७ वैशाख २०८१ शुक्रबार
राजनीति

एकताको लागि अध्यक्ष पद छोड्न तयार छु : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियताको संरक्षण, हिन्दू राष्ट्रको पूनर्स्थापना, प्रजातन्त्रको सुदृढिकरणका लागि प्रजातान्त्रिक शक्तिबीच एकता अनिवार्य आवश्यक रहेको बताएका छन्।

पछिल्लो समय धर्म परिवर्तन, भ्रष्टाचार, संविधानको आवरणमा बढ्दै गैरहेको सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल प्रमुख चुनौतीको रुपमा देखा परेको भन्दै उनले यी सबै चुनौतीको सामना गर्न एकताका जोड दिएका हुन्। 

बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको लागि तीन वटै राप्रपाबीच एकता हुनुपर्नेमा जोड दिँदै त्यसको लागि आफू अध्यक्ष पद छोड्न समेत तयार रहेको उनले जानकारी गराए। ‘विगतमा जे कुराहरु भए, अब ती कुरामा आरोप–प्रत्यारोप गर्नुहुँदैन्, एकता कायम गर्नुपर्छ’, अध्यक्ष थापाले भने– ‘यस प्रयोजनको लागि म लोहनीजी र राणाजीलाई आह्वान गर्दछु, एकताका निम्ति म आवश्य पर्यो भने अध्यक्ष पद छोड्न र हदैसम्मको लचकता अपनाउन तयार छु।’

उनले योजनावद्ध रुपमा धर्म परिवर्तन गराउने काम भैरहेकोप्रति चिन्ता व्यक्त गर्दै धर्म परिवर्तन गराउने व्यक्ति, समूह र गिरोहलाई संविधानको भावना अनुसार कारवाही गर्न माग गरे। उनले भने, ‘धर्म परिवर्तन गराउन षड्यन्त्र गर्नेहरुलाई नियन्त्रण गर्न हामी सरकारसँग जोडदार माग गर्छौं।’

त्यस्तै, अध्यक्ष थापाले गौ हत्या गर्नेहरुलाई पनि नियन्त्रणमा लिन र गौहरुको सुरक्षाको लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे। उनले भने, ‘सरकारले प्रत्येक गाउँपालिकामा गौशाला स्थापना गरोस।’

थापाले पाठ्यक्रम सुधारको नाममा नेपालको इतिहास, संस्कृति, धर्मलाई कमजोर बनाउने र इतिहासको अपव्याख्या गर्ने कार्य हुन लागिरहेकोले यस्ता कामहरुलाई रोक्नको लागि सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘संस्कृत भाषाको अध्ययन तथा अध्यापन हुनुपर्छ, यसको संरक्षण तथा सम्वर्द्धन गर्नुपर्छ।’

अध्यक्ष थापाले हालै सम्पन्न राप्रपाको केन्द्रीय परिषदको तीन दिने बैठकबारे जानकारी दिँदै अब राप्रपाले जेठदेखि माघ मसान्तभित्र छुवाछुतविरुद्ध राष्ट्रिय अभियान चलाउने, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दूराष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति समूह र दलसँग एकता र सहकार्य गर्ने कार्यनीति पारित गरेको बताए। त्यस्तै उनले २०७५ पुसभित्रै ७५३ वटै गाउँपालिका र सबै वडाहरुमा पार्टीका संगठनहरुलाई पूर्नगठन गरिने पनि सुनाए। 

‘हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि वारपारको संघर्ष’

अध्यक्ष थापाले २०७५ फागुन ७ गतेबाट हिन्दूराष्ट्र पूनर्स्थापनाको लागि निर्णायक जनसंघर्ष गर्ने बताउँदै भने, ‘अब यसको लागि वारपारको जनसंघर्ष हुन्छ।’ संविधान र संवैधानिक व्यवस्थालाई उपयोग गर्दै सहकार्य गर्ने र आफ्ना सिद्धान्त र नीतिलाई स्थापित गर्ने पार्टीको धारणा रहेको उनले सुनाए।

प्रकाशित: १० जेष्ठ २०७५ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App