८ वैशाख २०८१ शनिबार
अर्थ

१४ करोड मुआब्जा वितरण

विमानस्थल निर्माण हुने क्षेत्र।तस्बिर : उपेन्द्र/ नागरिक

बारा - जितपुर सिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने नम्बरी जग्गाको १४ करोड ७१ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ।

विमानस्थलले ओगट्ने नम्बरी जग्गाधनीलाई मुआब्जा लिनका लागि जारी गरिएको सार्वजनिक सूचनापछि एक सय ४० जना नम्बरी जग्गाधनीले मुआब्जाका लागि सुरुमा निवेदन दिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले कार्यान्वयन एकाई कार्यालय सिमराले जनाएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले कार्यावन्यन एकाई कार्यालय सिमराका वरिष्ठ अधिकृत विजयप्रसाद यादवले सुरुमा मुआब्जा प्राप्तिका लागि निवेदन दिएका एक सय ४० जना जग्गा धनीमध्ये ५२ जनालाई मुआब्जा वितरण गरिएको बताए । विमानस्थलका लागि अधिग्रहण गरिएको २६ बिघा दुई कट्ठा १३ धुर जग्गाको ५२ जना जग्गाधनीलाई १४ करोड ७१ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको यादवले जानकारी दिए।

दोस्रो चरणमा निवेदन दिएका २१ जग्गाधनीलाई १२ बिघा चार कट्ठा १६ धुर जग्गाको आठ करोड मुआब्जा दिनका लागि मुआब्जा निर्धारण समितिबाट निर्णय गराएर वितरण प्रक्रिया अगाडि बढाइएको यादवले बताए । निवेदन दिएका मध्ये बाँकी रहेका थप ६० जग्गाधनीलाई मुआब्जा दिनका लागि उनीहरुको जग्गाको मालपोत, नापी र भूमि सुधार कार्यालयमा चेकजाँच गराउने कार्य सुरु गरिएको वरिष्ठ अधिकृत यादवले बताए ।

चालु आर्थिक वर्षमै विमानस्थलका लागि अधिग्रहण गरिने एक सय १० बिघा नम्बरी जग्गाको मुआब्जा दिने गरी काम तीव्रताका साथ अगाडि बढाइएको यादवले बताए ।

अधिग्रहण गरिने जग्गामध्ये एक सय १० बिघा मात्रै व्यक्तिको नम्बरी पर्ने यकिन गरिए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना रहेको आयोजनाका अधिकारीको भनाइ छ । ‘अहिले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ११ हजार आठ सय ७५ बिघा जग्गाको चार किल्ला पहिचान गरी सीमाँकन गरिएको छ,’ यादवले भने, ‘सीमाँकन गरिएको जग्गामध्ये अधिकाँश जंगलको ऐलानी रहेको छ ।’विमानस्थलभित्र पर्ने नम्बरी जग्गाको मस्थानीयलाई वितरण गर्ने कार्य सुरु गरिएको, विमानस्थलभित्र पर्ने वनको काठ व्यवस्थापन र ट्रायल खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको र वातावरणीय प्रभाव मूल्याँकन रिपोर्ट समेत वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरिएको यादवले बताए ।

‘विभिन्न मुलुकका ठूला जहाजबाट सिँधै नेपाल आउने पर्यटकले ठूला विमानस्थलको अभावमा नेपाल नआई छिमेकी मुलुकका विमानस्थलमा ओर्लने गरेका छन्,’ जग्गा तथा होटल व्यवसायी इच्छाबहादुर वाग्लेले भने । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि ठूला जहाजबाट नेपाल भित्रिने पर्यटक सुरुमै प्रदेश २ मा घुम्ने भएकाले यहाँको आर्थिक विकासमा टेवा पुग्नेका उनको भनाइ छ । साथै लगानी र रोजगारी पनि सिर्जना हुने उनले बताए । ठूलो संख्यामा विदेशी पर्यटक भित्रिन थालेपछि यस क्षेत्रमा ठुल्ठूला होटल निर्माण हुने, पर्यटकलाई घुमाउन गाइड चाहिने भएकाले हजारौं युवा रोजगार हुने वाग्लेको भनाइ छ।

करिब सात खर्ब रुपैयाँ लागतमा निर्माण हुने उक्त विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन हुने अनुमान गरिएको आयोजनाका अधिकारीहरुले बताए । पहिलो चरणमा ३४ हजार र पूर्ण क्षमतामा सञ्चालन भएपछि चार लाख जहाज उडान तथा अवतरण हुन सक्ने क्षमतामा यो विमानस्थल निर्माण गरिने भनिए पनि अहिले तयार हुने डिपिआरले यसलाई कुन आधारमा निर्माण गर्ने भन्ने प्रष्ट हुने यादवले बताए ।

धानवमार्गको लम्बाइ तीनदेखि चार किलोमिटर दूरीसम्मको हुने र चौडाइ ६०–७५ मिटरको हुने भएकाले यसमा विश्वकै ठूला जहाजहरु पनि सजिलैसँग अवतरण गर्न सक्ने अधिकारीले बताए । विमानस्थलका लागि धेरै जग्गा रहेकाले यसमा अत्याधुनिक उपकरण जडान गर्न पनि सहज हुने बताइएको छ । विमानस्थल निर्माणका लागि सीमाँकन गरिएको जग्गामध्ये ७५ प्रतिशत विमानस्थल र २५ प्रतिशत क्षेत्रफलमा एयरपोर्ट सिटी निर्माण गरिने बताइएको छ।

निर्माण प्रक्रिया अगाडि बढाइएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एकै पटकमा पूरा गर्न नसकिने भएकाले यसलाई तीन चरणमा निर्माण गर्न सकिने प्राधिकरणका अधिकारीहरुले बताएका छन् । दक्षिण एसियाकै सबैभन्दा बढी क्षेत्रफलमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिने आयोजनाका अधिकारीले जनाएका छन् । पहिलो चरणमा ३४ हजार र पूर्ण क्षमतामा चार लाख जहाज उडान तथा अवतरण हुन सक्ने क्षमता यो विमानस्थलको हुनेछ ।

 

प्रकाशित: १४ जेष्ठ २०७५ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App