coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बन्यो तालको झार हटाउने वाटर मुभर

स्थानिय सामग्री प्रयोग गरेर बनाइएको वाटर मुभरबाट बिसहजारी ताल सफा गरिँदै ।तस्विरःसविता/नागरिक

चितवन - तालमा हुने मिचाहा प्रजातिका झार सफा गर्ने मेसिन वाटर मुभर निर्माण गरिएको छ । चार इन्जिनियरले तीन महिना लगाएर वाटर मुभर बनाएका हुन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को ६ हजार डलर सहयोगमा उक्त वाटर मुभर निर्माण गरिएको हो।

स्थानीय स्तरमा उपलब्ध सामग्रीबाट मेसिन निर्माण गरिएको कोषका टेक्निसियन गोकर्णजंग थापाले जानकारी दिए । उनका अनुसार मेसिन बनेपछि जलकुम्भी झार हटाउन परीक्षण गरिएको थियो । दुई सय २० सिसिको मोटरसाइकलको इन्जिन, फलामका पाता, चेन, तारजाली, ड्रम लगायतका सामग्रीको प्रयोग गरेर वाटर मुभर बनाइएको हो ।

मेसिन निर्माणमा इन्जिनियरहरू रामराज खनाल, सुवास न्यौपाने, रिमा पन्थी र श्याम चौधरी सहभागी भएका थिए । स्थानीय स्तरमै झार हटाउने मेसिन बनाएर सफल परीक्षण गरिएको थापाले बताए । ‘तालमा जलकुम्भी झार धेरै देखेपछि मेसिन बनाउने अवधारणा आएको थियो,’ थापाले भने, ‘तालको सौन्दर्य नै बिगार्ने झारलाई निकाल्न मेसिन बनाइएको हो ।’ सात सय किलो तौल भएको मेसिन एक लिटर पेट्रोलबाट दुई घण्टासम्म चलाउन सकिन्छ । मेसिनले एक पटकमा एक टनसम्म झार तान्ने क्षमता राख्छ ।वाटर मुभरमा दुईवटा इन्जिन राखिएका छन् । एउटाले मेसिनको चक्का चलाउने र अर्कोले पानीबाट झार तान्ने काम गर्छ । ब्याट्रीबाट सेल्फ स्टार्ट गर्न २० वाटका दुईवटा सोलार प्यानलसमेत वाटर मुभरमा राखिएका छन् ।

मेसिनको सफल परीक्षणपछि विश्व वन्यजन्तु कोषका टेक्निसियन थापाले भने, ‘नेपालीले यहीँका सामग्री प्रयोग गरेर यत्तिको मेसिन बनाएका छौं ।’ दोस्रो चरणमा तालमा हुने प्रदूषण बोटल, प्लास्टिकलगायत झिकेर संकलन गर्ने मेसिन बनाउने योजना रहेको उनले जानकारी दिए । बिसहजारी ताल व्यवस्थापनमा सहभागी वरण्डाभार र मृगकुञ्ज उपभोक्ता समितिलाई मेसिन हस्तान्तरण गरिएको छ।

यसअघि चितवनमा रहेका तालहरूमा झार हटाउने काम मानिसले नै गर्दै आएका थिए । नेपालमा फेवा तालमा बाहिरबाट ल्याएको मेसिनबाट ताल सफा गर्ने गरिएको छ । विदेशबाट खरिद गरेर ल्याउँदा करोडौं मूल्य पर्ने भएकाले स्वदेशमै मेसिन बनाउन सहयोग गरिएको विश्व वन्यजन्तु कोष नेपालका आवासीय प्रतिनिधि डा. घनश्याम गुरुङले बताए ।‘मिचाहा प्रजातिका झारले विस्तारै ताल नै सुक्दै जाने हुन्छ,’ उनले भने, ‘त्यस्ता झार वन्यजन्तुले पनि खाँदैन ।’ मानिसले सफा गर्दा पनि पटक–पटक हटाउन धेरै जनशक्ति लाग्ने भएकोले दिगो रूपमा झार हटाउन सकियोस् भनेर मेसिन निर्माणमा सहयोग गरिएको उनले बताए ।
 

प्रकाशित: १० जेष्ठ २०७५ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App