितवनपछिको दोस्रो जिल्लाका रुपमा उल्लेख गरेको छ ।

पशु सेवा कार्यालयका अनुसार काभ्रेमा एक सय ३१ वटा व्यावसायिक र एक हजारको हाराहारीमा स–साना कुखुरा फार्म रहेका छन् । साना ठुला गरी १२ वटा ह्याचरीले ब्रोइलर चल्ला उत्पादन गर्दै आएको छ । यी ह्याचरीबाट नपुग हुने चल्ला भक्तपुर, काठमाडौं र चितवनबाट काभ्रे भित्रने गरेको छ ।पछिल्लो समय बनेपाका खाद्यान्न व्यापारीले धादिङ, नुवाकोट, दाङ, मकवानपुर, चितवन र बिराटनगरबाटसमेत अण्डा झिकाउने गरेका छन् । ‘बनेपा यतिखेर अण्डा व्यापारको ‘हब’ बनिरहेको छ । यहाँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म अण्डा जाने गरेको छ । काभ्रेको उत्पादनले मागको ३० प्रतिशतमात्रै धानेको छ । बाँकी अण्डा अन्यत्रबाट नल्याइ सुख छैन,’ बनेपाका अण्डा व्यापारी इश्वर श्रेष्ठले भने।

उता, जिल्लामा व्यावसायिक कुखुरापालन गर्दै आएका सबै किसानलाई जैविक सुरक्षा (बायो–सेक्युरिटी) मा विशेष ध्यान पुर्याउन आग्रह गरिएको कुखुरा व्यवसायी मञ्च नेपालका महासचिव दयाराम महतले बताए । ‘हाम्रा सदस्यमार्फत सबै किसानलाई कुखुराको खोरमा विसंक्रामक(डिस्इन्फेक्टेन्ट) औषधि छर्ने, जथाभावी खोरभित्र आवतजावत नगर्ने, कुखुराको प्रत्यक्ष सम्पर्कमा आइरहने हेरालु र प्राविधिकलाई पर्याप्त सुरक्षा सावधानी अपनाउनु पर्छ भनेर सन्देश पठाउन थालेका छौं । स्थानीय पत्रिका र एफएमबाट यसबारेमा जनचेतना फैलाउने निर्णय गरेको छौं,’ उनले थपे ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App