रिपोर्ताज

विदेशी भाषामा नेपाली पुस्तक

शनिबार, १२ जेठ २०७५, ०७ : ४५ शिक्षा रिसाल  | @RisalShiksha

विदेशी भाषामा प्रकाशित पुस्तकका पाठक नेपालमा बढ्दै गइरहेका छन् । तर, नेपाली भाषामा लेखिएका र प्रकाशित पुस्तकको भने विदेशी पाठक खासै पाइँदैन । यसको प्रमुख कारण हो, नेपाली पुस्तक अंग्रेजी र अन्य भाषामा खासै अनुवाद नहुनु । नेपाली भाषामा लेखिएर अन्य भाषामा अनुवाद भएका पुस्तक औँलामा गन्न सकिन्छ।

नेपाली पुस्तकको अनुवाद
पारिजातले लेखेको उपन्यास ‘शिरीषको फूल’ अंग्रेजी भाषामा अनुवाद भएर धेरै चर्चा भएको कृति हो । यो उपन्यास २०२२ सालमा पारिजात आफैँले प्रकाशन गरेकी थिइन् । २०२२ को मदन पुरस्कार प्राप्त गरेपछि यो कृति २०२४ र २०३८ मा पुनः प्रकाशित भयो । शिरीषको फूलको अंग्रेजी अनुवाद ‘दी ब्लु मिमोसा’ अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश छ।

सन् १९७० को दशकमा अंग्रेजीमा प्रकाशित यस कृतिको चलचित्र पनि बनेको छ । यस चलचित्रमा जगत राजथलाको निर्माण र जापानी नागरिक तोसी आकोइतोले निर्देशन रहेको छ ।नेपालीमै लेखिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य मुनामदन पनि अंग्रेजीमा अनुवाद भएको छ । झ्याउरे लयमा आधारित यो कृति सम्भवतः नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । महाकवि देवकोटाले आफ्नो मृत्युअघि ‘म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन नजलाउनू’ भनेका थिए भनेर सुन्दै आइएको छ।मुनामदनलाई दुई दशकअघि नै आनन्दप्रसाद श्रेष्ठ अंग्रेजीमा अनुवाद गरेका हुन् । जसलाई भारतको निराला प्रकाशनले ‘मुनामदन : अ प्ले इन दी झ्याउरे फोक ट्रेडिसन’ नाममा प्रकाशन गरेको हो।

इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ लाई ‘देयर इज अ कार्निभल टुडे’ नाममा मञ्जुश्री थापाले अंग्रेजी भाषामा अनुवाद गरेकी छन् । दार्जिलिङमा बसोबास गर्ने स्थानीय व्यापारी तथा नेता जनकमान योञ्जनको वरपर घुमेको यो उपन्यासलाई स्पिकिङ टाइगरले गत वर्ष अंग्रेजीमा प्रकाशन गरेको थियो ।सन् १९७३ मा नेपाली भाषामा प्रकाशित डायमन्ड शमशेरको ऐतिहासिक उपन्यास सेतो बाघ अंग्रेजीसँगै फ्रेन्च र जापानी भाषामा पनि अनुवाद भएको छ । नेपालको राणा शासनबारे लेखिएको यो उपन्यासलाई सन् १९९९ मा बालिका राणाले अंग्रेजी भाषामा अनुवाद गरेकी हुन्, ‘दी वाक् अफ दी ह्वाइट टाइगर’ नाममा ।

‘कुनै पनि साहित्य एउटा सांस्कृतिक पृष्ठभूमि र विशेष समयमा रचना गरिएको हुन्छ । अनुवादपछि त्यो एउटा पृष्ठभूमिबाट अर्कोमा जाने भएकाले भूगोललाई नजिक ल्याउन सघाउँछ ।

सीमित अनुवादक र गुणस्तर
प्राध्यापक तथा समालोचक अभि सुवेदी नेपाली साहित्य अन्य भाषामा अनुवादको प्रसंग आउँदा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सुरुमै सम्झिन्छन् । अभिका अनुसार देवकोटाले इन्द्रेणी पत्रिकामा आफ्नो मात्रै नभएर साथीहरूका कविता पनि अंगे्रजीमा अनुवाद गरी प्रकाशित गरेका थिए।

सुवेदीले आफ्ना एक साथीसँग मिलेर पारिजातको शिरीषको फूल अनुवाद गर्न चाहेका थिए । यसका लागि उनीहरूले पारिजात समितिसँग अनुमति पनि लिने प्रयास गरेका थिए । तर, उनीहरूले अनुमति पाएनन् । ‘पारिजातको शिरीषको फूल अंग्रेजी भाषामा अनुवाद भए पनि खासै राम्रो अनुवाद भएको छैन,’ उनको टिप्पणी छ । शिरीषको फूल मात्र नभई अरु अनुवाद पनि खासै चित्तबुझ्दो नभएको सुवेदी बताउँछन्।

‘पछिल्लो समय प्रेसहरूको संख्या बढ्दै गएको र मानिसको साक्षरता दर बढ्दै गएको भए पनि गुणस्तरीय अनुवाद भएका साहित्यको संख्या सीमित छ,’ उनी भन्छन्, ‘हुन त अहिले अनुवादको ज्वरो चलेको छ । अंग्रेजी वा अरु कुनै भाषामा अनुवाद हुँदैमा त्यो कृति निकै राम्रो भन्ने हुँदैन ।’सुवेदीका नाटक रुघा लाएको आकाश (केयर टेकर सिक्स गाय) र ठमेलको यात्रा (जर्नी इन ठमेल), अग्निको कथा (फायर इन दी मोनास्ट्री) लाई डा. संगीता रायमाझीले अंग्रेजी भाषामा अनुवाद गरेकी थिइन् । उनको अनुवाद आफूलाई चित्त बुझेको सुवेदी बताउँछन्।

‘रायमाझीले नै अनुवाद गरेको मसान पनि मेरा लागि चित्तबुझ्दो छ,’ उनले भने ।पत्रकार नारायण वाग्लेको पहिलो उपन्यास पल्पसा क्याफे अंग्रेजी मात्र नभई फ्रेन्च, कोरियन र सिंहाली भाषामा पनि अनुवाद भएको छ । २०६१ सालको मदन पुरस्कार पाउन सफल यो उपन्यासलाई विकास संग्रौलाले अंग्रेजीमा अनुवाद गरेका हुन्, जसलाई सन् २००८ मा नेपालयले प्रकाशन गरेको थियो । पल्पसा क्याफे अहिले नेपाली, अंग्रेजीसँगै कोरियन, फ्रेन्च र सिंहाली भाषामा पनि उपलब्ध छ।

अनुवादको महत्व
अनुवादित रचनाले एक भूगोलको संस्कृति अर्को भूगोलका मानिसलाई बुझ्न सघाउने लेखक वाग्ले बताउँछन् । ‘कुनै पनि साहित्य एउटा सांस्कृतिक पृष्ठभूमि र विशेष समयमा रचना गरिएको हुन्छ । अनुवादपछि त्यो एउटा पृष्ठभूमिबाट अर्कोमा जाने भएकाले भूगोललाई नजिक ल्याउन सघाउँछ,’ उनले भने ।नेपाली भाषामा लेखिएको आफ्नो उपन्यास चारवटा भाषामा अनुवाद हुँदा आफूले पाएको प्रतिक्रियाबाट सन्तुष्ट रहेको वाग्ले बताउँछन् । ‘मैले विभिन्न देशबाट जुन राम्रा–नराम्रा प्रतिक्रिया पाएको छु, त्यसबाट एकदम सन्तुष्ट छु ।

मेरो पुस्तक अनुवाद भएर अन्य भाषाका पाठकमाझ जाँदा नेपाली लेखन पनि यस्तो हुन्छ, नेपालको संस्कृति, इतिहास यस्तो रहेछ, कसरी लेख्नुभयो भन्ने जस्ता थुप्रै प्रतिक्रिया मैले पाएको छु,’ उनी भन्छन् ।सिंहाली भाषामा पल्पसा क्याफे अनुवाद भएपछि श्रीलंकामा गृहयुद्ध व्यहोरेका र देखेका अधिकांश पाठकले नेपालको कथालाई श्रीलंकाको कथासँग जोडेको प्रतिक्रिया पाएको वाग्ले बताउँछन् । ‘नेपाली कथाले श्रीलंकाको गृहयुद्धताकाको कथालाई प्रस्तुत गरेको छ । पात्रलाई चिनाएको छ भन्ने प्रतिक्रिया पाउँदा मन एकदमै आनन्दित भएको थियो,’ उनले भने।

कर्णाली ब्लुज र फिरफिरे गरी दुई उपन्यास बजारमा ल्याएका बुद्धिसागर साहित्य एउटा भाषाबाट अर्को भाषामा जानुलाई धेरै अर्थमा हेर्छन् । असल साहित्यले संसारको एउटा कुनाका मानिसको संवेदना अर्को कुनाका मानिससम्म पुर्याउने उनी बताउँछन् । ‘अनुवादले एउटा इतिहासलाई अर्को इतिहाससम्म र एउटा समयलाई अर्को समयसम्म पुर्याउँछ । धर्तीमा टुक्रा–टुक्रा, जत्था–जत्था भएर बाँचिरहेका मानिस वा समयलाई अनुवादले जोड्छ,’ उनको मत छ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सबैभन्दा पहिले राम्रो लेखन जरुरी भएको वाग्लेको बुझाइ छ । राम्रो कृतिका लागि विविधता बढाउनुपर्ने र कथाको प्रस्तुतिको शैलीमा नवीनता हुनुपर्ने उनको सल्लाह छ ।संसारभरमै अनुवादित पुस्तकको संख्या निकै कम भएको उनी बताउँछन् । त्यसमाथि, नेपालमा पूर्णकालीन पुस्तक अनुवादक हुनु खासै आकर्षक काम नभएकाले पनि अनुवाद कम भइरहेको उनी अनुमान गर्छन् । ‘अनुवादकलाई लेखकसरह प्रोत्साहन गरे प्रकाशक र अनुवादक पनि आकर्षित हुन्छन् । पूर्णकालीन वा अल्पकालीन भए पनि मूल्यांकन भएको अनुभव गर्छन्,’ उनले भने।

अन्तर्राष्ट्रिय स्तरमा बुकर प्राइज र म्यान बुकर इन्टरनेसनल प्राइजले अनुवादकलाई प्रेरणा दिने उनी बताउँछन् । म्यान बुकर इन्टरनेसनल प्राइज दिँदा अनुवादकलाई पुरस्कार राशिको ५० प्रतिशत दिइने उनी बताउँछन् । ‘हान काङको ‘भेजिटेरियन’ले म्यान बुकर इन्टरनेसनल प्राइज पायो । ब्रिटिस अनुवादकले पुरस्कारको राशिको ५० प्रतिशत पाए,’ उनले भने।

लेखक नयनराज पाण्डे नेपाली साहित्य अंग्रेजी र अन्य भाषामा अनुवाद हुनु निकै अर्थपूर्ण हुने बताउँछन् । ‘यसले नेपाली लेखनप्रति विश्वसाहित्य बजारको थोरै भए पनि ध्यानाकर्षण हुन्छ । र, नेपाली साहित्यले निरन्तर अनुवाद हुने अवसर पाइरहे नेपाली लेखकलाई अझ जिम्मेवारपूर्ण लेखनप्रति उन्मुख गराउँछ,’ उनले भने, ‘लेखकहरूलाई पनि नयाँ विषय, नयाँ शैली र नयाँ परिवेशका कुरा लेख्न उत्प्रेरणा दिन्छ ।’

संख्या कम, छैन बजार
नेपालबाहिर नेपाली साहित्यको बजार नभएको प्राध्यापक सुवेदी बताउँछन् । ‘भारतमा समेत हाम्रो साहित्यिक कृति बिक्री हुँदैन । कति कार्यक्रममा हामीले कुरा पनि राख्ने गरेका छौँ ।

कति प्रस्ताव राख्दा पनि हुन्छ–हुन्छ भन्ने आश्वासन मात्रै पाउँछौँ, तर केही हुँदैन,’ उनी भन्छन् । यो विषयलाई सबै सरोकारवाला, प्रज्ञा प्रतिष्ठान र सरकार मिलेर समाधान गर्नुपर्नेमा उनी जोड दिन्छन् ।अनुवाद मात्रै भएर नहुने र अनुवादको गुणस्तरसँगै त्यसलाई कसले प्रकाशित गरेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुने लेखक पाण्डे बताउँछन् ।‘अझै नेपाली लेखक र अनुवादकको शिल्प र क्षमताको परीक्षण हुन नसके पनि चाँडै नै अन्य भाषामा अनुवाद भएका नेपाली साहित्यले आफ्नो दरिलो उपस्थिति साबित गर्नेमा आशावादी छु,’ उनले भने।

नेपाली साहित्यको छिटफुट अनुवाद भए पनि तिनले नेपालबाहिर नेपाली साहित्यको पहिचान स्थापित गर्न खासै योगदान दिन नसकेको पाण्डे बताउँछन् । ‘अब भने त्यस दिशामा केही सार्थक काम हुन थालेजस्तो लागेको छ । महेश पौडेलले धरावासीको राधा अनुवाद गर्नुभएको छ । त्यसले विश्व बजारमा कस्तो असर पार्छ हेर्न बाँकी भए पनि अनुवादमा महेश पौडेल, दिनेश काफ्ले र विमल अधिकारीजस्ता युवाको आगमन पक्कै आशा जगाउने खालको छ,’ उनले भने ।

गुणस्तर आवश्यक
विश्व बजारमा नेपाली साहित्य जानुअघि नेपाली लेखनको स्तर नै बलियो हुनुपर्नेमा लेखकहरू जोड दिन्छन् । योसँगै असल अनुवादकले अनुवाद गरेर स्तरीय र असल प्रकाशकले प्रकाशन गर्नुपर्ने उनीहरू बताउँछन् । ‘बलियो लेखनको अनुवाद हुनुपर्छ । रहरको लेखन पनि हुनुभएन र अनुवाद पनि । असल कृतिको अनुवाद हुनुपर्छ,’ अब केही दिनमै आफ्नो उपन्यासको अंग्रेजी संस्करण बजारमा ल्याउन लागेका लेखक पाण्डेले भने ।अन्य भाषाबाट नेपाली भाषामा अनुवाद निकै भएको पाइन्छ । विदेशी भाषामा लेखिएर नेपाली भाषामा अनुवाद गरिएका कृति प्रशस्त छन्।

अनुवादको लामो परम्परा नेपाली भाषामा रहे पनि अनुवाद कर्म भने सधैँ कमजोर अवस्थामा रहेको बुद्धिसागरको अनुभव छ । ‘अनुवादले उल्लेख्य हस्तक्षेप गर्न सकेन । अहिले अनुवादमा काम भइरहेका छन्, तर डायमन्डशमशेर राणाको ‘सेतो बाघ’बाहेक अरु कृतिले महŒव स्थापना गर्न सकेजस्तो मलाई लाग्दैन,’ उनी भन्छन् ।नेपाली साहित्यको गुणस्तर कस्तो छ भन्ने मापन गर्न अनुवादले महत्वपूर्ण भूमिका खेल्ने बुद्धिसागरको बुझाइ छ । ‘केही नेपाली कृति अनुवाद भएर विश्व बजारमा जाने हो भने त्यसले आफ्नो स्तर स्थापित गर्न सक्छ,’ उनी भन्छन्, ‘नेपाली साहित्यको गुणस्तरलाई लिएर दुःखी हुनुपर्ने कारण भने देख्दिनँ।’

नेपाली कृतिको अन्य भाषामा भएको अनुवादको गुणस्तरबारे उनी टिप्पणी गर्न चाहँदैनन् । अरु भाषाबाट नेपालीमा अनुवाद भएर आएका कृतिको गुणस्तर भने राम्रो रहेको उनी बताउँछन् ।विश्वबजारमा नेपाली साहित्य पु¥याउने पहिलो सर्त नै अनुवाद हो । संसारभरि अंग्रेजी भाषाको प्रभाव भएकाले अंग्रेजीमा अनुवाद गर्नु सबैभन्दा उत्तम हुन्छ । बुद्धिसागर असल अनुवादसँगै विश्व बजारमा स्थापित प्रकाशनबाट कृति प्रकाशित हुनुपर्नेमा जोड दिन्छन् । त्यस्ता प्रकाशकले आफ्नो वितरण च्यानलको प्रयोग गर्ने भएकाले पुस्तकहरू ठूलो बजारमा जान सक्ने उनी बताउँछन्।

आफ्नो उपन्यास कर्णाली ब्लुजको अनुवादसँगै आफू उत्साहित भएको बुद्धिसागर बताउँछन् । अंग्रेजीमा कर्णाली ब्लुज प्रकाशन भएपछि भावनात्मक रूपमा धेरै सीमा तोडेर फरक संस्कृति, फरक भूगोल र फरक समुदायका पाठकलाई पनि जोड्ने उनको अपेक्षा छ । ‘लेखिरहेको कृति पनि भविष्यमा अनुवाद भयो भने विश्वबजारलाई कसरी जोड्छ भन्ने पनि ख्याल राखेको छु । यसले आफ्नै लेखनको गुणस्तर बढ्छ भन्ने आशा जागेको छ,’ उनले भने।लेखकहरू मात्र होइन, प्रकाशक पनि नेपाली कृतिको अन्य भाषामा अनुवाद हुँदा उत्साहित छन् । अनुवादले नेपाली समाज, संस्कृति, मौलिकता, इतिहास र राजनीतिक विषय संसारभरका पाठकले पढ्ने अवसर सिर्जना गर्नेमा उनीहरू सहमत छन्।

बुकहिल पब्लिकेसनका भुपेन्द्र खड्का अझै पनि नेपाली साहित्यको स्तर उकास्नुपर्नेमा जोड दिन्छन् । नेपाली लेखकको आख्यान लेखन राम्रो भए पनि गैरआख्यानमा अनुसन्धान र अध्ययन कम भएको उनको ठहर छ । नेपालमा पुस्तक सम्पादनको चलन खासै नभएकाले पनि कृति हुनुपर्ने जति गुणस्तरीय नभएको उनको बुझाइ छ ।बुकहिलले नेपालीमा प्रकाशन गरेको विश्व साइकलयात्री पुष्कर शाहको ‘संसारलाई साढे पाँच फन्को’को अंग्रेजी अनुवाद पेन्गुइन बुक्स इन्डियाले प्रकाशन गर्दै छ । त्यसबाहेक पनि अन्य केही पुस्तक अनुवादका क्रममा रहेको खड्का बताउँछन् । ‘निजी प्रकाशन गृहले अनुवाद गराएर अन्तर्राष्ट्रिय प्रकाशन गृहलाई दिँदा घाटा छ।

बजार बढ्न सक्ने ठाउँ छैन,’ उनले भने । नेपाली साहित्यलाई विश्वबजारमा पुर्याउन सरकारले नै अन्तर्राष्ट्रिय प्रकाशन गृह र सरोकारवालासँग समन्वय गरेर अन्य भाषामा अनुवाद हुने व्यवस्था मिलाउन जरुरी भएको उनको भनाइ छ ।सांग्रिला प्रकाशन गृहका मणि शर्मा अहिलेसम्म नेपाली साहित्य अनुवाद भएर विश्वबजारमा त्यति नपुगेकाले विश्वव्यापी दृश्यमा हाम्रो साहित्यको गुणस्तर मूल्यांकन गर्न गाह्रो भएको बताउँछन् । ‘तर, अनुवाद भएमा हाम्रा कृति दक्षिण एसियाली स्तरका छन्,’ शर्माले भने, ‘हामीकहाँ अनुवादक नै छैनन् भन्दा पनि हुन्छ ।

अनुवादक तयार गर्न संस्थागत रूपमै काम गर्नुपर्ने अवस्था छ । सायद त्यसपछि हामी हाम्रा राम्रा कृतिलाई विश्वबजारमा लिएर जान सक्छौँ कि ?’ शर्मा भन्छन् । आफूहरूले अहिले केही नेपाली कृतिलाई हिन्दी, बंगाली र अंग्रेजी भाषामा अनुवाद गरेर केही भारतीय प्रकाशन गृहसँगको सहकार्यमा प्रकाशन गर्न लागिपरेको उनी बताउँछन् ।नेपाली साहित्य खासै अनुवाद नभएको अन्य लेखक र प्रकाशकको भनाइसँग फाइनप्रिन्ट प्रकाशन गृहका अजित बराल पनि सहमत छन् । भएका अनुवादमा अधिकांशको स्तर पनि खासै अब्बल नभएको उनी बताउँछन् । ‘तर अंग्रेजीमा दख्खल राख्ने, राम्रो भाषा सम्पादन गर्ने क्षमता भएका अनुवादकले गरेको अनुवाद निकै राम्रा पनि छन्,’ उनले भने।

अनुवादका चुनौती पनि छन् । अंग्रेजी भाषामा दख्खल हुँदैमा मात्र अनुवादित साहित्य राम्रो नहुने बरालको तर्क छ । लेखकको शैली, भावलाई तल–माथि नपारी अनुवाद गर्नु कठिन काम भएको उनी बताउँछन् । ‘नराम्रो अनुवाद गरेर साहित्यलाई मार्नुभन्दा एकदम भाषामा पकड भएकाले अनुवाद गर्नुपर्छ । सँगसँगै, सम्पादन पक्ष पनि एकदमै बलियो हुनुपर्छ,’ उनी भन्छन् ।उलार, सेतो धर्ती, समृद्ध नेपालजस्ता पुस्तक अनुवाद गरिरहेको फाइनप्रिन्टका बराल विशुद्ध व्यापारिक दृष्टिकोणबाट प्रकाशकहरूले विभिन्न विदेशी सांस्कृतिक केन्द्रसँग सहकार्य गरी राम्रा कृतिको अनुवादलार्ई प्रवद्र्धन र प्रोत्साहन गर्नुपर्नेमा जोड दिन्छन् ।

 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad