‘हो ! खर्पन बोक्ने मान्छे मै हुँ’

शनिबार, १२ जेठ २०७५, ०९ : १९ उपेन्द्र लामिछाने

झन्डै ३५ वर्षपहिले भक्तपुर इनाचोकका ध्रुव प्रजापति (७१) खर्पनको एकातिर छोरा र अर्कोतिर छोरी राखेर सुडालनजिकै खेतमा जाँदै थिए । खर्पनमा छोराछोरी बोकेर हिँडिरहेका उनी कसैको क्यामेरामा कैद भए । त्यसबेला न ध्रुवलाई क्यामेराको ‘क्लिक’ पत्तो थियो, न त खिच्ने व्यक्ति नै।

अपरिचितको क्यामेरामा कैद भएका प्रजापतिले गत वैशाखको पहिलो साता त्यो तस्बिर देखे । तन्नेरी बेला खर्पनमा दुईतिर छोराछोरी बोकेर हिँड्दै गरेको तस्बिर देखेर उनी अक्क न बक्क भए । आफूजस्तै देखिने मान्छे र आफ्ना छोराछोरीजस्तै देखिने केटाकेटीको तस्बिरले उनलाई नलोभ्याउने कुरै थिएन । तर, उनी तस्बिरप्रति लोभिएनन्, मात्र आफैँ हुँ कि होइन भनेर असमञ्जसमा परे।

आफू ४० वर्ष पनि नपुग्दै खिचिएको तस्बिरमा उनी तन्नेरी देखिन्थे । पुष्ट थिए गाला, जुन अहिले चाउरिइसकेका छन् । त्यसबेला अन्दाजी चार वर्षकी छोरी र दुई वर्षको छोरा नै अहिले ३९ र ३७ वर्षका भइसकेका छन् । तस्बिर हेरेपछि एकछिन निःशब्द बनेका उनी केही क्षणपछि भने मुसुक्क मुस्काए, चाउरिएको गाला खुम्च्याउँदै ।‘बोक्ने मान्छे मजस्तै हो,’ मुस्कानका साथ उनले भन्दै गर्दा आँखामा आँसु टिलपिलाएका थिए, ‘अनि खर्पनका नानी पनि मेरै बच्चाजस्ता लाग्छन् ।’ तस्बिरमा आफूलाई चिनेजस्तो गरे पनि प्रजापतिले तीन दशक अघिका आफ्ना छोराछोरीको अनुहार ठम्याउन सकेनन् । ‘म त अलमलमा परेको छु,’ उनले भने, ‘रमाइलो लागेको छ, अचम्म लागेको छ ।’
प्रजापतिको अन्योलले गर्दा पंक्तिकारले उनैलाई छाडिदियो तस्बिर ।

तस्बिर छाडेको दुई दिनपछि उनको घर पुग्दा पनि प्रजापतिले खर्पनमा बोकिएका बालकालिका को थिए भन्ने यकिन गर्न सकेनन् । तस्बिरमा देखिएको खर्पन बोक्ने व्यक्तिको नाक, आँखा, मुख र शरीर आफ्नैजस्तो लाग्थ्यो उनलाई । तर, मेरै तस्बिर हो भन्न डराइरहेका थिए । नानीहरूको लुगा र टोपी आफैँले लगाइदिए जस्तो लाग्थ्यो, तर आफ्नै छोराछोरी हुन् भन्न सकिरहेका थिएनन् ।एक साता बित्यो । टोलमा धेरैले तस्बिर नियाले । उनका छोरा, भतिजा, टोलका दाजुभाइदेखि आफन्तसम्म सबैले तस्बिरमा देखिएको पात्र उनी नै भएको बताए । त्यसपछि मात्र उनमा पनि आत्मविश्वास पलायो, अनि भने, ‘हो यो बोक्ने मान्छे मै हुँ ।’

उनकै टोलकी ७४ वर्षीया रत्नकुमारी सायजुले उनलाई युवावस्थादेखि नै देखेकी हुन् । उनले पनि तस्बिर नियालेपछि खर्पन बोक्ने व्यक्ति धु्रव नै रहेको ठम्याइन् । ‘यो धु्रव नै हो,’ उनले भनिन्, ‘हेर्नुस् न अहिले पनि उसको अनुहार फेरिएको छैन।’

छोराछोरी साना छँदा प्रजापति आफैँले हेरचाहको भार उठाउनुपरेको थियो । पत्नी पूर्णमाया बिरामी भएकाले उनले सानैदेखि केटाकेटीको हेरचाह गर्न थालेका हुन् । प्रजापतिका छोरा र छोरी जम्मा एक वर्ष चार महिनाको फरकमा जन्मिएका थिए । घरमा उनीहरूलाई हेरिदिने मान्छे नभएपछि उनी खेतमै लिएर जान्थे, दुवैलाई । ‘त्यही क्रममा कसैले खिचेछन्,’ उनले भने, ‘अहिले हेर्दा अचम्म लागेको छ।’

प्रजापति अझै पनि कहिलेकाहीँ खर्पन बोक्छन् । खेतमा काम गर्न जान्छन् । पहिलाजस्तो कडा श्रम गर्न त सक्दैनन्, तर उनलाई खेत र कामले तान्न छाडेको छैन । दुई छोरा र तीन छोरीका पिता उनी अझै पनि चक्र चलाउँछन् र माटाका पाला बनाउँछन् । ‘यही चक्रजस्तै फेरि त्यति बेलाको जीवनको याद घुमेर आयो,’ उनले भने, ‘जसले खिचेको भए पनि धन्यवाद ।’प्रजापतिले उसबेला छोरी अष्टकेशरी र छोरा सुमनलाई खर्पनमा राखेर घुमाउने गर्थे । ‘उनीहरू रमाउँदै खर्पनमा बस्थे,’ पुराना दिन सम्झँदै उनले भने, ‘म उनीहरूलाई खर्पनमा बोकेर खेतबारी डुलाउँथे ।’

कतिपटक त खेततर्फ लैजाँदै गर्दा नानीहरू खर्पनमै निदाउने गरेको अनुभव छ उनीसँग । निदाउने भएकाले उनी बाटोमा नानीहरूलाई बोलाउँदै लैजाने गर्थे । प्रजापतिको घरबाट खेतसम्म पुग्न एक घन्टाभन्दा बढी समय लाग्छ । ‘खर्पनमा छोराछोरी बोक्दा थकाइ त लाग्थ्यो नि,’ उनले भने, ‘केटाकेटी खुसी भएको देखेपछि भने त्यसै बिर्सन्थेँ ।’
खेतमा पुगेपछि छोराछोरीलाई भुइँमा सुताएर आफू काम गर्ने गर्थे उनी । अनि, फर्कने बेला फेरि खर्पनमै राखेर ल्याउँथे । ‘मैले मात्र हैन, त्यति बेला अरु किसानले पनि यस्तै गर्थे,’ उनले भने।

ऊबेला बाबुको काँधमा झुन्डिने खर्पनमा बसेर रमाउने अष्टमाया अहिले ३९ वर्षकी भइसकिन् । करिब एक दशकअघि उनको विवाह भयो, थिमीमा । त्यति मात्र होइन, अष्टमायाकी छोरी दीक्षा समेत ९ वर्षकी भइसकिन् । ‘मलाई यो फोटोले बालखकाल सम्झायो,’ उनले भनिन्, ‘आफूले आफूलाई ठ्याक्कै नचिने पनि यो फोटोमा छोरीको जस्तो अनुहार पो देखेँ ।’खर्पनमा अर्कोतिर रहेका अष्टमायाका भाइ सुमन भने अहिले राजधानीको एक इन्जिनियरिङ कलेजमा प्राविधिक छन् । उनी बाइक चढेर अफिस जान्छन् । उनका पनि ८ र १३ वर्षका सन्तान भइसकेका छन् । ‘हो, त्यति बेला खर्पनमा चढेर खेत जाने चलन थियो,’ उनले भने, ‘मैले पनि खर्पन त बोकेको छु, तर मेरा नानीहरूलाई खर्पनमा राखेको भने छैन ।’ उनी किशोरावस्थादेखि साइकल चढ्न थालेका थिए।

संस्कृतविद् तेजेश्वरबाबु ग्वंग पहिलेपहिले बालबालिका बोक्न खर्पन प्रयोग हुने गरेको बताउँछन् । ‘घर–खेत गर्दादेखि सहरबजार गर्दासम्म खर्पनमा नानी राखेर हिँड्ने थुप्रै किसान देखिन्थे,’ उनले भने, ‘खर्पन यातायातको साधनजस्तै थियो ।’बाल्यकालमा आफूले पनि खर्पन चढेको अनुभव उनले सुनाए । ‘२००३ देखि २००५ सालसम्म भक्तपुरबाट काठमाडौंसम्म खर्पनमा बसेर गएको अनुभव अझै ताजा छ,’ उनले भने, ‘एकातिर बहिनी र अर्कोतिर म बसेर खर्पन यात्रा गरेका छौँ ।’उनका अनुसार खर्पन विभिन्न प्रकारका हुन्छन् । प्रजापतिले छोराछोरी बोकेको खर्पनलाई भने नेवार भाषामा ‘ग कोल’ अर्थात् गहिरो खर्पन भन्ने गरिएको उनले बताए।

को हुन् तस्बिर खिच्ने ?
मलेरिया उन्मूलनका लागि अमेरिकी नियोग युएसएआइडीले नेपालमा सञ्चालन गरेको कार्यक्रमका लागि सन् १९६६ ताका नेपाल आएका डा. रिचर्ड एफ डारसाईले प्रजापतिको तस्बिर खिचेका रहेछन् । उनले यो तस्बिर लिएको डारसाईकै पुत्र रिचर्डले इमेलमार्फत पुष्टि गरेका हुन् । नागरिकसँगको इमेल संवादमा रिचर्डले आफ्ना पिताले नेपालको तराई क्षेत्रमा गएर औलोबारे अनुसन्धान गर्नुका साथै रोग उन्मूलनमा सहयोग गरेको बताए ।‘बुबाले नेपालमा रहेका बेला त्यो तस्बिर खिच्नुभएको हो,’ ७५ वर्षीय रिचर्डले इमेलमा लेखेका छन्, ‘त्यसबारे थप जानकारी भने मलाई छैन ।’ सन् १९१५ मा जन्मेका उनका बुबाको ९९ वर्षको उमेरमा निधन भइसकेको छ ।

यसरी खोजियो तस्बिरका पात्र
गत चैतको पहिलो साता पुरानो नेपालका तस्बिर खोज्ने क्रममा इन्टरनेटरमा भेटिएको यो फोटो भक्तपुरमा लिइएको भन्नेबाहेक थप जानकारी थिएन । भक्तपुर पर्यटन सूचना केन्द्रका कर्मचारी मुरज दिदियाले तस्बिरमा देखिएको हिमाल र ढिस्कोलाई अन्दाज गर्दै त्यसमा देखिएका व्यक्ति थिमीका हुन सक्ने अड्कल काटे।

त्यसपछि पंक्तिकार तस्बिर बोकेर थिमी पुग्यो । बालकुमारी मन्दिरमा रहेका बूढापाकालाई तस्बिर देखाउँदा सबैले चाख मानेर नियाले । एकजनाले भने, ‘यो लगाएको लुगाअनुसार यो मानिस भक्तपुरे नै हो । थिमीको मान्छेले कम्मरमा यसरी पटुका बाँध्ने चलन थिएन । तुना भएको दौरा सुरुवाल लगाउने पुरानो चलन थिमीमा पनि थियो । कम्मरको पटुकाले भक्तपुरेजस्तै लाग्छ ।’उनको कुरालाई विश्वास मानेर फर्किएको पंक्तिकारले अर्को दिन भक्तपुरका साथी सुरेश ताम्रकारलाई लिएर पात्रको खोजी गर्न थाल्यो ।

ताम्रकारले भने, ‘भक्तपुरमा कहाँ–कहाँ खोज्ने ? सुरुमा तस्बिरमा देखिएको लोकेसन खोजौँ ।’ तस्बिरमा हिमाल र सुडालतिरको डाँडा देखिन्थ्यो । लोकेसन नियाल्न हामी सूर्यविनायक र सिपाडोल क्षेत्रतर्फ लाग्यौँ ।
त्यता जाँदा बाटोमा पर्ने सबै क्षेत्रमा बूढापाका देख्नेबित्तिकै बाइकबाट ओर्लेर तस्बिर देखाउन थाल्यौँ । सबैले खुब चासो मानेर तस्बिर हेर्थे । नहेरून् पनि किन ? बालककालमा उनीहरू यसैगरी खर्पनमा यात्रा गरेका थिए, कतिपयले आफ्ना छोराछोरीलाई यसैगरी खर्पनमा बोकेर हिँडेका थिए।

‘यसरी त हामी पनि जान्थ्यौँ,’ ५४ वर्षीय भैलबहादुर बनमालाले भने, ‘हामी खर्पनमा चढ्यौँ पनि, नानीलाई बोक्यौँ पनि ।’
हामी जगातीबाट मास्तिर लाग्यौँ, पुरानो नेवार गाउँतर्फ । त्यहाँबाट हिमाल र पहाड प्रस्टै देखिन्थ्यो । त्यसैले हामीले यही क्षेत्रको तस्बिर हुनुपर्छ भन्ने अड्कल काट्यौँ । हामीले तस्बिरमा देखिएको डाँडा सम्भवतः सुडाल नगरकोटको हुनुपर्छ भन्ने ठानेका थियौँ।

त्यहाँबाट पंक्तिकारले हिमाल र पहाड आउने गरी तस्बिर लिएपछि भर्खरै खिचेको र पुरानो तस्बिरको लोकेसन मिलाउन कोसिस गरियो । पुरानो तस्बिरमा घरै थिएनन्, नयाँमा धेरै घर देखिए । पुरानोमा पिपलको बोट देखिन्थ्यो, नयाँमा देखिएन ।विगत ४५ वर्षदेखि त्यस क्षेत्रमा बस्दै आएका रिमाल थरका एक व्यक्तिलाई हामीले तस्बिर देखायौँ । उनले निकैबेर नियालेर मुस्कुराउँदै भने, ‘धेरै वर्षअघि यो मान्छेलाई मैले यसैगरी नानी बोकेर जाँदै गरेको अवस्थामा देखेको थिएँ, ऊ कहाँको हो चाहिँ थाहा भएन।’

तिनै व्यक्तिले जगातीतिर देखाउनु भनेपछि हामी लाग्यौँ त्यतै । जगाती नयाँ बस्ती जस्तो देखिन्थ्यो । पुराना घर मुस्किलले देखिए । बूढापाकालाई सोध्दा नियालेर हेर्थे, अनि मुन्टो हल्लाउँथे । नभेटिने सम्भावना बढ्दै गयो । हामी खाजा खाएर आराम गर्ने सोचमा पुग्यौँ ।खाजा खाएपछि हामी लाग्यौँ, सुडालतर्फ । हामी च्यामासिंह हुँदै त्यता जाँदै थियौँ । च्यामासिंह चोकमा दुईजना खर्पन बोकेर कुरा गर्दै थिए । सम्भवतः उनीहरू खेतबाट फर्कंदै थिए । हामीले बाइक रोक्यौँ, तस्बिर देखायौँ । तस्बिर देख्नेबित्तिकै एकको अनुहार उज्यालो भयो । उनले नेवारी भाषामा केही बोेले । सँगैका साथीले बुझे । सम्भवतः उनले चिने र लोकेसन देखाइदिए । तिनले ठानेका थिए, फोटोमा भएको व्यक्ति अर्जुन प्रजापति हुन् ।

तस्बिरमा दाजुभाइकै दाबी
हामी इनाचो पुग्यौँ । त्यहाँ मन्दिरमा काम गरिरहेका व्यक्तिले तस्बिर हेर्दा ध्रुव पनि त्यही रहेछन् । दाह्री पालेका उनलाई हामीले चिन्न सकेनौँ । उनले तस्बिर खुबै नियाले । हामी उनको दाइलाई खोज्दै थियौँ । ध्रुव पाँच भाइमा माहिला थिए । धु्रवका दाइ अर्जुनको घरमा पुग्यौँ । उनी घरको माथिल्लो तलामा बसेर पाला बनाउँदै थिए । तस्बिर हेर्नेबित्तिकै उनले मुस्कुराउँदै आफू नै हो कि भन्ने लख काटे ।

तर, उनकी श्रीमतीले होइन भनिन् । उनलाई तस्बिर छाडेर हामी आयौँ । केही दिनपछि भेटिएका उनका छोरा उज्ज्वलले भने तस्बिर हेर्नेबित्तिकै भने, ‘मेरो बुबा हैन काका ‐धु्रव) को हो,’ उनले भने, ‘पुरानो तस्बिर देखाएकामा धन्यवाद ।’तस्बिर ध्रुवको भन्ने त करिब–करिब पक्का भयो । तर, उनीहरू यकिन हुन सकिरहेका थिएनन् । त्यसैले तस्बिर छाडेर केही साता कुर्यौँ । ‘दाइ तस्बिर मेरो बुबाको होइन भनेर भन्ने कोही भएन,’ ध्रुवका कान्छा छोराले भने, ‘बुबाकै हो भने हुन्छ ।’ धु्रवका भान्जाले पनि आफ्नी आमालाई तस्बिर देखाए । आमाले धु्रव नै हो भनिन् । अन्ततः धु्रवले पनि तस्बिर आफ्नै भएको स्विकारे।

यसरी खिचियो पछिल्लो तस्बिर
पहिलो तस्बिरजस्तै गरी पछिल्लो तस्बिर खिच्ने सोच बनायौँ । फेरि ठूला भएका नानीहरूलाई खर्पनमा राख्न सम्भव थिएन । त्यसैले खर्पनसहित धु्रवको घरको छतमा पुग्यौँ । तस्बिरमा देखिएका पहाड देखिए । हिमाल बादलमा लुकेको थियो । हामीले धु्रवलाई खर्पन बोक्न दियौँ । उनको दुवैतिर अष्टकेशरी र सुमनलाई उभ्यायौँ ।त्यसको केहीबेरमा अष्टकेशरीकी छोरी दीक्षा र सुमनका छोरा कलश आए । खाली खर्पन देख्नेबित्तिकै रमाउँदै बसे । धु्रवको काँधमा खर्पनको नोल थियो । छोराछोरीले खर्पनको बोझ उचाले । ध्रुवले ३५ वर्षअगाडि छोराछोरीलाई बोकेजस्तै अहिले नाति–नातिनीलाई खर्पनमा उचाले र पुरानो तस्बिर फेरि एकपटक नियाले ।


 

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad