५ वैशाख २०८१ बुधबार
अन्य

‘सहरमा मनलाग्दी छ’

बुद्धि तामाङ, अभिनेता
घुमेकामध्ये तपाईंलाई मनपरेको सहर ?
मलाई मनपर्ने सहर बनेकै छैन जस्तो लाग्छ । हाम्रो देशमा सुन्दर र सफा सहरको अभाव छ । काठमाडौं र अन्य सहर सबै अस्तव्यस्त भएका छन् । सहरभित्र शान्त, शितल र मनोरम ठाउँ पाउन मुस्किल छ । म जुन सहरमा पुगे पनि बेस्सरी रमाउँछु । त्यो सहरमा हावापानीसँग घुलमिल हुन्छु । तर, मैले सोचेको सहर योभन्दा व्यवस्थित र शान्त छ।

उपत्यका कस्तो लाग्छ ?
म गाउँमा जन्मिएको मान्छे । २० वर्षअघि सहरमा छिरेको थिएँ । त्यतिबेला सहरमा छिर्दा धेरै खुसी लाग्थ्यो । ओहो ! भन्ने हुन्थ्यो । जब म अलि अध्ययनशील र बुझ्ने भएँ, त्यसपछि काठमाडौं मन पर्न छाड्यो । यहाँको भद्रगोल र अस्तव्यस्तता देख्दा दिक्क लाग्छ । हुन त चित्त बुझाउने बाटो पनि छ । कहिँकहिँ विकास पनि भएको छ । संसारमा कुनै पनि देश विकास गर्दा यस्तो झन्झट आउँछ नै।

के कारणले सहर अस्तव्यस्त भयो भन्ने लाग्छ ?
विकास निर्माणमा सरोकारवाला निकायले चासो दिएनन् । एउटा सामान्य पुल बनाउन पनि वर्षौं लगाए । उपत्यका नेपालकै पुरानो र सबै सुविधा भएको सहर हो । अहिले जनसंख्याको चापले केही भीडभाड देखिन्छ । काठमाडौं बिग्रनुको कारण देशैभरका मानिसको उपस्थिति बढ्नु पनि हो।

उपत्यकाको मनपर्ने पक्ष के हो ?
यहाँको हावापानी साह्रै राम्रो लाग्छ । अरु ठाउँमा चिटचिट पसिना छुटाउँदा पनि यहाँ हावा चलिरहेको हुन्छ । काठमाडौंको सबैभन्दा मनपर्ने पक्ष यही हो । यससँगै हरेकखाले सेवा सुविधा पाउनु र जताततै मठ–मन्दिर हुनु यहाँको राम्रो पक्ष हो । विदेश गएका बेला त्यहाँको पानीले कहिल्यै प्यास मेटिन्न । नेपाल फर्केपछि मात्रै बल्ल प्यास मेटिएको अनुभूति हुन्छ । हामीले यो देशको महत्व बुझ्दैनौं । अरु देशका नागरिकहरूको लागि नेपाल सपनाको ठाउँ बनेको छ।

उपत्यकाको मननपर्ने पक्ष के हो ?
यहाँका मन नपर्ने पक्ष धेरै छन् ।  यहाँको धुवाँधुलो र प्रदूषण मन पर्दैन । विकास निर्माणका काम हेर्दा उपत्यका छिट्टै नै व्यवस्थित हुन्छ जस्तो लाग्छ।

काठमाडौंलाई व्यवस्थित बनाउन के गर्नुपर्ला ?
काठमाडौं नराम्रो सहर होइन । सहरवासी र सरकारी निकायको कारण सहर बिग्रिएको हो । सहरमा बस्नेहरूले आफ्नो स्वार्थ मात्रै पूरा गरे । कसैले पनि सहर सफा राख्ने र विकास गर्नेतर्फ सोचेनन् । यदि काठमाडौंलाई सपार्नु छ भने मापदण्डविपरित भएका निर्माण रोक्नुपर्छ । सहर कुरूप हुने कुनै पनि योजनाहरू सरकारले गर्नुहुन्न।

नेपाल बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
करिब १० देशका सहर घुमेको छु । जापान, हङकङ, अस्टेलिया, मलेसिया, बेल्जियमलगायत देश घुमेको छु।

तपार्इं कस्तो सहरको कल्पना गर्नुहुन्छ ?
सहरमा चट्ट घुम्ने ठाउँ होस्, सबैतिर सफासुग्घर होस् । सहरमा बस्ने सबैले समान अधिकार पाउन् । सहरका घरहरू एउटै शैलीका हौऔन । आज विश्वका धेरै मानिसहरू नेपालमै आएर भगवान पुज्ने गरेका छन् । त्यसैले मलाई समग्र नेपाल सपनाको ठाउँ जस्तै लाग्छ।

तपाईँको विचारमा सहर कस्तो हुनुपर्ला ?
सहर सफा हुनुपर्छ । सहरमा सबै योजना र अधिकारहरू साझा हुनुपर्छ । सहरका सडक व्यवस्थित हुनुपर्छ । चोक–चोकमा हरियाली देखिनुपर्छ । सहरमा बस्ने कसैले पनि एकले अर्कालाई सहयोग गरेको देखिनुपर्छ ।

विदेशका कुन–कुन सहर मनपर्याे ?
नेपाल र विदेशी मुलुकबीच धेरै फरक छ । विकासको गतिलाई हेर्ने हो भने हाम्रा सहर धेरै पछि परेका छन् । विश्वका अन्य सहरहरू प्रविधिमा चलेका छन् । त्यहाँका सहरलाई प्रविधिले निगरानी गरेको हुन्छ । यस कुरामा हामी धेरै पछि परेका छौं । म विदेशका धेरै सहर घुमेँ । यो सहर नै राम्रो लाग्यो भनेर भन्न सक्दिनँ । विश्वका सबै सहर उत्कृष्ट छन् । ती सहरमा जति नै बसेपछि धित मर्दैन।

उपत्यकाभित्र कतै घुम्न जानुपर्यो भने ?
मेरो जन्मथलो काभ्रे हो । काभ्रेका गाउँहरू प्यारो लाग्छन् । त्यहाँको गाउँले जीवनशैली रमाइलो लागछ । यसबाहेक भक्तपुर, काठमाडौं र  ललितपुरको दरबार क्षेत्र राम्रो लाग्छ । काठमाडौंकै कुरा गर्दा सहरभित्र केही शान्त ठाउँहरू पनि छन्।

बाहिरी मुलुकका सहरसँग तुलना गर्दा हाम्रा सहर कस्ता छन् ?
आधुनिकीकरणमा हामी विदेशी सहरभन्दा पछि परेका छौं । मौलिकता र परम्परागत शैलीलाई हेर्ने हो भने नेपालमा सहर टप स्थानमा छन् । नेपाल विश्वमै फरक विषेशता भएको देश हो । हाम्रो देशमा हरियाली पहाड छ । झरनाहरू छन् । जंगल छ । यसले धेरैको ध्यान तान्छ।

पछिल्लो समय घुमेको सहर ?
पछिल्लोपल्ट म पोखरा गएको थिएँ । यो सहर पनि निकै सुन्दर र व्यवस्थित छ । पोखरामा गाउँहरू धेरै राम्रो लाग्छन्।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरवासीको मनलाग्दी छ । कसैले पनि मेरो गल्तीले सहर बिग्रन्छ भनेर सोध्दैनन् । सहरवासीमा वैमनस्यता बढ्दै गएको छ । एकजुट भएर नराम्रा कामको प्रतिकार गर्न सक्दैनन् । आफ्नो पक्षमा मात्रै बोल्छन् । छिमेकी र सहरको पक्षमा बोल्ने कमै मात्रै छन्।

मन भएर पनि पुग्न नपाएको सहर ?
मनै भएर घुम्न नपाएको त्यस्तो कुनै सहर छैन । म युरोपका धेरै सहर पुगेँ । विदेशी र नेपाल दुवै ठाउँमा सहरलाई चिन्न पाएँ।

सहरको मनपर्ने खानेकुरा ?
मलाई दाल, भात, ढिडो, साग र कुखुराको मासु मनपर्छ ।
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App