७ वैशाख २०८१ शुक्रबार
समाज

नुवाकोटमा स्काउटको महाकुम्भ, प्रधानमन्त्रीले उद्घाटन गर्ने

ककनी (नुवाकोट)– घाँटीमा स्काफ कोही स्वागतद्वार बनाउदै थिए। कोही बाँस चिरिरहेका देखिन्थे। कोही सरसफाई गरिरहेका थिए भने कोही रंग लगाइरहेका देखिन्थे। कोहीचाँही विभिन्न भौतिक संरचना बनाउन व्यस्त देखिन्थे। ती संरचना बनाउने तथा काम गर्नेहरुलाई शिवराम अर्याल निर्देशन दिइरहेको देखिन्थे।

यो नुवाकोटको ककनीस्थित स्काउट अन्तर्राष्ट्रिय तालिम केन्द्रमा देखिएको दृश्य हो। यहाँ महिना दिन अगाडिदेखि यसैगरी विभिन्न संरचना बनाउने काम हुँदै आएको छ। यतिबेला भने संरचना बनाउने काम अन्तिम चरणमा पुगेको छ। यो तयारी नेपाल स्काउटले जेठ १६ देखि २१ ग्तेसम्म हुने ज्याम्बोरी अर्थात स्काउटको महाकुम्भको लागि गरिएको हो।

स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तलाई व्यवहारमा लागू गर्दै शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनामार्फत राष्ट्रको लागि सबल, इमान्दार, अनुशासित, आज्ञाकारी एवं क्रियाशील नागरिकहरु निर्माण गर्ने उद्देश्यले ज्याम्बोरी स्काउटले तालिम केन्द्र ककनीमा गर्न लागेको हो। 

यसको लागि तालिम भौतिक संरचना बनाउने काम अन्तिम चरणमा पुगेका तालिम प्रमुख शिवराम अर्यालले जानकारी दिए। 
नेपाल स्काउटको तर्फबाट गर्न लागेको यो ज्याम्बोरी तेस्रो हो। वि.सं. २००९ सालमा स्थापना भएको स्काउटले पहिलो पटक २०४३ सालमा काठमाडौंस्थित कीर्तिपुर पहिलो ज्याम्बोरी सम्पन्न गरेको थियो। त्यसपछि २०६९ मा चितवनको टिकौली दोस्रो ज्याम्बोरी सम्पन्न गरेको तेस्रो ज्याम्बोरी नेपाल स्काउटका प्रचारप्रसार संयोजक राजिब खत्रीले जानकारी दिए। विश्व स्काउटको मान्यता अनुरुप सदस्य राष्ट्रले प्रत्येक ४ वर्षमा ज्याम्बोरी गर्नपर्ने भएपनि विविधि कारणले गर्दा नियमति रुपमा गर्न सकेको खत्रीले बताए। 

तेस्रो ज्याम्बोरीको उद्घाटन नेपाल स्काउटका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने नेपाल स्काउट, तदर्थ समितिका संयोजक चन्दन कौशिकले जानकारी दिए। उनका अनुसार ज्याम्बोरीमा १० भन्दा बढी देश र नेपालबाट ५० भन्दा बढी जिल्लाबाट ५ हजार भन्दा बढी स्काउटको सहभागिता रहने अनुमान गरिएको छ। ज्याम्बोरीको लागि ३ करोड खर्च हुने अनुमान गरिएको कोशिकले जानकारी दिए। ‘अनुमान गरिएको तीन करोड मध्ये २ करोड नेपाल सरकारले व्यवस्था गरिदिएको छ,’ उनले भने, ‘बाँकी रकम भने नेपाल स्काउटको आन्तरिक स्रोतबाट जुटाएर ज्याम्बोरी सम्पन्न गरिनेछ।’

ज्याम्बोरी विश्वव्यापी अनौपचारिक शैक्षिक, साहसिक, बौद्धिक कार्यक्रमको माध्यमबाट स्काउटरलाई सीप, गुणको विकासको साथै भातृत्व र भागिनित्व मैत्रीय भावनात्मक सम्बन्धको विकास गराउन खुला आकाशमुनी स्काउटको विशाल सहभागिता हो।

ज्याम्बोरीमा ३७ प्रकारका विभिन्न साहसिक गतिविधि हुनेछन्। ती गतिविधि स्काउटको चाहना अनुसार सामेल हुन पाउनेछन्।

यस्तो सहभागितामा १० भन्दा बढी देशबाट स्काउटहरु आउने तय भएको छ। हाल देशको ६५ जिल्लामा स्काउट सञ्चालन छ। सबै जिल्लाबाट स्काउटको सहभागिता रहनेछ। ज्याम्बोरीका लागि २० वटा उपसमिति गठन गरिएको छ। सोही अनुसार उपसमितिले ज्याम्बोरीको तयारी गरिरहेको छ। ज्याम्बोरीमा आउने स्काउटलाई खाने बस्ने व्यवस्था स्काउटले नै गर्नेछ। बस्नको लागि १२ सय भन्दा बढी टेन्ट टाँग्ने तयारी भएको अर्यालले बताए। तालिम केन्द्र ९ सय रोपनी क्षेत्रमा फैलिएको छ। टेन्ट राख्दा सोही अनुसार फरक फरक क्षेत्रलाई छुट्याएर राखिने उनले जनाए।

प्रकाशित: ९ जेष्ठ २०७५ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App