७ वैशाख २०८१ शुक्रबार
समाज

सिँचाई आयोजनाको मुहान अतिक्रमण बढ्दै

टीकापुर – राष्ट्रिय गौरवको निर्माणाधिन रानी जमरा कुलरीया सिँचाई आयोजनाको मुहान क्षेत्र अतिक्रमण कार्य झन तिब्र बनेको छ। आयोजनाबाट मुआब्जा बुझेका व्यक्तिहरुले नै अतिक्रमण गरिरहेका छन्।

सो क्षेत्रमा धमाधम पक्की घर निर्माण भैरहेका छन्। उनीहरुले घर निर्माण गरेर व्यवशाय समेत सुरु गरिसकेका छन्। कतिपय व्यक्तिहरुले भने घर निर्माणका लागि मुहान क्षेत्र अतिक्रमण गरेर जग्गा ओगटेका छन्।

स्थानीय लोगबहादुर चलाउनेले मुहान क्षेत्र जाने बाटो अतिक्रमण गरेर घर निर्माण गरिरहेका छन्। उनले बाटोका लागि छुट्याइएको ३७ फिट चौडाई मध्ये १२ फिट कब्जा गरेको बताइएको छ।

मुहानको पश्चिम तर्फ आकाश लिगल र पदम भण्डारीले पक्की घर निर्माण गरेका छन्। उनीहरुले गतवर्ष नै घर निर्माण गरेर व्यवशाय समेत सुरु गरिसकेका छन्।

स्रोतका अनुसार लिगलले घर निर्माण गरिरहेको जमिन उनका भाई रवि लिगलले मुआब्जा बुझेको जग्गा हो। मुआब्जा बुझेका मध्येको ६० क्रमसंख्यामा उनको नाम छ। अहिले सो स्थानमा तीन तले घरको पिल्लर तयार भैसकेको छ।

त्यस्तै भण्डारीले घर निर्माण गरिरहेको जग्गा हरि बस्नेतले मुआब्जा बुझेको बताइएको छ। उनको नाम क्रमसंख्या ९१ मा छ। उनले मुआब्जा वाफत चारकोठे पक्की घरको साढे ६ लाख नगद र जग्गा समेत पाएका थिए।

आयोजना प्रमुख सुशीलचन्द्र आचार्यले मुहान क्षेत्र अतिक्रमण प्रमुख चुनौतीका रुपमा रहेको बताए। उनले पटक पटक सूचना जारी गर्दा पनि मुहान क्षेत्र अतिक्रमण गरेर बसेकाहरुले अटेर गर्दै आएको जानकारी दिए।

‘हामीले धेरै पटक सूचना जारी गरिसक्यौं तर सुनुवाई भएको छैन’ उनले भने, ‘नहरमा पानी सञ्चालन भएसँगै मुहान क्षेत्र अतिक्रमण हटाइनेछ।’ आयोजनाले स्थानीय तहसँगको सहकार्यमा मुहान क्षेत्र अतिक्रमण हटाउने बारेमा योजना बनाईरहेको छ। स्थानीय तहलेसमेत आयोजनालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

सिँचाई आयोजनाले मुहान क्षेत्रका मात्रै एक सय २ जनालाई मुआब्जा वितरण गरेको थियो। आयोजनाको मुहानदेखी बल्चौरसम्म दुई सय ४५ जनालाई दुई करोड ८३ लाख रुपैयाँ मुआब्जा बाँडेको थियो।

राष्ट्रिय गौरवको आयोजना वरिपरिको जग्गा अतिक्रमण हुनु दुःखद् भएको स्थानीयको भनाई छ। उनीहरुले आयोजनाको मुहान क्षेत्रको सुन्दरतामा समेत असर पार्ने बताए।

यो क्षेत्र राष्ट्रिय वन अन्र्तगतको जमिन हो। वि.सं. २०४९ सालतिर कर्णाली पुल निर्माण भएपछि यो क्षेत्रमा बसोबास बढ्दै गएको हो। सुरुवातमा खोका छाप्राबाट अतिक्रमण सुरु भएको थियो। अहिले सो क्षेत्रमा सुविधा सम्पन्न पक्की भवन निर्माण भएका छन्। सिँचाई आयोजना निर्माण सुरु भएपछि केही व्यक्तिहरुलाई मुआब्जा दिएर हटाइएको थियो।

कैलालीको पूर्वी क्षेत्रको ४० हजार हेक्टर भूभागमा सिँचाई सुविधा पु-याउने उद्देश्यले आयोजना निर्माण सुरु भएको हो। नेपाल सरकार, विश्व बैंक र स्थानीयको १२ अर्ब लगानीमा आयोजना निर्माण भइरहेको छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App