नेपाल प्रजातान्त्रिक अभ्यासमा सक्रिय छ। नत्र भने हामीसँग १७० भन्दा बढी राजनीतिक दल हुँदैनथे। अझै पनि हामीमा नयाँ ढंगले काम गर्न सक्ने राजनीतिक दलहरुको भोक मरेको छैन। राजनीतिक बहस देशमा जहिले पनि सुपर हिट नै छ। यो वा त्यो माग राख्दै गरिने आन्दोलनको अभाव छैन। राजनीतिक दलहरु शक्तिशाली छन्। जनमतमा राजनीतिक अस्तित्व नदेखिएका दलहरुले पनि नेपाल बन्द गर्न सक्ने हैसियत राख्छन्।
राजनीतिक दलहरुप्रति हाम्रो समर्थन छ तर यी १७० राजनीतिक दलमध्ये कुनै एक दलले हामीले देख्न खोजेको नेपाल बनाउँछन् भन्ने कुरामा हाम्रो विश्वास छैन। राजनीतिक दलका सदस्य वा समर्थकका रूपमा हामी विभाजित छौँ तर चरम निराशा र बेखुसीको सवालमा हामी समानरूपमा पिल्सिएका छौँ तर पनि हाम्रा चाहना अनि सपना असीमित छन्। एउटा शान्त अनि समृद्ध नेपाल हाम्रो साझा सपना भए पनि हामीलाई यो सपनासँग जोड्ने एउटा पनि राजनीतिक दल अस्तित्वमा छैनन्। यस्तो अवस्थामा हाम्रो सपना कसरी पूरा हुन्छ? हामीले देख्न चाहेको कुरा कहाँ अनि कहिले हेर्न पाउने हौँ? न त्यो थाहा पाउने नेता छन् न त हामी जनताले नै केही भन्न सक्छौँ।
हामी सहज स्थितिमा छैनौँ। यो गहिरो नैराश्यलाई चिर्न सकेनौँ भने हामीले हाम्रो पुस्तामात्र होइन, आउने पुस्ताका लागि पनि एउटा अँध्यारो नेपाल छाडेर जानेछौँ
हामीले जे/जस्तो काम गरे पनि वा केही नगरी तमासा हेरिरहे पनि समय भने आफ्नै गतिमा चलिरहन्छ। हाम्रा जिम्मेवारी अनि आवश्यकता समयसँगै फराकिलो बन्दै जान्छन्। उमेर बढ्दै जान्छ। एउटा पुस्ता वृद्ध, कमजोर, रोगी बन्छ अनि बिस्तारै मृत्युसँगै हराएर जान्छ। अनि अर्को पुस्ता बूढो हुँदै जान्छ। समयको तालमा, हामीमा केही गर्न सक्ने जाँगर अनि शक्ति त्यत्तिकै सकिन्छ, त्यो बेला हामीमा पश्चातापबाहेक केही पनि बाँकी रहँदैन। हामी धनी हाँै, गरिब हौँ वा जुनसुकै भूभागमा बसोबास गर्ने नै किन नहोऔँ, प्रकृतिका केही नियम छन्, जो सबैलाई समानरूपमा लागू हुन्छन्। यस्ता प्राकृतिक नियम हामी रहे पनि, नरहे पनि चलिरहन्छन्।
हाम्रो पुस्ता पनि सधैँ युवा अनि सशक्त रहँदैन। समय छँदै हामीले हतारो गरेनौँ भने हामी पनि अहिलेको राजनीतिक नेतृत्वजस्तै अवसर गुमाउन विवश बन्नुपर्ने हुन्छ। कुनै देश वा समुदायको विकास समयक्रममा आफैँ हुने होइन। हामीले सामूहिक प्रयास गर्न सकेनौँ भने हामीलगायत आउने पुस्ताले अझ धेरै दुःख पाउनुपर्ने हुन्छ। अहिले हाम्रा अगाडि दुई वटा प्रस्ट विकल्प छन्ः नेता अनि राजनीतिक दलले जे गरे गरून् भनेर चूपचाप बस्ने वा एक्लै वा समूहमा भए पनि एउटा जागरुक समाज निर्माणका लागि पहल गर्ने।
राजनीतिक व्यवस्थामा आउने परिवर्तनले स्वतः विकासको वातावरण बनाउँदैन भन्ने कुरा हामीले विगत दुई दशकमा देखिसकेका छौँ। जुनसुकै किसिमको विकासका लागि नागरिकले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। प्रजातान्त्रिक वा गणतान्त्रिक देशमा नागरिकको भूमिका भनेको आफ्ना प्रतिनिधि देश र जनताको हितमा काम गर्न जिम्मेवार बनाउने र जिम्मेवार बन्न नसकेको अवस्थामा उनीहरुलाई सार्वजनिक दबाब सिर्जना गरेर राजनीतिबाट पाखा लगाइदिने हो। राजनीतिलाई जब कसैले आजीवन पेसा बनाउँछन् अनि नागरिक आजीवन राजनीतिक पेसाकर्मीलाई सहयोग गरिरहन्छन्, त्यस्तो समाज कहिल्यै पनि अगाडि बढ्दैन। नेपाली समाजको विडम्बना पनि यही हो।
नेपालमा राजनीतिक दलले नै लोकतन्त्रको सबैभन्दा ठूलो उपहास गरिरहेका छन्। चुनाव जितेर गएकामात्र होइन, चुनावमा बारम्बार पराजित बन्नेहरु पनि देशको महत्वपूर्ण राजनीतिक प्रक्रियामा निर्णायक तथा नेतृत्वदायक भूमिकामा हुन्छन्। चुनाव नजिती सांसद, मन्त्री बन्नेहरु नवराजा नै भए तर चुनावमा भोट दिएर विजयी बनाएर पठाएका सांसदहरुले पनि खुलेआम गल्ती गर्दै हिँड्दा हामी नागरिक निरीह दर्शक बन्नुपर्ने हुन्छ।
जनचाहनाअनुसार काम गर्न नसकेको खण्डमा, आफ्नो राजनीतिक पदलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको भेटिएमा, भ्रष्टाचारमा संलग्न पाइएमा, दलाल अनि माफियासँग साँठगाँठ गर्दै सार्वजनिक हितविरुद्ध संसद्भित्र वा बाहिर नीति निर्माणलाई प्रभावित पार्ने काम गरेको पाइएमा त्यस्ता सांसदलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन सकिने निर्वाचन कानुन हामीलाई अत्यावश्यक भइसकेको छ। अन्यथा राजनीतिक दलहरुमा संस्थागत भएको भ्रष्टाचार अनि आफूलाई कानुनभन्दा माथि सम्झने सोचमा कुनै परिवर्तन आउने छैन। अहिले देखिएजस्तै सांसदहरु आफू र माफियाअनुकूल संसदीय व्यवस्थालाई उपयोग गर्नमा अझ खुलेआम अगाडि बढ्नेछन्। राजनीतिक दल तथा नेतृत्वले सामान्य नागरिकका मुद्दा सम्बोधन गर्नमा कहिल्यै पनि हतारो देखाउने छैनन्।
कुनै पनि लोकतान्त्रिक व्यवस्थामा नागरिकहरु त्यसको केन्›मा रहन्छन्। यस्तो व्यवस्थामा मतदाताहरु, संसद् अनि सञ्चार माध्यमले नागरिक हकहित तथा लोकतान्त्रिक मूल्य/मान्यता जोगाउन सर्वोच्च भूमिका खेल्नुपर्ने हुन्छ। त्यसपछि मात्र मन्त्रिमण्डल, मन्त्रालय र राजनीतिक दलहरुको भूमिका अपेक्षा गरिन्छ तर नेपालमा राजनीतिक दल अनि नेताहरुले नागरिकलाई चुनावका बेला उपयोग गर्ने अनि अरु बेला उपेक्षा गर्ने संस्कृति नै विकास गरेका छन्।
दहि्रलो निर्वाचन कानुन निर्माण गरी नागरिकले आफ्नो निर्वाचन क्षेत्रका खराब सांसदलाई कानुनी चुनौती दिन सक्ने व्यवस्था नगरेसम्म राजनीतिक दलहरुमा विकसित राजा बन्ने सोच परिवर्तन हुने आशा गर्न सकिँदैन। खुला र समृद्ध नेपाल निर्माणका लागि नागरिकले आफ्नो भूमिका आफैँ खोज्नुपर्छ। २०४६ सालमा प्रजातन्त्र स्थापना भएको नेपाल, २०६२/६३ सालमा राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्न लडेका हामी नेपाली २०७३ सालमा आइपुग्दा थिति अनि कानुनी शासनका लागि लड्नुपर्ने भयो। देशमा अराजकताले गहिरो जरा गाडेको छ। प्रमुख राजनीतिक दलहरु जसलाई हामीले सबैभन्दा बढी विश्वास गर्यौँ, उनीहरु नै वर्तमान अराजकताको मूल कारक बनेर उभिएका छन्। राजनीतिक परिवर्तनका लागि जीवनलाई हत्केलामा राखेर लामो लडाइँ लडेका नेताहरु पनि अहिले माफियाको घेराबन्दीमा छन्। यिनीहरुको आत्मविश्वास अनि नैतिक धरातल निकै कमजोर देखिन्छ। जसले गर्दा हामी आमसर्वसाधारण निराश बनेका छौँ।
हामी सहज स्थितिमा छैनौँ। यो गहिरो नैराश्य चिर्न सकेनौँ भने हामीले हाम्रो पुस्तामात्र होइन, आउने पुस्ताका लागि पनि एउटा अँध्यारो नेपाल छाडेर जानेछौँ। अब एउटा शान्त अनि समृद्ध नेपाल बनाउन जुटेर लड्ने बेला आएको छ। दरिलो कानुनी तथा थितिको शासन शान्ति र समृद्धिको प्रस्थान विन्दु हो। अब पनि राजनीतिक दल र नेताहरुकै भरमा मात्र सबै कुरा छाड्ने हो भने नेपाल सु„ने छैन। राजनीतिक नेताहरुलाई नागरिकले आफ्नो हितअनुकूल काम गर्न बाध्य बनाउन सक्ने आत्मविश्वास हामीमा विकास गर्न आवश्यक भइसकेको छ। सिर्जनात्मक नागरिक दबाबले मात्र लोकतान्त्रिक मूल्य/मान्यता बलिया हुन्छन्। जागरुक व्यक्तिहरुको सक्रियतामा नै जागरुक समाज बन्ने हो। त्यसैले अब नेपालको हरेक भूभागमा जागरुक समाज बनाउने अभियान सुरु गरौँ जसले राजनीतिक दल र नेतृत्वलाई सहयोग गर्न, प्रश्न गर्न अनि जिम्मेवार बनाउन सक्छ।
प्रकाशित: १६ भाद्र २०७३ ०५:०१ बिहीबार