७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग तोकिएको मिति मै वार्ता हुन्छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ। 

आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गरेका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको बताएका हुन्। 

शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसँग उनले भने– हामी पूर्व निर्धारित मितिमै वार्ता गर्ने पक्षमा छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ । 

उत्तर कोरियासँगको शिखर वार्ता समयमै हुन्छ, यसका लागि हामीले वार्ताको माध्यमबाट धेरै नै प्रगति गरेका छौँ, मलाई लाग्छ हाम्रो र उत्तर कोरियाको तर्फबाट पनि अभूतपूर्व रुपमा प्रगति जारी रहेको छ। 

उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मात्र बताएका थिए। 

तर समाचारमा आएजस्तै फेरि उक्त वार्ता समयमै सम्पन्न गर्नेगरी परिस्थिति अघि बढेको बताएपछि भने पुनः कोरियाली प्रायद्वीपमा शान्तिको आशा जागेको बताइएको छ। 

सो सिंगापुर शिखर वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरियाले आफू दुःखी भएको बताएको थियो। 

साथै राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त भएलगत्तै नै उत्तरका नेता किमले आफू अमेरिकासँग वार्ताका लागि जुनसुकै समय पनि तयार रहेको प्रतिक्रिया दिएका थिए। 

कोरियाली वार्ताले सहमति भयो 

उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्को मिति तोक्ने तयारीमा लागिरहेको बताएको थियो । 

यी दुई देशबीचमा पनि मन्त्रिस्तरको बैठक स्थगित भएको र उता अमेरिकाले पनि सिंगापुर वार्तामा बस्न नसक्ने जानकारी गराएकोले त्यसको मध्यस्थतास्वरुप भूमिका निर्वाह गर्ने काम दक्षिण कोरियाले गरेको बताइएको थियो। 

अमेरिकाले एकतर्फी रुपमा वार्ता स्थगित गरेपनि अहिलेसम्म यी दुई देशबीच विकसित सकारात्मक वातावरणलाई कायमै राखिराख्न उत्तर कोरियालाई सम्पर्कमै राख्ने नीति दक्षिण कोरियाले लिएको हो। 

यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको एक गाउँ पानुमजोममा भेट भएको हो। 

यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन्। उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ। 

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरुलाई जारी राख्ने सहमति भएको जनाएको छ। 

उनीहरुको भेटवार्ताका क्रममा गत अप्रिल २७ मा भएको पानमुनजोम शान्ति सम्झौताकोे कार्यान्वयनबारे एक आपसमा विचार विमर्श र अनुभव आदानप्रदान भएको समाचारमा जनाइएको थियो। 

उनीहरूले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिंगापुर शिखर वर्तालाई कसरी सफल पार्ने भन्ने विषयमा समेत छलफल गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ। 

शनिबारको उक्त शिखर बैठकमा भएका सहमति र कुराकानीका बारेमा स्थानीयलाई आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको थियो। सोही बमोजिम नै यी सहमतिका कार्यक्रमहरु आएका हुन्। 

अमेरिकाले सिंगापुर वार्तामा नबस्ने भनी अकस्मात उत्तर कोरियालाई पत्र लेखेपछि उत्तर र दक्षिणका नेताकाबीचमा यो भेटवार्ता भएको थियो। 

त्यस क्रममा उत्तरका नेताले आफू अमेरिकासँग जुनसकै समय र स्थानमा पनि वार्ता गर्न तयार रहेको जानकारी गराएपछि त्यो कुरा दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयमार्फत अमेरिकालाई जानकारी गराइएको छ। 

यस उच्च बैठकपछि पुनः अमेरिका निर्धारित मितिमै वार्ता गर्न तयार भएको समाचार आएको अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित: १३ जेष्ठ २०७५ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App