के हो मलमास? सहवासमाथि किन बन्देज?

आइतबार, १३ जेठ २०७५, १७ : ४२ नागरिक

काठमाडौं– यसवर्ष जेठ महिनामा मलमास परेकाले नवविवाहित जोडीहरुको हनिमुन योजना रोकिएको छ । वैदिक मान्यता अनुसार मलमासलाई अशुद्ध महिनाको रूपमा हेरिन्छ । मलमासका समयमा शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ । नवविवाहित जोडीहरु यस अवधिभर सँगै बस्न र सुत्न हुँदैन।यो वर्ष जेठ १ गतेदेखि ३० गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ ।

कलाकार हनिमुन मनाउन हतार गर्छन् । तपाईंहरु त अन्तर्वार्तामै व्यस्त हुनुहुन्छ । बिहेअगाडि नै हनिमुन मनाइसक्नु भएको थियो कि क्या हो ?
छैन । बिहे पछि घुम्न जाने योजना थियो । बिहे गरेको ४ दिनमै मलमास लाग्यो । उनी लमजुङ, म गोरखा । अब चाँडै कतै जाने प्लान बनाउँदै छौँ ।

के हो मलमास?

एक वर्षमा कुल ३६५ दिन र १२ महिना हुन्छ । सूर्यको गतिअनुसार गणना गरिने मासलाई  सौरमास भनिन्छ भने चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा सक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ । चन्द्रमासमा एक पूणिर्मादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणना अनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छन् । चन्द्रमास अनुसार ३५४ दिनमात्र हुन्छ । चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्छ । यसरी झन्डै साढे दुई वर्ष भन्दा बढि अर्थात् ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रूपमा रहन्छ । ज्योतिष शास्त्र अनुसार १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यसको अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । यस अनुसार हरेक ३२ महिना १६ दिन वितेपछि मलमास सुरु हुन्छ। साधारणतया ३२ महिना १६ दिन पछि मलमास हुन्छ । तर महिना भने फरक हुन्छ । १९ वर्षपछि त्यही महिना, त्यही दिनमा आउँछ।

मलमासमा शुभकार्य गर्नु हुँदैन र यो कालमा साइत पनि हुँदैनन् । त्यसैले महिनाभर विवाह, व्रतबन्ध जस्ता शुभकार्य गरिँदैन । दैनिक रूपमा गरिने स्नान, ध्यान, सन्ध्या, काज किरिया गर्न छेकथुन हुँदैन भनेका छन् । विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने विश्वास छ । त्यसैले नवविवाहिताले मलमास वार्ने गर्छन् । मलमासको समयमा नवविवाहित जोडीहरु अलग बस्नुपर्ने र गर्भधारण गर्न नहुने मान्यता छ । यस अवधिको गर्भधारणबाट भएको बच्चा राम्रो हुँदैन भन्ने मान्यता छ । मलमासको बेलामा गर्भ रह्यो भने बच्चा त जन्मिन्छ तर, त्यो बच्चाको भविष्य रेखा थाहा नहुने ज्योतिषीहरुको भनाई छ । यस अवधिको चिना मिलाउन गाह्रो हुन्छ । तर अहिलेको आधुनिक समयमा गर्भधारण बाहेको सहवास कायम गर्न हुने वा नहुने बारे शास्त्रमा कुनै उल्लेख छैन।

‘मलमासले हनिमुन मनाउन पाइएन’

हास्य सिरियलमा परिचित मरिचमान श्रेष्ठ एक्लोबाट दुक्लो भए वैशाखमा । गोरखा निवासी उनले जम्प हानेर लम्जुङ पुगे ससुराली बनाउन । १० कक्षा पढ्दै गरेकी किशोरी करुणा खड्काको मन कब्जा गरेका उनले उनै किशोरी वयस्क भएपछि विवाह गरे उनले । यी जोडीको दैनिकी कस्तो चल्दैछ अहिले, भोला अधिकारीले दुवै नवदुलाहा–दुलहीसँग गरेको अन्तरंग संवाद ।

बिहे गरियो है !
अँ गरियो ।

६–६ वर्षसम्म कसरी लुकाउनु भयो प्रेम सम्बन्ध ?
घर परिवारलाई त थाहा थियो ।

तपाई गोर्खाको, श्रीमती लम्जुङकी । जोडी कसरी जुर्यो ?
म लमजुङ जिल्लामा कार्यक्रमका लागि गएको थिएँ । त्यहाँ निकै दिन बसियो । स्कुल पढ्दै गरेकी एक युवती मन पर्यो तर प्रेम नै हुन्छ भन्ने चैँ थिएन ।

करुणाजीलाई पनि सोधौं है ! झट्ट हेर्दा ‘बल्छी धुर्बे’ वाह भनिहाल्नुपर्ने खालका छैनन् । पहिला देख्दा कस्तो लागेको थियो ?
त्यस्तो केही लागेन । कार्यक्रमका लागि लमजुङ आएको बेलामा छिमेकी पर्ने दाइले ‘उहाँ बल्छी धुर्बे’ भनेर चिनाउनु भएको थियो । मान्छे कालो–कालो ।  प्रेम सम्बन्ध नै होला भन्ने त लागेकै थिएन । फोन नम्बर थियो । बिस्तारै कुराकानी हुन थाल्यो । एसएलसी सकिएपछि काठमाडौँ आउनु नै थियो । उहाँले पनि काठमाडौँ आउन फोर्स गर्नुभयो । पढ्नलाई यतै आएँ । यतै आएपछि बिस्तारै माया–पिरती गाँसियो ।

पहिला काले–काले लागेको व्यक्तिसँग मन चैँ कसरी साटियो त ?
काठमाडौं आएपछि उहाँबारे जान्ने मौका पाएँ । उहाँ जस्तो हो, त्यस्तै देखिनुहुन्छ । त्यही सरल व्यवहारले मन लोभ्यायो भनौं ।

बल्छीजी, समाज आधुनिक देखिए पनि व्यवहारमा त अझै कठिन छ । तपाई नेवारी समुदायको, करुणाजी क्षत्री समुदायको । सहजै विवाह भयो कि पापड बेल्नुपर्यो?
हामी भागेर विवाह गर्ने पक्षमा थिएनौं । परिवारले मान्छ भन्ने नै थियो । तर परिवारलाई हुन्छ भन्ने बनाउन एउटा युद्ध जित्न जति सकस हुन्छ त्यस्तै भयो नि ! विवाहका लागि मनाउन मात्रै डेढ वर्ष लाग्यो । अहिलेका ससुरा बासँग विवाहको कुरा गर्न गएको, सिरियलमा हेरेको टाटेपाटे कपडा लगाएर हिँड्ने बल्छी धुर्बे भनेर पत्याउनु नै भएन ।

अनि तपाईंको घरमा चैँ सहमति थियो त ?
कहाँ हुनु ? उस्तै त हो । बुबाले ए नेवारको छोरो भएर क्षत्रिनी बिहे गर्ने ? त्यसलाई ठीक नपारी भनेर थर्काउनुसम्म थर्काउनुभयो नि !

करुणाजीको घरको प्रतिक्रिया के थियो ?
आमाबाबुलाई छोरी राम्रो जागिर खाएको केटो होस् भन्ने त लागिहाल्छ । अलिक धेरै पढेको हेन्डसम होस् भन्नुहुन्थ्यो । त्यसमा पनि हाम्रो परिवारमा अन्तर्जातीय विवाह गर्ने कोही थिएनन् । त्यसैले त मनाउन समय लाग्यो ।

अनि कसरी माने त दुवैको परिवार ?
उता करुणाको बैनीले फकाइन्, यता मेरा दाइले फकाउनुभयो । जति गरे पनि यी मान्ने रहेनछन् भनेपछि दुवैतिरको परिवार सहमतिमा आयो । अनि झ्याइँ पारिहालियो नि !

करुणाजीलाई प्रेम सम्बन्ध हुनुअगाडि ‘बल्छी धुर्बे’ विजातीय हुन् भन्ने थाहा थिएन ?
हो कि झैँ लागेको थियो तर नेवार नै हुन् भन्ने चैँ लागेको थिएन । टेलिफिल्ममा नाम मात्र आउँथ्यो थर आउँदैनथ्यो । हाउभाउ देख्दा माझी हुन् कि जस्तो लागेको थियो तर नेवार हुनुहुँदोरहेछ ।

अपरिचित घरमा बुहारी भएर जाँदा कस्तो फिल हुने रहेछ त ?
मनमा अलिक डर–डर, कस्तो–कस्तो लागेको थियो तर गोरखाको घर पुगेपछि विवाह गरेझैँ फिल नै भएन । आफ्नै परिवारको सदस्यझैँ व्यवहार गरेपछि विजातीय परिवारमा बुहारी बनेर आएको छु भन्ने अनुभव नै भएन ।

कलाकार हनिमुन मनाउन हतार गर्छन् । तपाईंहरु त अन्तर्वार्तामै व्यस्त हुनुहुन्छ । बिहेअगाडि नै हनिमुन मनाइसक्नु भएको थियो कि क्या हो ?
छैन । बिहे पछि घुम्न जाने योजना थियो । बिहे गरेको ४ दिनमै मलमास लाग्यो । उनी लमजुङ, म गोरखा । अब चाँडै कतै जाने प्लान बनाउँदै छौँ ।

मरिचमानजी, उमेर ढल्किएपछि विवाह गर्नुभयो । अलिक ढिला भएन र ?
म अहिले करिब ३१ वर्ष पुगेँ तर उनी भर्खर २२ वर्ष पुग्दैछिन् । नेपालमा विवाह गर्ने उमेरअनुसार मेरो हकमा ढिलै भएको हो । उनलाई बिहे गर्न चाहिँ अलिक छिटो भो ।

कलाकार मान्छे । फ्यान पनि राम्रै छन् । करुणाबाहेक अन्यले आइलभयु भनेनन् ?
किन नभन्नु ? किसै खाएका छन् नि ! आँबुखैरेनीमा कार्यक्रमका लागि गएको थिएँ । स्टेज पछाडिबाट केटीहरुको एक हुलले बोलाए । किन भनेर गएको त उनीहरुले हामी तपाईंलाई किस गर्र्न आएको भनेर च्याप्प समातेर किस खाइदिए । धरानको कार्यक्रममा जाँदा पनि त्यस्तै भयो । मैले यो कुरा करुणालाई सुनाएँ । गाली गर्छिन् होला भनेको त हाँसिन् पो !

विवाहअगाडि दैनिक रिर्पोटिङ हुन्थ्यो कि ?
प्रायः सुनाउँथे ।  मनका कुरा राख्दैनथेँ । उनले पनि सुनाउँथिन् ।

केही ढाँटेझैँ लाग्दैनथ्यो करुणाजी ?
लाग्दैनथ्यो । उहाँ मनको सफा मान्छे हो । उहाँको सफा मन देखेरै मन पराएको हो मैले । त्यस्तो ढाँट्ने मान्छे भएको भए कार्यक्रममा जाँदा अरु केटीले किस खाए भनेर किन भन्नुहुन्थ्यो होला र !

प्रेमीप्रेमिकाहुँदा कत्तिको झगडा पर्थ्यो?
झगडा त पर्थो नि ! तर धेरै लामो समयसम्म पर्दैनथ्यो ।  

झगडा भएपछि कसले पहिला फकाउँथ्यो ?
(करुणा अगाडि सरिन्) रिसाए पछि मैले नै बोलाउने हो । रिसाउने भनेको २÷४ घण्टासम्म मात्रै हो । म मनमा रिस लिएर बस्नै सक्दिनँ । उहाँ रिसाएपछि बोल्दै नबोल्ने । फोन गर्दा उठाउँदै नउठाउने ! नउठाएपछि मैले मोबाइलमा म्यासेज गर्थें । यति लामो म्यासेज गर्दा उहाँले पठाउने भनेको रिप्लाईमा ए, बि भनेर रिप्लाई आउँथ्यो ।

फोन नउठाउँदा तनाब हुन्थ्यो होला है ?
फोन नउठाउँदा तनाब त भइहाल्छ नि ! तर फकाउन त म माहिर थिएँ । धेरै समयसम्म हाम्रो रिस रहँदैनथ्यो ।

करुणाजी राम्री हुनुहुन्छ, उहाँबाहेक अरुको पनि प्रेम प्रस्ताव आए होलान् नि ?
प्रेम प्रस्ताव त्यस्तो विधि आएन तर सिधै बिहेको प्रस्ताव भने आएका थिए । काठमाडौंमा हुँदा कतै जाँदा उहाँ (मरिचमान)ले नै लैजानुहुन्थ्यो । धेरैले बल्छी धुर्बेसँग यसको लभ परेको छ भन्थे । घरमा बिहेको प्रस्ताव आइरहन्थ्यो ।

करुणाजी, अफेयर्सको समयमा कत्तिको गिफ्ट आदानप्रदान हुन्थ्यो ?
उहाँ दुबई कार्यक्रममा गएर आउँदा मलाई एउटा सानो पर्स ल्याइदिनु भएको थियो । मैले लाफिङ बुद्ध उपहार दिएकी थिएँ । त्यही हो गिफ्ट ।

के हो ममिरचमानजी यो त पुरानो शैलीको प्रेम भएन र भन्या ?
हाम्रो माया प्रेम ९० सालको जस्तै हो । उनको जन्मदिनमा म कार्यक्रममा हुन्थेँ । कहिले कता पुग्ने कहिले कता पुग्ने । कहिलै त्यो गिफ्ट दिने–लिने नै भएन ।

अब तपाई कलाकारितामा हुनुहुन्छ ? धेरै कलाकारले श्रीमतीलाई कलाकार बनाउने गरेका छन् ? श्रीमतीलाई पनि आफ्नै क्षेत्रमा ल्याउने कि बल्छीजी !
उनी शिक्षिका हुन् । मलाई शिक्षिका मन पर्छन् । उनी कलाकारितामा आउँदा पनि आउँदिनन् ।

करुणाजी, कलाकार बन्ने इच्छा छैन र ?
त्यस्तो सोच छैन । शिक्षिकाको पेसा नै ठीक लाग्छ । श्रीमान् कलाकार हुँदैमा श्रीमती पनि कलाकार हुनुपर्छ भन्ने छैन । म अहिले पढ्दै पनि छु, स्कुलमा पढाउँदै पनि छु । भोलिका दिनमा व्यापार गर्ने सोच छ ।

बिहे प्रसंगमा नै जोड्न चाहेँ, करुणाजीले कतै बच्चाबच्ची ११ जना पाउने लक्ष्य छ भन्नुभएको थियो । फुटबल टिम नै बनाउने हो त ?
हा...हा...हा....मैले ११ जना भनेको होइन । १,२ जना भनेको हुँ । उहाँले जिस्केर ११ जना भन्नु भएको हो । त्यत्रो त कसरी पाउनु ?   

अभिनयसँगै लेखन, निर्देशन अनि म्युजिकतिर पनि सक्रिय हुनुहुन्छ । कसरी मिल्छ समय, बल्छीजी ?
भने जस्तो सजिलो त कहाँ हुन्छ र ! तर जहाँ इच्छा, त्यहाँ उपाय । सिरियलमा हरेक हप्ता हँसाउने क्रिएसन चाहियो । हँसाउने शब्दहरु लेख्नु पर्थ्यो । लेखेर मात्रै भएन, निर्देशनको कुरा छ । हरेक हप्ता आधा घण्टा कार्यक्रम बनाएर टेलिभिजनलाई दिनुपर्छ । कहिलेकाहीँ त फलामै चपाएझैँ हुन्छ ।

विवाह पनि २ पटक भयो रे हैन ?
 खड्का परिवारको आफ्नै संस्कार, हामी नेवारको अर्कै । त्यसैले २ पटक विवाह भयो । पहिलो खड्का परिवारको रीतिअनुसार विवाह भयो । त्यसको केही दिनपछि नेवार परम्पराअनुसार फेरि विवाह भयो ।

अबको योजना के छ ?
म र राजु पौडेल (राजु मास्टर) दुवै जना फिल्मको स्क्रिप्टमा काम गरिरहेका छौँ ।

ए फिल्म बनाउने अब ? कस्तो ?

कमेडी नै हो ।

तपाईंहरु नै फिल्मको हिरोमा देखिने होला ?
अब हिरो बन्न अग्लो हुने राम्रो कद परेको हुनुपर्छ भन्ने छैन । स्टोरी राम्रो हुनुप¥यो । अभिनय दमदार हुनुप¥यो । फिल्म चल्न गाह्रो हुँदैन । काठमाडौँका मान्छेलाई हास्न कहाँ फुर्सद छ र ? राम्रो फिल्म सिरियल बनाइयो भने उहाँहरु हाँस्न सक्नुहुन्छ ।अन्तर्वार्ता अंश शुक्रवार साप्ताहिकबाट








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad