८ वैशाख २०८१ शनिबार
अर्थ

राजबिराज विमानस्थल पुनः सञ्चालन

काठमाडौं – सरकारले नयाँ निर्माणसँगै कुनै समय चलेर बन्द रहेका विमानस्थल पुनः सञ्चालन गर्ने नीतिअनुरूप बिहीबारबाट सप्तरीको राजबिराज विमानस्थल सञ्चालनमा ल्याएको छ।

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले १७ वर्षपछि पुनः सञ्चालनमा आएको राजबिराज विमानस्थल बिहीबार उद्घाटन गर्दै बन्द रहेका पुराना विमानस्थललाई व्यावसायिक हिसाबमा सञ्चालनमा ल्याउने बताए।
राजबिराज विमानस्थलमा निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले क्यानडाको बम्बार्डियर कम्पनीमा उत्पादित ५० सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाजबाट बिहीबार उद्घाटन उडान गरेको छ। श्रीले बुधबार त्यहाँ सफल परीक्षण उडान गरेको थियो।

श्रीका प्रशिक्षक पाइलटद्वय प्रफूल्ल बैद्य र प्रज्ज्वल अधिकारीले उडाएको जहाजमा पर्यटन मन्त्री अधिकारी, पूर्वपर्यटन मन्त्री जीतेन्द्रनारायण देव, पर्यटन सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, उपमहानिर्देशक राजन पोखरेल, श्रीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुधिर मित्तलसहितको टोली राजबिराज विमानस्थल गएको थियो।

‘सञ्चालनमा नरहेको विमानस्थललाई व्यावसायिक हिसाबमा चलाउँदै जाने नीति लिएका छौं,’ विमानस्थल उद्घाटन गर्दै मन्त्री अधिकारीले भने, ‘नयाँ विमानस्थल निर्माण गरे पनि जहाज उडान–अवतरण नहुँदा राज्यको लगानी खेर जाने गरेको छ, त्यही भएर कुनै बेला सञ्चालनमा रहेर बन्द भएका विमानस्थलहरू पुनः व्यावसायिक हिसाबमा चलाउने नीति लिइएको हो।’

माओवादीको सशस्त्र द्वन्द्वका बेला बन्द भएको राजबिराज विमानस्थलमा श्रीले दैनिक एक उडान गर्ने योजना बनाएको यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक मित्तलले जानकारी दिए। ‘अब अधिकतम दुई साताभित्र राजबिराजका लागि व्यावसायिक उडान सञ्चालन गर्ने छौं। सुरुमा सातामा दुईदेखि तीन र विस्तारै दैनिक एक उडान गर्ने योजना बनाएका छौं।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले राजबिराज विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने गरी पुनर्निर्माण गर्न ३० करोड ३० लाख रुपैयाँ खर्च लागेको जानकारी दिए। ‘यहाँबाट व्यावसायिक उडान गर्न सबै वायुसेवा कम्पनीलाई आग्रह गर्छु,’ उनले भने।

गौतमका अनुसार राजबिराज विमानस्थल समुद्र सतहबाट ८० मिटर उचाइमा अवस्थित छ। यसमा १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग, १ सय ५ मिटर लम्बाइ र २० मिटर चौडाइको ट्याक्सी वे तथा ९० मिटर लम्बाइ र ६० मिटर चौडाइको पार्किङ (एप्रोन) छ। ५९ वर्षअघि निर्माण भएको यो विमानस्थल १७ वर्षदेखि बन्द थियो। एक महिनाअघि मात्र पक्की धावनमार्ग निर्माण गरिएको हो । त्यसअघि घाँसे धावनमार्ग थियो। विगतमा यहाँबाट पहाडी र हिमाली भेगमा उडान हुने गरेको थियो।

‘धावनमार्गको लम्बाइअनुसार राजबिराज विमानस्थलमा ७२ सिट वा त्यही सरहका जहाजले दुवैतर्फबाट सबै मौसममा उडान–अवतरण गर्न सक्छन्,’ गौतमले भने, ‘तत्कालका लागि जहाजमा इन्धन भर्ने सुविधा भने उपलब्ध गराउन सकेका छैनौं।’

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App