१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँ शून्य पारेर यार्सा टिप्न पाटनतिर

तस्बिर : डिबी/नागरिक

जुम्ला - पातारासी गाउँपालिकाका हरिबहादुर विक अहिले यार्सा संकलनका लागि पाटनतिर व्यस्त छन । उनले एक महिनाअघि नै घर छाडेका हुन् । स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्सा संकलनमा खटिएको उनी बताउँछन् । यार्सा पाइएको खण्डमा वर्षदिनको खर्च व्यवस्थापन गर्न कुनै कठिनाइ हुँदैन ।

उनले भने, ‘यहाँका अधिकांंश युवा पाटनमा गएर यार्सा संकलन गर्छन् ।’ दुई महिना खटिएर पाटनमा यार्सा टिप्नसके कालापहाड जानुनपर्ने अनुभव उनको छ ।पातारासी गाउँपालिकाको आयआर्जनको मुख्य स्रोत भनेकै यार्सा बनेको छ । यहाँका स्थानीयले वर्षदिनका लागि आर्थिक जोहो यार्साबाटै गर्दै आएका छन् । त्यसैले यसपटक पनि सिजन सुरु भएपछि उनीहरु यार्सा पाइने उच्च हिमाली पाटनहरुमा पुगेका छन् ।

यिनमा युवामात्र नभएर बालबालिका, किशोरकिशोरी, महिला पनि छन् । पातारासी, गुठीचौर, तातोपानी, सिंजा, कनकासुन्दरी, तिला र चन्दननाथ नगरपालिकाबाट गाउँ नै शून्य बनाई १२ वर्षदेखि माथि ५० वर्षभन्दा तलका सबै पाटनतिर गएका छन् । गाउँमा बिरामीको रेखदेख गर्ने मान्छे भेट्न पनि मुस्किल छ । मर्दापर्दा मलामी जाने मान्छेको पनि अभाव देखिएको बुढापाका बताउँछन् । दुई महिनामै वर्षभरि पुग्ने आम्दानी हुने मोहले अधिंकाश युवकयुवतीले वृद्ध आमाबाबु पनि छाडेर पाटनतिर लागेका छन् । विद्यार्थी विद्यालय छाडेर पाटनतिर उक्लिएका छन् । जेठ १ गतेबाट डोल्पा र मुगुमा यार्सा संकलन कार्य सुरु भएको हो ।

जुम्लाका झन्डै ४२ हजार युवामध्ये झन्डै ८० प्रतिशत यार्सा खोज्न पाटनतिर गएको अनुमान गरिएको छ । यो सिजनमा ठूलो घरपरिवार हुनेले बढी यार्सा संकलन गर्ने पातारासीका ५८ वर्षीय चन्द्रविर कामी सुनाउँछन् । ‘यार्सा टिप्न जानु कसैलाई रहर त कसैलाई बाध्यता छ’, उनले भने, ‘गरिबको रोजीरोटीकै लागि पाटन गन्तव्य बन्छ ।’ पातारासीकै गोपाल कामी पनि परिवारको खर्च जोहो गर्नकै लागि यार्सा टिप्न मुगुको पाटन पुगेका छन् । भर्खर १३ वर्ष पुगेका उनलाई यार्सा टिप्न जानु बाध्यता हो । पारिवारिक आर्थिक अवस्था निकै कमजोर छ । पढ्न पाएका छैनन् । बुवाआमा वृद्ध अवस्थाका छन्, उनीहरुको पालनपोषण व्यवस्था मिलाउन पनि पाटनतिर उक्लेको उनले बताए । ‘गाउँमा रोजगारीको अवसर छैन, ज्यानकै जोखिम मोलेर भए पनि नातेदारसँग लेकतिर लागेको छु’, उनले भने ।
सोही गाउँका सूर्य विकको पनि पारिवारिक अवस्था निकै कमजोर छ ।

उनलाई पनि प्रत्येक वर्ष पाटनमा नगई हुँदैन । ‘परिवार ठूलो छ, आम्दानी कुनै स्रोत छैन । नजाऊँ, ऋण थुप्रिएको छ । घरमा अर्को भरपर्दो मान्छे छैन’, उनले भने, ‘पाटनबाट नफर्कुन्जेल परिवारको ज्यानमा केही तलमाथि भए पश्चात्ताप गर्नेबाहेक अरु सबै भगवान्कै भरोसा भनी जानुपर्छ ।’ सिजनमा यार्सा टिप्न नगए चाडपर्वमा नुनतुलका लागि स्रोत जुटाउन समेत गाह्रो हुने स्थानीय कन्न कामीले बताए । स्थानीय सरकारले रोजगार प्रवद्र्धन हुने कार्यक्रम नल्याउँदा पनि आफूहरु पाटन जान बाध्य भएको यार्सा टिप्न लेकतिर लागेका जुम्लावासीको भनाइ छ ।

पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले भने, ‘पाटनमा जान नै रोक्न त सकिँदैन तर युवा उद्यमशीलताका विभिन्न कार्यक्रम अघि सारेर रोजगारी सिर्जना गर्छौं ।’ आम्दानीका लागि यार्सा टिप्ने समय कुर्नुपर्ने अवस्थाको अन्त्य गरिने उनले बताए । यार्सा टिप्न जानेमा पातारासी र गुठीचौर गाउँपालिकाका बढी छन् ।
 

 

प्रकाशित: १० जेष्ठ २०७५ ०१:५५ बिहीबार

गाउँ शून्य पारेर यार्सा टिप्न पाटनतिर