७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘प्रदेशको दुई नम्बरी नाम हटाउनुस्’

फाइल फाेटाे

जनकपुरधाम– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको ‘दुई नम्बरी’ नाम छिट्टै परिवर्तन गर्न प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई आग्रह गरेका छन् । 

‘मानव विकास सूचकांकको आधारमा सबैभन्दा पछाडि रहेको प्रदेशको नामसमेत त्यही अनुसार हेपिएको जस्तो भयो’ शुक्रबार जनकपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै फोरम अध्यक्ष यादवले भने, ‘धेरै भयो, अब प्रदेशको नामाकरण गर्न ढिलाई नगर्नुस् ।’ उनले प्रदेशको नामाकरण गर्न आजै (शुक्रबार) बाट औपचारिक छलफल सुरु गर्न पनि प्रदेशसभालाई आग्रह गरे । 

प्रदेश नम्बर दुईको सफलतामा गणतान्त्रिक नेपालको भविष्य निर्भर रहेको उल्लेख गर्दै यादवले पूर्वी र पश्चिमी मधेशसँगै पहाडका जनजातिपनि यसै प्रदेश (प्रदेश नम्बर दुई) को मुख ताकेर बसेको बताए । ‘लामो संघर्षपछि प्राप्त भएको संघीयतालाई कार्यान्वयन गर्ने क्रममा आठ जिल्लालाई गाभेर प्रदेश दुई कायम गरिएको छ’ उनले थपे, ‘पश्चिम र पूर्वी मधेशका बासिन्दा अहिले पनि विभेदको सिकार भइरहेका छन् । यो प्रदेश सफल भए उहाँहरुले पनि सम्मानित भएको अनुभूति गर्नेछन् ।’

फोरम अध्यक्ष यादवले नेपाली संघीयताको परिभाषा दुनियाँको भन्दा भिन्न भएको टिप्पणी गर्दै संघ र प्रदेशको बीचमा स्थानीय तहलाई उचालेर प्रदेशको समानान्तर निकायको रुपमा कायम गरिएको जिकिर गरे । ‘संघीय प्रणालीमा प्रदेशको मातहतमा स्थानीय तह हुनुपर्ने हो’ उनले थपे, ‘संघीय प्रणालीलाई असफल पार्न अहिले पनि षडयन्त्र भइरहेको छ ।’ प्रदेश बलियो भए संघीयता मजबुत हुने उनको भनाई थियो।

प्रकाशित: ११ जेष्ठ २०७५ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App