४ वैशाख २०८१ मंगलबार
अर्थ

सय दिनमा पर्यटन मन्त्रालयको ९५ प्रतिशत कार्यप्रगति

काठमाडौं - सरकार गठनको सय दिन पुगेको अवसरमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले यस अवधिमा आफ्नो मन्त्रालयमातहत भएका कामको प्रगति सार्वजनिक गरेका छन्।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक जाम हटाउन र व्यवस्थापन सुधार गर्न कार्यभार सम्हालेदेखि नै मन्त्री अधिकारी लागिपरेका थिए। त्यसैअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न थालिएको, यहाँको चाप घटाउन काभ्रेको नागिडाँडामा वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गर्न प्रारम्भिक कार्य सुरु गएिको, त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय टर्मिनल भवनमा चारवटै ब्यागेज बेल्ट सञ्चालन र सेन्ट्रल एयर कन्डिसन जडान गरिएको तथा आन्तरिकतर्फ नयाँ कुर्सी राखिएको अधिकारीले जानकारी दिए।

मन्त्री अधिकारीका अनुसार निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गराइएको छ । दक्षिण कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडब्लु) ले बुझाएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन सरकारले ग्रहण गरेको र सम्झौताबमोजिम उसलाई दायित्व भुक्तानी गर्न आवश्यक समन्वय भइरहेको छ।

त्यसैगरी गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, टर्मिनल भवनलगायत सिभिल निर्माण कार्यको प्रगति ३८ प्रतिशत पूरा भएको तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको ‘ढाँचा, समीक्षा तथा सुपरीवेक्षण परामर्शदाता’ नियुक्ति गरी काम सुरु भएको उनले जानकारी दिए।

‘वर्तमान सरकार गठनको सय दिनभित्र पर्यटन मन्त्रालयमातहत ९८ प्रतिशत कार्यप्रगति हुने अनुमान थियो,’ शुक्रबार सयदिने प्रगतिबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भने, ‘तर, ९५ प्रतिशत काम भएको छ। म आएको १५ दिनसम्म कर्मचारीले काममा खेलाँची गरे तर त्यसपछि भने अब मन्त्रीले छोड्दैनन् भन्ने थाहा पाएपछि द्रुत गतिमा काम गरेपछि यो सफलता हात लाग्यो।’

मन्त्रालयका अनुसार हवाई उड्डयन सुरक्षा सुदृढीकरणतर्फ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ‘ग्लोबल एभिएसन सेफ्टी प्लान’ मा आधारित भई ‘नेपाल एभिएसन सेफ्टी प्लान’ तर्जुमा भइरहेको, सन् २०१० देखि २०१७ भित्र भएका जहाज दुर्घटना जाँच प्रतिवेदनका सिफारिस विश्लेषण गरी कार्यान्वयन हुने क्रममा रहेको, ड्रोन उडान अनुमति सरलीकृत गरी समन्वयात्मक ढंगबाट उडान सञ्चालन गराउन कार्यविधि बनाइ कमिटी निर्माण भई काम भइरहेको तथा नेपालमा अन्तर्राष्ट्रिय वायुसेवा स्थापना तथा सञ्चालनका लागि इजाजत दिने मापदण्ड पुनरावलोकन प्रक्रियामा रहेको छ।

त्यसैगरी धनगढी विमानस्थलमा ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) लागू गरी रात्रिकालीन उडान–अवतरण तथा चन्द्रगढी विमानस्थलमा भिजिबिलिटी कम भएको अवस्थामा पनि उडान–अवतरण हुने गरी स्तरोन्नति गरिएको, सप्तरीको राजबिराज विमानस्थल, बाग्लुङको बलेवा र अछामको साँफेबगर विमानस्थल पुनः सञ्चालन गरिएको छ ।
नेपाल वायुसेवा निगमलाई थप ६ थान नयाँ ट्विनअटर जहाज खरिद गर्न व्यापारिक योजनासहितको प्रतिवेदन अन्तिम चरणमा पुगेको र त्यसपछि खरिद प्रक्रियामा जाने तथा निगमको ठूलो (वाइड बडी) आकारको जहाजलाई आवश्यक ह्यांगर त्रिभुवन विमानस्थलमा निर्माण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

‘हाम्रा योजनाहरू वस्तुनिष्ठ छैनन् । लागत र आवश्यकता अध्ययन गरेर कार्यान्वयन हुँदैनन्। प्राविधिक पक्ष झनै कमजोर छ र सिस्टम लम्बेतान छ,’ पर्यटन मन्त्री अधिकारीले भने, ‘त्यसबाहेक कर्मचारीमा यति अराजक मानसिकता छ कि जति भने पनि काम गर्दिनँ भन्छन्। त्यही भएर दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ । यति नगरेसम्म केही हुनेवाला छैन।’

मन्त्रालयका अनुसार ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि काम भइरहेको, हिमालयन ट्राभल मार्ट आयोजना हुन लागेको, कास्कीको नौडाँडामा एसियाकै पहिलो अपांगमैत्री पदयात्रा मार्ग सञ्चालनमा ल्याइएको, प्रदेश १ देखि ७ सम्म क्रमशः इलामको सन्दकपुर, धनुषाको धनुषाधाम, मकवानपुरको इन्द्रसरोवर, कास्कीको पञ्चासे, रुपन्देहीको देवदह, मुगुको रारा र कैलालीको भादागाउँलाई नमुना पर्यटन गन्तव्य बनाउन विस्तृत आयोजना प्रतिवेदनको प्रारम्भिक प्रतिवेदन प्राप्त भएका छन्।

त्यसैगरी पशुपति र लुम्बिनी क्षेत्र विकासदेखि संस्कृति प्रवद्र्धनका लागि विभिन्न काम भएका छन् भने क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा पनि उल्लेख्य काम पूरा भएको, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका सम्पदा संरक्षण, अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण, संग्रहालय निर्माण तथा व्यवस्थापन, पर्यटकीय तथ्यांक व्यवस्थापन र पर्यटन पूर्वाधार विकास, पर्यटन प्रवद्र्धनलगायतमा सय दिनमा आशालाग्दो कार्यप्रगति भएको मन्त्रालयको भनाइ छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App