६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

पोषिलो आहार नपाउँदा किशोरीमा रक्तअल्पता बढ्यो

बैतडी– बैतडीमा गर्भवती महिला र किशोरीमा रक्तअल्पता बढ्दै गएको छ । प्रजनन उमेर समुहका महिला, किशोरी, गर्भवती आमा र बच्चामा रक्तअल्पता बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । बैतडीका २८ हजार किशोरीमध्ये ४३ प्रतिशतमा रक्तअल्पता रहेको तथ्याङ्कले देखाएको छ।

जंकफुडको प्रयोग र महिनावारी हुँदा पोषिलो खाना नपाउँनु र उच्च रक्तश्राव हुनु रक्तअल्पताको मुख्य कारण रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ फोकल पर्सन सन्तोष पाण्डेयले बताए ।

नेपाल जनसाँख्यिक स्वास्थ्य सर्वेक्षण (एनडिएच २०१६) अनुसार बैतडीमा सन् २०११ मा रक्तअल्पता भएका ३९ प्रतिशत किशोरी थिए भने २०१६ मा  उक्त संख्या बढेर ४३ दशमलव ६ प्रतिशत पुगेको छ। यस्तै पाँच वर्र्षमुनीका बालबालिकामा ४६ प्रतिशत रहेको रक्तअल्पता बढेर ५३ प्रतिशत पुगेको छ । १५ वर्षदेखि १९ वर्षभित्रका किशोरीमा डरलाग्दो गरी उच्च रक्त अल्पता देखापरेपछि समग्र मानव जीवनचक्र नै प्रभावित हुने भन्दै नेपाल सरकारले सुरु गरेको बहुक्षेत्रीय पोषण कार्यक्रमले उक्त तथ्याङ्क सार्वजनिक गर्दै जिल्लाका २८ हजार किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउने कार्यक्रम सुरु गरेको छ।

दुई वर्षदेखि सञ्चालनमा रहेको वहुक्षेत्रीय पोषण कार्यक्रमले बालबालिकामा हुने पुड्कोपना भने घटेको जानकारी दिएको छ । तथ्याङ्क अनुसार बालबालिकामा रहेको ४१ प्रतिशत पुड्कोपनामा सुधार आएर ३६ प्रतिशमा झरेको छ । उमेर अनुसारको कम तौलमा पनि सुधार आएर ३५ प्रतिशतबाट २७ मा झरेको जिल्ला सुआहारा कार्यालय बैतडीका जिल्ला संयोजक नागेन्द्रसिंह धामीले बताए।

‘धेरै ठाउँमा अण्डा नखाने, कुखुरा पाले देउता रिसाउने र महिनावारी हुँदा दूध नदिने चलन कामै रहको छ’

गर्भवती आमा र दुईवर्षभित्रका बालबालिकालाई लक्षित गरेर जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सुआहाराले सुरु गरेको पोषण कार्यक्रमले गर्भवती महिला र दुईवर्षभित्रका बच्चाका लागि सुनौला हजार दिन कार्यक्रमपछि किशोरीहरुमा देखापरेको रक्त अल्पता घटाउने कार्यक्रम सुरु गरेको हो । किशोरीहरुमा रक्त अल्पता बढ्नुको मुख्य कारण जंकफुडको प्रयोग, महिनावारी हुँदा पोषिलो खाना नपाउँदा बढी रक्तश्राव मुख्य कारण रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ फोकल पर्सन सन्तोश पाण्डेयले बताए । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्दै आइरहेको जिल्ला सुआहारा र साझेदार संस्था स्वदेश बैतडीका कार्यक्रम संयोजक सुरेशदत्त भट्टका अनुसार महिनावारी हुँदा पोषिलो खाना नदिने र जंकफुडको प्रयोगले रक्त अल्पता बढ्दै गइरहेको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सुआहारा कार्यक्रमले पोषण व्यवहार परिवर्तन गर्न पाँच हजार अण्डा दिने कुखुरा, मौसमी तथा वेमौसमी तरकारी र घरायसी खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्दै गर्भवती महिला र दुई वर्षभित्रका बालबालिकाको पोषण सुधार गर्दै आइरहेको भट्टले बताए । ‘धेरै ठाउँमा अण्डा नखाने, कुखुरा पाले देउता रिसाउने र महिनावारी हुँदा दूध नदिने चलन कामै रहको छ,’ उनले भने ।

प्रकाशित: १० जेष्ठ २०७५ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App