४ वैशाख २०८१ मंगलबार
अन्य

तयार हुँदै कोटेश्वर–कलंकी सडक र अन्डरपास

उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक हो– कलंकी । जहाँ नागढुंगा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्यधिक हुन्छ ।

अर्कोतर्फ चक्रपथ परिक्रमा गर्ने सवारीको लाम पनि उत्तिकै हुन्छ । जसले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाउँछ । अब भने यो समस्या अन्त्य हुँदै छ । कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी–कोटेश्वर सडक विस्तार कार्य पनि छिटै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उद्देश्यले डेढ वर्षअघि पहिलोपटक अन्डरपास सडक योजना अघि सारेको हो।  

काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डरपास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । ‘कलंकी क्षेत्र वर्षाैंदेखि अस्तव्यस्त र भद्रगोल देखिन्थ्यो । अहिले अन्डरपासले यस क्षेत्रको सवारी जाम हट्नेछ,’ उनले भने, ‘कलंकीदेखि महाराजगन्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ । बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ । असारदेखि अन्डरपासबाट सवारीसाधन गुड्नेछ ।’  अन्डरपास बनेसँगै चक्रपथ रुटका सवारी निर्बाध ढंगले चल्न सक्नेछन् । बल्खुको खसीबजारदेखि बाफलसम्म आठ सय ४० मिटर क्षेत्रफलमा अन्डरपास निर्माण भइरहेको योजनाले जनाएको छ।

बल्खु–स्वयम्भू चल्ने सवारीसाधन अन्डरपास भएर गुड्नेछ । त्यस्तै, त्रिपुरेश्वरबाट नागढुंगातर्फ जाने, नागढुंगाबाट बल्खु र कालीमाटीतर्फ चल्ने सवारीले साबिकको माथिल्लो सडककै प्रयोग गर्नुपर्नेछ  । ‘अहिले कलंकीमा सवारी पास हुन एकतर्फको सडक नै बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अन्डरपास बनेसँगै बल्खुबाट स्वयम्भूतर्फ जाने सवारीसाधन रोकिनु नै पर्दैन ।’ चक्रपथ सडक सुधार योजनाले अन्डरपास बनेसँगै कलंकी क्षेत्रको ट्राफिक जाम हट्ने जनाएको छ । चक्रपथ सुधार योजनाअन्तर्गत चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले डेढ वर्षअघि कलंकीको मुख्य चोकमा अन्डरपास निर्माण थालेको थियो।

कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी–कोटेश्वर सडक विस्तार कार्य पनि छिटै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उद्देश्यले डेढ वर्षअघि पहिलोपटक अन्डरपास सडक योजना अघि सारेको हो ।

प्रतिघन्टा ५० किलोमिटर गुड्ने सवारीसाधन चलाउन मिल्ने गरी अन्डरपासको डिजाइन तयार पारिएको योजना प्रमुख भण्डारीले बताए । कामनपा– १४ स्थित कलंकीको मुख्य चोकमा निर्माणाधीन यो अन्डरपास सडक नेपालकै पहिलो प्राजेक्ट हो । पैदलयात्रु भने अन्डरपासबाट हिँडडुल गर्न पाउनेछैनन् । उनीहरूलाई सडक पार गर्न जेब्राक्रस राखिनेछ । चीन सरकारको ५१.२ करोड युआन (करिब ५ अर्ब रुपैयाँ) मा अन्डरपास निर्माण गर्न लागिएको हो । अन्डरपास निर्माणसँगै कलंकीमा सवारी जाम हट्ने मात्रै होइन, कलंकीकै रूप फेरिने बताइएको छ।

कलंकी–कोटेश्वर सडक विस्तार अन्तिम चरणमा
योजना प्रमुख प्रकाश भण्डारीले तोकिएको समयभन्दा दुई वर्ष ढिला भए पनि कोटेश्वर–कलंकी सडकखण्ड विस्तार अन्तिम चरणमा पुगेको बताए । ‘कोटेश्वर–कलंकी सडकखण्ड असार मसान्तसम्म तयार हँुदै छ,’ उनले भने, ‘कोटेश्वर–बल्खु खण्डको सडक तयार भइसक्यो । अब फिनिसिङ मात्रै बाँकी छ ।’ उनले पछिल्लो समय बल्खुदेखि खसीबजारसम्म १४ सय मिटर सडक विस्तार भइरहेको बताए।

सरकार र चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपबीच सन् २०१२ मा कलंकी–कोटेश्वर (१०.३९ किलोमिटर) चार लेनको सडकलाई आठ लेनको बनाउने सम्झौता भएको थियो । सम्झौताअनुसार आठ लेनमा चार लेनको तीव्र रफ्तारको मुख्य सडक, बाँकी चार लेन दुवैतर्फ सात–सात मिटरका दुई–दुई लेनका सहायक सडक बनाउने योजना छ । सडकबाहेक साइकल लेन र दुई दशमलव पाँच मिटरको फुटपाथ बनाउने योजना रहेको थियो । सम्झौताअनुसार उक्त सडकखण्ड विस्तार २०१६ मे १५ मा सक्नुपर्ने थियो । तर, भूकम्प र नाकाबन्दीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन । त्यसपछि फेरि सन् २०१७ मा एक वर्ष म्याद थपिएको थियाे।

उक्त अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि फेरि सन् २०१८ जुलाईसम्म म्याद थपिएको थियो ।  भण्डारीका अनुसार बल्खुदेखि खसीबजारसम्मको सडक चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुप र नेपाली ठेकेदार कम्पनी दुवैले निर्माण गरिरहेका छन् । ‘सांघाई कन्स्ट्रक्सन कम्पनीको आगामी असार मसान्तभित्रै म्याद सकिँदै छ । त्यसैले मनसुनको समय भएकाले मनसुन सकिएलगत्तै सडक फिनिसिङ गर्ने तयारी भइरहेको छ ।’ योजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डको भौतिक प्रगति ९३ प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार चिनियाँ पक्षले आठवटा मोटरेबल पुल र तीन वटा अकासेपुल तयार गरिसकेको छ । नेपाल सरकारको तर्फबाट सातवटा अकासेपुल निर्माण कार्य भइरहेको योजना प्रमुख भण्डारीले बताए।

‘पाँचवटा अकासेपुलको जग तयार भइसक्यो,’ उनले भने, ‘अन्य दुई निर्माणका क्रममा रहेका छन् ।’ योजनाले कलंकी–कोटेश्वर सडकखण्डमा प्रत्येक एक किलोमिटरको अन्तरमा एउटा अकासेपुल निर्माण गर्ने तयारी गरेको छ । बालकुमारी, सातदोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, सानेपा, बल्खु, खसीबजार लगायत स्थानमा अकासेपुल निर्माण गरिनेछ । योजनाका अनुसार एउटा अकासेपुल निर्माणका लागि साढे दुई करोड रुपैयाँ लाग्नेछ । । ‘मनसुनका कारण अन्डरपास निर्माणमा केही समय ढिलाइ भएको थियो,’ उनले भने, ‘निर्माण कम्पनीले अन्डरपास निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेका छन्।’

बन्ने भो कलंकी–महाराजगन्ज सडक
सरकारले कलंकी–महाराजगन्ज सडकखण्ड चक्रपथ विस्तार गर्ने भएको छ । नेपाल र चिनियाँ सरकारबीच भएको दुई पक्षीय सहमतिअनुसार कलंकी–महाराजगन्ज खण्डको ८.२ किलोमिटर सडक विस्तार गर्ने तयारी थालिएको हो।

काठमाडौं चक्रपथ सुधार योजनाले गत मंगलबार कलंकीदेखि महाराजगन्जसम्मको सडक सीमामा पर्ने भौतिक संरचना १५ दिनभित्रै हटाउन निर्देशन दिएको छ । काठमाडौं चक्रपथ सुधार योजना प्रमुख भण्डारीले चिनियाँ पक्षले सडकमा रहेका अवरोध हटेपछि मात्रै निर्माणसम्बन्धी सम्झौता गर्ने बताएकाले सोहीअनुसार सडकका अवरोध हटाउन सार्वजनिक सूचना जारी गरेको बताए ।‘चिनियाँ पक्षले साइट क्लिअर नभएसम्म निर्माण सम्झौता नगर्ने बताएका छन् । त्यसैले पहिलोचरणमा साइट क्लिअर गर्न लागेका हौँ,’ उनले भने, ‘साइट क्लिअर भएसँगै सम्झौता गरेर सडक विस्तार तथा निर्माण थाल्ने योजना छ ।’

योजनाले सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ दुवैतर्फ ३१–३१ मिटरसम्मको सडक सीमामा परेका घर–टहरा, घुम्ती, बिग्रिएका सवारीसाधन, सडकमा जथाभावी राखिएका हार्डवेयर तथा निर्माण सामग्री हटाउन निर्देशन दिएको छ ।
यसअघि चिनियाँ पक्षले २०१८ जुनसम्म उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग लिखित आग्रह गरेको थियो । सडकमा रहेका घर–टहरा तथा निर्माण सामग्री भत्काउन तथा हटाउन अटेर गरेमा सार्वजनिक सडक ऐन बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरण र जिल्ला आयुक्तको कार्यालयले हटाउने सार्वजनिक सूचनामा भनिएको छ।

तोकिएको मितिमा सडकका अवरोध नहटाए हटाउन लाग्ने रकम समेत घरधनी वा निर्माणकर्ताबाटै असुलउपर गरिने सूचनामा उल्लेख छ । चिनियाँ सांघाई कन्स्ट्रक्सनले पहिलोचरण कोटेश्वर–कलंकी सडकखण्ड विस्तार गरेसँगै दोस्रो चरणको कलंकी–महाराजगन्जसम्म सडक विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । हाल चिनियाँ कम्पनीले कलंकी–महाराजगन्ज खण्डको सडक विस्तार गर्न प्रारम्भिक अध्ययन कार्य अघि बढाइरहेको छ।

‘कोटेश्वर–कलंकीसडकखण्डभन्दा केही डिजाइन संशोधन गर्ने तयारी गरेका छौँ,’ योजना प्रमुख भण्डारीले भने, ‘सडकबत्ती, साइकल ट्र्याक, फुटपाथ र ट्राफिक संकेतलाई मुख्य प्राथमिकतामा राखेर सडक निर्माण गरिनेछ ।’ उनले महाराजगन्ज र नयाँ बसपार्क जाने सडकमा अन्डरपास निर्माण गर्ने लक्ष्य रहेको बताए।

सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठ अर्थ मन्त्रालय र चिनियाँ सरकारबीच कलंकी–महाराजगन्ज सडक पहिलो चरणमा विस्तार गर्ने प्रारम्भिक सम्झौता भइसकेको बताउँछन् । ‘अर्थ मन्त्रालय र चिनियाँ सरकारबीच सडक विस्तार गर्ने प्रारम्भिक सम्झौता भएर चिनियाँ पक्षले विस्तृत परियोजना प्रतिवेदन तयार पारिरहेका छन्,’ उनले भने, ‘उसले तयार पारेको डिपिआर नेपाल सरकारले स्वीकृत गरेसँगै निर्माण सुरु हुनेछ ।’ महाशाखाले अहिले कलंकी–महाराजगन्ज सडकखण्डमा ठूला केही अवरोध नभएको जनाएको छ ।

‘यो सडक खण्डमा ठूलाखाले अवरोध छैन । तर केही घर–टहरा, बिग्रिएका सवारीसाधन र विद्युतीय पोल रहेका छन् । त्यस्ता अवरोध असारभित्रै हटाउन अनुरोध गरेका छौँ,’ उनले भने, ‘खानेपानीको पाइप, ढल, विद्युतीय पोल सार्न सम्बन्धित निकायसँग समन्वय गर्न लागिरहेका छौँ । जतिसक्दो छिटो अवरोध हटाएर निर्माण अघि बढाउनेछौँ ।’ महाशाखाका अनुसार आगामी भदौबाट निर्माण कार्य सुरु हुनेछ । डिपिआर पारित भएर निर्माण सुरु भएको करिब साढे तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडक केन्द्रबाट दुवैतर्फ ३१–३१ मिटर चौडा भएको सडकमा आठ लेनको सडक निर्माण गरिनेछ । जसमा फुटपाथ, साइकल लेन, सडकबीचमा मेडियमलगायत पूर्वाधार निर्माण गरिनेछ।

महाशाखा प्रमुख श्रेष्ठले गोंगबु र महाराजगन्जमा दुईवटा अन्डरपासलाई डिपिआरमा समेट्न चिनियाँ पक्षलाई अनुरोध गरेको बताए । ‘नयाँबसपार्क र महाराजगन्जमा अन्डरपास अत्यावश्यक छ,’ उनले भने, ‘चिनियाँ पक्षलाई डिपिआरमा अन्डरपास समेट्न पहलकदमी गरिरहेका छौँ ।’ उनका अनुसार कलंकीदेखि महाराजगन्जसम्म सडक विस्तार गर्न करिब पाँच अर्ब रुपैयाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ । सरकारले महाराजगन्जदेखि कोटेश्वरसम्म करिब आठ किलोमिटर सडकखण्डमा रहेको अवरोध हटाए तेस्रो चरणमा विस्तार गर्न चिनियाँ पक्ष इच्छुक रहेको महाशाखाका प्रमुख श्रेष्ठले बताए । २७ किलोमिटर चक्रपथमध्ये पहिलोचरणमा १०.३९ किलोमिटर सडक विस्तार भएर निर्माणको अन्तिम चरणमा रहेको छ ।

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App