८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तानको आम निर्वाचन जुलाइ २५ मा

इस्लामावाद – पाकिस्तानमा जुलाइ २५ मा आम निर्वाचन हुने भएको छ। 

पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन्। 

पाकिस्तानको निर्वाचन आयोगले जुलाई २५ देखि जुलाई २७ सम्म तीन दिनमध्ये एक दिन निर्वाचन गर्न प्रस्ताव गरेको थियो। 

आमनिर्वाचन तोकिएकै दिन चार प्रान्तका प्रान्तीय सांसदका लागि पनि निर्वाचन हुने तय भएको अधिकारीहरुले जनाएका छन्। 

वर्तमान सरकारको कार्यकाल यही मे ३१ मा पूरा हुने भएकाले नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो। 

निर्वाचन आयोगले आमनिर्वाचन गराउन आयोग पूर्ण रुपमा तयार रहेको जनाएको छ भने राजनीतिक दलहरुले पनि निर्वाचनको प्रचार प्रसार सुरु गरेका छन्। 

आफ्नो पार्टीले जित्ने इमरानको विश्वास 

यसैबीच पाकिस्तानका पूर्व क्रिकेट स्टारसमेत रहेका एक पार्टीका नेता इमरान खानले आगामी आमनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने विश्वास व्यक्त गरेका छन्। 

मुलुकमा भइरहेको भ्रष्टाचार र बेथितीका विरुद्धमा आफ्नो पार्टी उभिएकाले जनताले विजयी गराउने उनले आइतबार बताए। 

निर्वाचनले अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वप्रधानमन्त्री नवाज सरिफका साथैअरु पनि मुलुकका लागि तनावको विषय बनेका नेताहरुलाई पनि पाखा लगाउने उनको भनाई छ । 

आफूले अरु दलले भन्दा पहिले नै प्रचारप्रसार अभियान सुरु गरेको जानकारी पनि उनले दिए। 

प्रकाशित: १३ जेष्ठ २०७५ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App