८ वैशाख २०८१ शनिबार
अर्थ

बाग्मती र लालबकैया नदीमा बढ्यो दोहन

रौतहट - विकास निर्माणका नाममा केही व्यवसायीले खोलाको दोहन गरिरहेका छन् । रौतहटको बागमती र लाल बकैया नदीको गिटी र बालुवामाथि केही व्यवसायीको गिद्दे दृष्टि परेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा विकास निर्माणको काम चलिरहेको मौका छोपी केही व्यवसायीले खोलाको अवैध दोहन गरिरहेको भए पनि सम्बन्धित निकाय मौन बस्नुले व्यवसायीको मनोबल झन् बढेको छ।

बागमती नदीमा सर्लाही र रौतहटलाई जोड्ने समनपुर घाटमा निर्माण्को पक्की पुल निर्माणको अवधि समाप्त भइसके पनि निर्माण कार्य अधुरै रहेको छ । आठ महिनाका लागि म्याद थपेर कछुवा गतिमा निर्माण कार्य अगाडि बढाइरहेको निर्माण कम्पनीले पुल निर्माणको नाममा खोलामै स्क्रिन प्लान्ट राखेर गिटी र बालुवाको व्यापार गरिरहेको छ ।

पुल निर्माणका लागि आवश्यक पर्ने गिटी र बालुवा चाल्ने स्क्रिन प्लान्टले ग्रेडिङ र प्रशोधन गरेको गिटी र बालुवा धमाधम बिक्री गरिरहदा पनि कसैको ध्यान जान सकेको छैन । पुल निर्माणको अवधिमा निर्माण व्यवसायीले बारम्बार कानुनविपरित गिटी र बालुवाको व्यवसाय सञ्चालन गर्दै आएको छ ।पुल निर्माण भइरहेको ठाउँमा प्रयोग गरिएको भनिएको स्क्रिन प्लान्टले दिनदहाडै गिटी, बोल्डर र बालुवा बेचिरहेको समनपुरका टंकेश ठाकुरले बताए । गिटी, बोल्डर र बालुवाको दोहनले वातावरणमा गम्भीर असर देखिएको र कानुनको धज्जी उडाउँदा पनि सम्बन्धित निकाय मौन बसेको उनको आरोप छ ।

निर्माण कम्पनी सूर्या एसबिए एलाइट जेभीका साइड इन्जिनियर अजय झाले पुल निर्माणका लागि आवश्यक पर्ने ढुंगा, बोल्डर, गिटी र बालुवाका लागि सम्बन्धित निकायसँग अनुमति लिएर खोलामा स्क्रिन प्लान्ट राखिएको स्वीकार गर्दै प्लान्ट केही स्थानीयलाई ठेक्कामा सञ्चालन गर्न दिइएको बताउँछन् । ठेक्का लिने ठेकेदारले पुल निर्माणका लागि आवश्यक पर्ने बोल्डर, ढुंगा, गिटी र बालुवा दिइरहेको र बाँकी विभिन्न स्थानीय तहको विकास निर्माणका लागि बिक्री गरिरहेको पनि इन्जिनियर झाले स्वीकार गरे।

अवैधरुपमा ढुंगा, गिटी र बालुवा निर्माण कम्पनीले बेचिरहेको विषयमा स्थानीयले विरोध नगरेका होइनन् । स्थानीयले विरोध गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा प्रजिअ गोविन्दप्रसाद रिजाल र सुरक्षा निकायका प्रमुखले स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणको समयमा कम्पनीले स्क्रिन प्लान्ट बन्द गरेको र बिक्री वितरण बन्द गरेको थियो । अनुगमन टोलीले आन्तरिक खपतका लागि अनुमति अनुसार काम गर्न र बाहिर बिक्री गर्न पूर्ण बन्द गर्न निर्देशन दिएको भए पनि अनुगमन टोली फर्केपछि लगत्तै कम्पनीले बिक्री गर्न थालेको थियो ।

त्यस्तै रमौली नाकामा पनि शिवशंकर क्रसर उद्योगले अवैध रुपमा खोला दोहन गरिरहेको छ । रौतहटको गरुडास्थित शिवशंकर क्रसर उद्योगलाई मापदण्डविपरित रहेको भन्दै नवीकरण नै नगरी बन्द गर्न आदेश दिएको भए पनि सञ्चालनमा रहेको छ । लमाहा खोलाको छेउमै, सदरमुकामलाई जोड्ने मुख्य राजमार्गसित जोडिएको र हाइटेन्सन लाइनकै छेउमा तथा वस्ती नजिक सञ्चालनमा रहेको शिवशंकर क्रसर उद्योगले भारतमा पनि गिटी र बालुवा निर्यात गर्दै आएको छ । जिल्ला समन्वय समिति रौतहटको अनुमतिमा रमौली नाकामा एक्जाभेटर लगाएर निर्वाध खोला दोहन गरिरहेको छ । पाँचवटा ट्रिपरमा दैनिक २५ देखि ३० टिपर गिटी र ढुंगा निकालिरहेको भए पनि कुनै पनि निकायले खोजबिन गरेको छैन।

शिवशंकर क्रसर उद्योगका सञ्चालक दयाराम साहले रमौली नाकामा एक्जाभेटर लगाएर गिटी र ढुंगा निकालिरहेको स्वीकार गरेका छन् । देशभरका क्रसर उद्योगको नवीकरण बन्द भएको अवस्थामा आफ्नो क्रसर उद्योगको पनि नवीकरण नभएको स्वीकार्दै सञ्चालक साहले बिक्री वितरण पनि गरिरहेको र आफूले ठेक्का सकार गरेको विभिन्न निर्माण काममा गिटी, ढुंगा र बालुवा उपयोग गरिरहेको बताए ।

प्रकाशित: १० जेष्ठ २०७५ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App