७ वैशाख २०८१ शुक्रबार
राजनीति

छुट्याइएको बजेट सांसदलाई दिन माग

सुर्खेत– कर्णाली प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा छुट्याइएको बजेट उपलब्ध गराउन माग गरेका छन्। उनीहरुले बजेट पारित भएको एक महिना वित्दा पनि कार्यान्वयन हुन नसकेको भन्दै आ–आफ्नो क्षेत्रको बजेट सांसदहरुलाई दिन माग गरे। 

‘चुनावका बेला जनतालाई धेरै आश्वासन दिएका थियौं, ति आश्वासन पूरा गर्नका लागि बजेटको आवश्यकता छ’ जुम्लाका सांसद पदमबहादुर रोकायले भने, ‘चालू आर्थिक वर्षका लागि निर्वाचन क्षेत्रमा छुट्याइएको बजेट हामीहरुलाई उपलब्ध गराउन सरकारसँग माग गर्दछु।’ उनले जिल्ला र निर्वाचन क्षेत्रमा जान पनि लाज लाग्न थालेको सुनाए। ‘गाउँमा गयो, के विकासका योजना ल्याएर आयौं भन्छन्, सरकार बजेट ल्याउँछ कार्यान्वयन गर्दैन्’ उनले भने, ‘आ–आफ्नो निर्वाचन क्षेत्रको बजेट सांसदलाई दिनुहोस् कार्यान्वयन गरेर आउँछौं।’

सांसद रातो कामीले कर्णाली सरकारले ल्याएको बजेट औशी र पूर्णिमा जस्तो भएको बताए। ‘संसदबाट हामीले बजेट पारित गरिदियौं, सरकारले त्यसलाई कार्यान्वयन गर्न सक्दैन्’ उनले भने, ‘बजेट आउँदा पूर्णिमा जस्तो थियो, अहिले औशीको रातजस्तो भएको छ।’ उनले कार्यान्वयन गर्न नसक्ने बजेट किन ल्याएको भन्दै सरकारलाई प्रश्न पनि गरे।

सांसद पद्मा खड्काले संसदमा उठाएका सार्वजनिक महत्वका विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै आलोचना गरिन्। ‘यसले संसदको गरिमा घट्दै गएको छ’, उनले भनिन्, ‘सभामुखमार्फत सरकारलाई सार्वजनिक महत्वका विषय सम्बोधन गर्न अनुरोध गर्दछु।’ उनले संसदको पहिलो बैठकबाट सुर्खेतका बाढीपीडितहरुको समस्याका बारेमा पटक–पटक संसदमा कुरा उठाएपनि त्यसको सम्बोधन हुन नसकेको बताइन्।

सांसद दानसिंह परियारले बजेट कार्यान्वयन हुन नसक्दा जनताको आशा निराशामा परिणत हुँदै गएको बताए। संसदको विशेष समयमा सांसदहरु दिनबन्धु श्रेष्ठ, अम्मरबहादुर थापा, विन्दमान विष्टलगायतका सांसदले बोलेका थिए।

प्रकाशित: १३ जेष्ठ २०७५ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App