८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपामा पूर्व माओवादीहरु असन्तुष्ट, दाहाललाई पठाए फरक मत

धरान– नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीमा विधि र प्रक्रियाविना केन्द्रीय सदस्य छनौट गरिएको भन्दै तत्कालीन माओवादी केन्द्रका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन्।

जनयुद्धकालमा पार्टीलाई योगदान पुर्याएका नेताहरु पनि केन्द्रीय सदस्यमा नसमेटिएपछि नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी देखिएको हो। एकतापछिको केन्द्रीय सदस्य छनौटप्रतिको असन्तुष्टी एवं आक्रोशलाई तत्कालीन माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन्। प्रदेश नं १ बाट जनयुद्धको बेलासमेत पार्टीको जिम्मेवारी सम्हालेका पोलिटब्युरो सदस्यहरु मुक्साहाङ मेन्याङबो, डम्बर सुवेदी, श्रीप्रसाद जगेवुजस्ता नेता केन्द्रीय सदस्यमा समेटिएका छैनन्। कतिपय नेताहरुको नाम सिफारिस गरिएर पनि अन्तिम नामावली चयन गर्दा काटिएपछि चाकडी, चाप्लुसी गर्नेहरु प्राथमिकतामा परेको भन्दै असन्तुष्टी पोखिरहेका छन्। तत्कालीन माओवादी केन्द्रका पूर्वपोलिटब्युरोहरुको बैठक बसेर केन्द्रीय सदस्य छनौटको विधि र प्रक्रिया पारदर्शी नभएको भन्दै असहमति जनाउने निर्णयसमेत भएको छ। 

तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्रीप्रसाद जवेगुले पार्टी एकताको महान अवसरमा आफूलाई जिम्मेवारीविहिन बनाएर जिन्दगीकै सर्वाधिक अपमान र अन्याय गरेको भन्दै फेसबुकमा असन्तुष्टि पोखेका छन्। उनले आफूलाई विश्रामको अवसर दिएकोमा पूर्व नेकपा माओवादी पार्टीलाई धन्यवाद भन्दै सांकेतिकरुपमा ब्यंग्यसमेत गरेका छन्। प्रदेश नं १ का प्रदेशसभा सांसदसमेत रहेकी नेतृ उमिता बराइलीले केन्द्रीय सदस्य छनौटप्रति टिप्पणी गर्दै लेखेकी छिन्, ‘चाप्लुसी र चाकडीको पराकाष्ठ नेकपाको केन्द्रीय सदस्य मनोनित प्रक्रिया।’ 

यस्तै, तत्कालीन माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिका सदस्य अइन्द्रबिक्रम बेघाले पनि केन्द्रीय सदस्य मनोनयनप्रति असन्तुष्टि व्यक्त गर्दै गाठी र जिलीको भेउ नपाएको भनी फेसबुकमा टिप्पणी गरेका छन्। ‘अचम्म पनि कस्तो भने नि तीन छक्क पर्नुपरियो। कता हो जिली कता हो गाठी? सन्दर्भ, नेकपाको के.स. नियुक्ति!’ उनले लेखेका छन्।

केन्द्रीय सदस्य छनौट प्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा मात्र सीमित रहेको छैन्। बुधबार तत्कालीन माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्यहरुको पेरिसडाँडा पार्टी कार्यालयमा भएको भेलाले असन्तुष्टिसहितको निर्णय पार्टी अध्यक्ष र वरिष्ठ नेताहरुलाई जानकारी गराउने निर्णय गरेका थिए। भेलाले पार्टी एकताको स्वागत गरेपनि माओवादी केन्द्रको तर्फबाट केन्द्रीय समिति सदस्य छनौट गर्दाको विधि र प्रक्रियाप्रति गम्भीर असहमति रहेको निर्णय गरेको छ। ‘महिला, दलित, मधेशी, मुस्लिम, आदिबासी जनजाति, मजदुर, शहीद तथा वेपत्ता परिवार एवं घाइते तथा अपांग योद्धाहरुको समुचित प्रतिनिधित्व नगराइएको, जिल्लागत सन्तुलन नमिलाएको, पूर्णकालीन, सक्रिय र निरन्तर खट्ने कमरेडहरुलाई छुट्याइएकोले हाम्रो गम्भीर असहमति छ’, निर्णयमा भनिएको छ। 

साथै, जनवर्गीय संगठन र मोर्चाहरु, पार्टीको केन्द्रीय निकाय तथा विभागहरु, प्रदेश र स्थानीय पार्टी कमिटीहरु निर्माण गर्दा ठोस विधि, प्रक्रिया र मापदण्ड निर्माण गर्न पनि पार्टीको गम्भीर ध्यानाकर्षण गराउने निर्णयसमेत ८७ जना पालिटब्युरो सदस्यहरुले गरेका थिए। माओवादी केन्द्रका पूर्व पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङबोले केन्द्रीय समिति गठनमा फरक मतसहितको सुझाव अध्यक्ष दाहाललाई बुझाएको जानकारी दिएका छन्। 

तत्कालीन माओवादीका पोलिटब्युरो सदस्य डम्बर सुवेदीले केन्द्रीय सदस्यमा आफूहरु नपरेको असन्तुष्टि भन्दा पनि कुन विधि र प्रक्रियाबाट छनौट गरियो भन्ने प्रश्न पार्टी नेतृत्वलाई गरिएको बताए। पार्टी एकतापछि नेता र कार्यकर्ताहरुको सही व्यवस्थापन गर्नु मुख्य चुनौती भएको भन्दै नेता सुवेदीले त्यसो हुन नसके एकताबाट पार्टीलाई फाइदा हुने भएकोले नेतृत्वलाई सचेत गराइएको जिकिर गरे। 

‘केन्द्रीय समितिमा हामी परेनौं भन्ने होइन, कुन विधि र प्रक्रियाबाट छानियो भन्ने प्रश्न गरिएको हो, र आगामी दिनमा विधि, प्रक्रिया बनाएर मात्र लैजानुस् भनेर पार्टीलाई सचेत गराइएको हो’, सुवेदीले भने, ‘हाम्रो पोलिटब्युरो नै ३ सय ९९ जनाको थियो, त्यसैले २ सय मात्र पर्ने पक्का हो तर ती २ सय जना पनि कुन विधि, प्रक्रिया र मापदण्डबाट छानियो? त्यसमा हाम्रो असहमति र प्रश्न हो।’

असन्तुष्ट पोलिटब्युरो सदस्यको निर्णय :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App